७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘इमान’ मा अडेको लालबाबु राजनीति

अमर खड्का/चुमन बस्नेत
विराटनगर – एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डित चुनावमा प्रतिस्पर्धा गर्दा आफूसँग पैसा नभएको भन्दै कार्यकर्तालाई आफै व्यवस्थापन गर्न आग्रह गर्थे । तिनै पण्डित मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै विजयी भए । उनको सरल र सक्रिय अनि निष्ठावान व्यक्तित्व राजनीति गर्नेका लागि प्रेरक र उदाहरणीय मात्रै छैन, त्यसैका कारण उनले निर्वाचन जिते।

‘चुनावमा खट्दा मसँग पैसा छैन, मिलाएर खर्च गर्नुहोस् भन्नुहुन्थ्यो, जसोतसो गरेर कार्यकर्ताबाट खर्च व्यवस्थापन गथ्र्यौं,’ एमाले कार्यकर्ता बुढीगंगा गाउँपालिका वडा नं. ४ का महमद अलाउद्दिनले भने, ‘चुनावमा खर्च गर्नुभएन तर जनतासँग पूरै घुलमिल भएकै र इमानको राजनीतिले गर्दा उहाँ जित हात पार्न सफल हुनुभो ।’ अलाउद्दिनले एकदिन घरदैलो कार्यक्रम गर्दा दुई हजार रुपैयाँ खर्च गरेर कार्यकर्तालाई चियानास्ता खुवाएको सुनाए । ‘हुन त म पनि पैसा हुने व्यक्तिमा पर्दिनँ, उहाँ (लालबाबु) ले पैसा नभएको गुनासो गर्दा हामी सबैलाई आफूसँग भएको रकम खर्च गर्न मन लाग्थ्यो,’ उनले भने । अलाउद्दिनजस्ता थुप्रै कार्यकर्ताले लालबाबुको निम्ति खर्च गरे। 

कार्यकर्ताले खर्च गरिदिएको भरमा मात्र लालबाबुले जित निकालेका होइनन् । उनी जनतासँग सघन ढंगले घुलमिल हुने र भावनात्मक सम्बन्ध राख्थे । ‘जनताले लालबाबुको सालिन र भद्रताको सम्मान गरे,’ अलाउद्दिनले भने, ‘भाषण गर्दा पनि कहिल्यै कसैप्रति उत्तेजित नभईकन चाहिँदा कुरा राख्नु पनि जितको कारण हो ।’ लालबाबु पदमा हुँदा होस् वा नहुँदा कहिल्यै फुर्तीफार्ती देखाएको याद नभएको कार्यकर्ता बताउने गर्छन् । कार्यकर्ताले बढी नै भन्दा पनि उनले धैर्य गरेर सुन्छन् र अन्तिममा जवाफ दिने गर्छन्। 

पूर्वसामान्य प्रशासनमन्त्री पण्डित कार्यकर्तासँग भोट माग्न जाँदा भएनभएका कुरा नगरीकन सीधा कुरा प्रस्ट राख्थे । ‘चुनावमा गठबन्धनको टिम स्वतः परिचालन भयो, गर्नैपर्ने खर्चबाहेक पार्टीका कार्यकर्ता आफैंले खर्च बेहोरे,’ क्षेत्र नं ६ मै घर भएका पिताकुमार श्रेष्ठले भने, ‘चुनावमा कुनै तामझाम भएन ।’ खर्च कम गरेकैले बेलाबेलामा कार्यकर्ता भने झोक्किने गर्थे । ‘पैसा र पहुँचको भरमा हो भने त चुनाव हार्ने अवस्था थियो,’ श्रेष्ठले भने, ‘नकारात्मक कुरा गर्ने मतदाता कोही नहुँदा जित हासिल भयो ।’ लालबाबुले कांग्रेस नेता शेखर कोइरालालाई हराएका हुन् । लालबाबुले ३३ हजार ९ सय ४१ र शेखरले ३३ हजार २ सय ६६ मत ल्याए । आवश्यक काममा पैसा खर्च गरेको बताउँदै लालबाबुले भने, ‘जति नै कम गर्दा पनि चुनावमा २२–२३ लाख भने खर्च भो ।’ निर्वाचन आयोगले २५ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ। 

२०१५ मंसिर १९ मा सर्लाहीमा जन्मिएका लालबाबु प्राथमिक तहको शिक्षा गाउँकै स्कुलमा सकेर जागिरे दाजुसँगै पाल्पा पुगे ।  उनले एसएलसी उत्तीर्ण पनि पाल्पाबाटै गरे । उनी २०३५ सालमा बालाजु औद्योगिक क्षेत्रको यन्त्रशालामा प्राविधिक जागिर खाँदाखाँदै मजदुर संगठनको माध्यमबाट तत्कालीन मालेको सम्पर्कमा पुगे । यन्त्रशालामा पार्टी संगठनको काम गर्ने क्रममा पटकपटक पक्राउ परेपछि भूमिगत राजनीतिका लागि सुरक्षित स्थान रोजेर २०३९ सालमा मोरङ आएका उनी अहिलेसम्म सक्रिय राजनीतिमा छन्। 

राजनीतिक दलका नेता त्यसमा पनि मधेसी नेताबीच दल बदल्ने होडबाजी चल्दा पनि लालबाबु एमालेमै दृढ भएर लागिपरे । ‘पार्टीमा निरन्तर क्रियाशीलता र अटल भएर लाग्दाको परिणमले नै लालबाबुलाईं आजको अवस्थामा ल्याइपु¥यायो,’ क्षेत्र नं ६ कै एमालेका अगुवा एकराज भट्टराईले भने । उनका अनुसार सामान्य भेषभूषा, चाहिँदो कुरा बोल्ने र जनताको सुखदुःखमा साथ दिएकैले गर्दा लालबाबु सबैका लागि प्रेरणादायी नेता भएका हुन् । लालबाबु २०४८ र २०५६ सालको निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका उनी डिभी र ग्रिनकार्डका विषयमा लिएको अडानका कारण राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेका हुन् ।

 

प्रकाशित: २५ मंसिर २०७४ ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App