८ वैशाख २०८१ शनिबार
राजनीति

रुपन्देही–१ मा एमाले विजयी

बुटवल—प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै क्षेत्रको अन्तिम परिणाम आज बेलुकासम्म सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार यो क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

यस क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा ३४ हजार ७५२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी संयुक्त लोकतान्त्रिकबाट उम्मेदवार बनेका नेकाका जिल्ला सभापति अब्दुल रज्जाक गद्दी २६ हजार ८८५ मत ल्याए।

यसअघि आज बिहान यस निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेशसभातर्फ प्रदेश १ मा ४४ हजार २३४ मत खसेकामा संयुक्त वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का नेता डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने (माधव)ले १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित भएका थिए। यसरी प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेपछि रुपन्देहीमा अब समानुपातिकतर्फको मतगणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकतर्फको परिणाम पनि छिट्टै नै सार्वजनिक हुने कार्यालयले जनाएको छ।

 

प्रकाशित: २५ मंसिर २०७४ ००:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App