८ वैशाख २०८१ शनिबार
अन्य

हवाई भाडा बढाउने आन्तरिक वायुसेवा कम्पनीको निर्णय

काठमाडौं – निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर मंगलबार (मंसिर २६ गते) बाट लागू हुने छ।

नेपाल आयल निगमले गत शुक्रबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ८७ रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीहरूले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्। 

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो। 

‘सरकारले तोकिदिएको अधिकतम भाडा ननाघ्ने गरी भाडा बढाउने निर्णय भएको छ,’ संघको सदस्य वायुसेवा सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले आइतबार नागरिकसँग भने, ‘बढेको भाडा दर पर्सी मंगलबारबाट कार्यान्वयन हुने छ । सोमबारसम्मलाई पुरानै भाडा दरमा उडान गर्न पाइन्छ।’

बढेको भाडा दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार ५० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ३ सय २० रुपैयाँ तिर्नुपर्ने छ । जसअनुसार सिमराका लागि ४५ रुपैयाँ र धनगढीका लागि २ सय २० रुपैयाँ बढी लाग्ने छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । सबै भाडा ‘नर्मल’ हुन्।

प्रकाशित: २४ मंसिर २०७४ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App