६ वैशाख २०८१ बिहीबार
राजनीति

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

चितवन- प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार रहेका एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका हुन् । प्रतिनिधि सभाको क्षेत्र नं. १ र ३ मा मत गणना जारी नै छ । सोमबार अबेलासम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

                निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार पोखरेलले ४४ हजार ६७० मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी रहेका नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत ल्याएका छन् । पोखरेलले आफ्ना प्रतिद्वन्दीलाई १७ हजार ४५६ मतको अन्तरले पराजित गरेका छन् । 

                त्यस्तै प्रदेश सभाका छमध्ये चारवटा क्षेत्रको अन्तिम परिणाम आएको छ । सवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका छन् । गणना भइरहेको बाँकी दुई क्षेत्रमा पनि बाम गठबन्धनकै उम्मेदवारहरु अगाडी छन् ।

                चितवन क्षेत्र नं. १ को प्रदेश सभा १ मा बाम गठबन्धनबाट उम्मेदवार रहेको दावा दोर्जे लामा विजयी भए । लामाले नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले १५ हजार ९९४ मत ल्याउँदा विजयी दावा दोर्जे लामाले २३ हजार २३ मत ल्याएका थिए । क्षेत्र नं. १ को प्रदेश सभा २ मा पनि एमालेका उम्मेदवार कृष्ण खनाल विजयी भए।

                खनालले काँग्रेसका उम्मेदवार उत्तम आचार्यलाई पराजित गरेका हुन् । खनालको २७ हजार २३२ र आचार्यको १८ हजार ५११ मत आएको थियो । चितवन क्षेत्र नं. २ को प्रदेशसभा एकमा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका घनश्याम दाहाल अबिनासले काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठ चितवन काँग्रेसका सभापतिसमेत हुन् ।

                दाहालले २० हजार ३८१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रहेको काँग्रेसका श्रेष्ठले १५ हजार ६६३ मत ल्याएका छन्। त्यस्तै क्षेत्र नं. २ को प्रदेश सभा २ मा एमालेका विजयी सुवेदीले नेपाली काँग्रेसका प्रकास अधिकारीलाई पराजित गरे । सुवेदीले २१ हजार ५७२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी अधिकारीको १२ हजार ६६० मत आएको थियो ।

               

 

               

प्रकाशित: २४ मंसिर २०७४ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App