८ वैशाख २०८१ शनिबार
राजनीति

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

उदयपुर-उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि नै काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का र एमाले वैकल्पिक केन्द्रीय सदस्य मञ्जु चौधरीबीच थोरै मतान्तरले अघिपछि हुँदै आएका छन्। उनीहरु दुवैले निवर्तमान सांसद तथा पूर्व सहरी विकास मन्त्रालय सम्हालिसकेका हुन्।

विहानको ९ः०० बजेको पछिल्लो मत परिणाम अनुसार डा. खड्काको पक्षमा १६ हजार १ सय ५ मत पुगेको छ भने चौधरीको पक्षमा १५ हजार ९ सय ५८ परेको छ। अघिल्लो दिउसोदेखि अघिपछि हुँदै आएका उनीहरुबीचको मतान्तर पछिल्लो परिणाममा १ सय ४७ को फरक देखिएको छ। दुवै सहरी विकास मन्त्री भइसकेका र पूर्व सांसद भएका कारण उदयपुर १ लाई दुवैले प्रतिष्ठाको विषय बनाएका छन्।

साविक १ नम्बरमा ०६४ र ०७० को संविधानसभा चुनावमा फराकिलो मतान्तरले जितेर सहरी विकास मन्त्री भएका खड्काले यो चुनावलाई ‘ह्याट्रिक’ को अवसरमा बदल्ने दाउमा छन्। साविक २ नम्बर क्षेत्रबाट ०७० को दोस्रो संविधानसभा चुनाव जितेर सहरी विकास राज्यमन्त्री भएकी चौधरी पनि कुनै हालतमा जित्ने ध्याउन्नमा छिन्।

७४ हजार ५ सय ३० मत खसेको यो क्षेत्रमा अहिलेसम्म ३४ हजार २ सय ४५ मत गणना भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४० हजार २ सय ८५ मत गणना हुँन बाँकी रहँदासम्म झिनो मतान्तरले तलमाथि हुदै आएका दुवैपक्ष कसले बाजी मार्ला भन्ने कुराको टुंगोमा पुग्न भने आईतबार रातिसम्म कुर्नुपर्ने हुनसक्छ।

सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका समेटेर बनेको यो क्षेत्रमा स्थानीय तहमा खसेको मतका आधारमा गठबन्धनको १६ हजारभन्दा बढी मत हुनुपर्ने आँकडा छ । पूर्वी भेगको बेलका नगरपालिकाका साविक तपेश्वरी र ठोक्शीलामा राम्रो प्रभाव पारेका खड्काको पकड चौदण्डीगढी नगरपालिकाका चौदण्डी, सुन्दरपुर, हडिया र बेलटार बसाहामा पनि रहेको छ।

त्रियुगा नगरपालिका ६ मा स्थायी घर भएका खड्काले सो वडा र नगरपालिकाका अन्य वडाबाट जातीय मतको पनि आसा लिएका छन् । स्थानीय तहको परिणामबाट हौसिएकी गठबन्धन उम्मेदवार चौधरी सदरमुकाम त्रियुगामा राम्रो प्रभाव राख्छिन् । चौधरीलाई बेलका नगरपालिका र बेलका नपाका एमाले बाहुल वडाहरु मैनामैनी, बबला, बसाहाको पूर्ण आसा छ । खड्कालाई जस्तै चौधरीले पनि थारु बाहुल्य वडाहरु सुन्दरपुर, तपेश्वरी र हडियाको मत आफुलाई आएको अपेक्षा लिएकी छिन् । प्रदेशसभातर्फ भने कांग्रेस र गठबन्धनले १÷१ स्थानमा अग्रता कायम राखेका छन्।

पछिल्लो परिणाम अनुसार १ (१) मा कांग्रेसका विदुर बस्नेतले ११ हजार १ सय १४ ल्याएका छन् भने एमालेका विमल कार्कीले १२ हजार ४ सय २७ पाएका छन् । १ (२) मा भने कांग्रेसका हिमाल कार्की माओबादी केन्द्रका रामबहादुर थापामगरभन्दा १ हजार १ सय ७३ मतले अगाडि छन् । कार्कीको मत १२ हजार २ सय २३ पुगेको छ भने मगरको ११ हजार ६० रहेको छ ।

प्रकाशित: २४ मंसिर २०७४ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App