८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय, ९० अर्ब लगानी

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो ।

सरकारले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजना बनाएपछि पोल्ट्री व्यवसायमा एक वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँ लगानी थपिएको छ । यो क्षेत्रमा लगानी आर्थिक वर्ष ०७१/७२ सम्म ८० अर्ब रुपैयाँ रहेकोमा ०७२/७३ मा बढेर ९० अर्ब पुगेको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । ‘एक वर्षमै करिब १० अर्ब रुपैयाँ लगानी थपियो,’ मञ्चका अध्यक्ष शंकर कँडेलले भने, ‘कुखुरापालन अहिले उद्योगको रुपमा परिणत भएको छ ।’

  • मासु र अन्डा उपभोग बढ्दै गएपछि लगानीको ओइरिँदै
  • देशभर २१ हजार ९ सय ५६ व्यावसायिक फार्म
  • वार्षिक ३४ अर्ब रुपैयाँको मासु, अण्डा र चल्ला बिक्री
  • ह्याचरीमा नयाँ प्रविधि– अण्डा कोरल्ने अत्याधुनिक मेसिन

पछिल्लो पटक स्याङ्जामा खुमा अर्यालको नेतृत्वमा करिब १५ करोड रुपैयाँको लगानीमा लेयर्स कुखुरा फार्म सञ्चालनमा आएको छ । स्याङ्जासहित चितवन, नवलपरासी, झापा, काठाडमौं, धादिङ, कास्कीलगायत जिल्लामा करोडौं लगानीमा कुखुरा फार्म सञ्चालन भइरहेका छन् ।

कुखुरापालन अन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो । चितवनका गुणचन्द्र विष्टले करिब तीन अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक प्रविधिसहितको ह्याचरी सञ्चालनमा ल्याएका छन् । उनले दक्षिण एसियामै पहिलो ‘अण्डा कोरल्ने अत्याधुनिक मेसिन’ भिœयाएको दाबी गरे । कुखुरी ओथारोमा बसेर चल्ला कोरल्ने गरेकोमा अहिले ‘इन्भायरोमेन्ट कन्ट्रोल सिस्टम’ को प्रयोग गरी अण्डाबाट लाखौं चल्ला निकालिन्छ । ‘२१ दिनमा चल्ला तयार हुन्छ,’ विष्टले भने, ‘हाम्रो उद्योगले एक चक्र पूरा गरेपछि सातामा दुई लाख चल्ला निकाल्ने क्षमता छ ।’  कुखुरापालन व्यवसायले नेपालमा फड्को मारेको उनी बताउँछन् ।

कुखरा व्यवसायमा पछिल्लो पटक व्यावसायिक घरानाको लगानी भित्रिएको छ । तथ्यांकअनुसार देशभर २१ हजार ९ सय ५६ फार्म व्यावसायिक रूपमा सञ्चालित छन् । यी फार्ममध्ये ९३ दशमलव २९ प्रतिशत ब्रोइलर उत्पादक, ६ दशमलव ९ प्रतिशत लेयर्स उत्पादक र जिरो दशमलव ५८ प्रतिशत ह्यारी (चल्ला उत्पादक) छन् ।

केही वर्षयता कुखुराको मासु र अन्डाको उपभोग ह्वात्तै बढेको छ । यसबाट व्यावसायिक प्रयोजनले कुखुरा पाल्ने क्रम तीव्र भएको हो । एक वर्षमा देशभर ६ करोड ८ लाख २६ हजार ८ सय ८० वटा कुखुरा व्यावसायिक प्रयोजनले उत्पादन हुन्छन् । नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण प्रतिवेदनअनुसार किसानले एक वर्षमा कुखुरा मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ कमाएका छन् ।  कुखुराबाट २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार, अन्डाबाट ९ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्लाबाट ३ अर्ब ६० करोड ७६ लाख ७४ हजार, सुली मलबाट ४५ करोड ३७ लाख २२ हजार रुपैयाँ आम्दानी भएको प्रतिवेदनले देखाएको छ ।

किसानले ब्रोइलर ५ करोड २६ लाख ६६ हजार २९ वटा, लेयर्स ६९ लाख  ८ हजार ५ सय ९५ र अन्य जातका १२ लाख ५२ हजार २ सय ५५ वटा कुखुरा पालेका छन् । तथ्यांकअनुसार सबै फार्मबाट गरी एक वर्षमा १ लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन हुन्छ । मुलुकभरका १ सय २८ ह्याचरीले वर्षमा ८ करोड ३३ लाख ६२ हजार चल्ला उत्पादन गरेका छन् ।

पौष्टिक तत्वका रुपमा कुखुराको अण्डा  र मासु प्रयोग बढेसँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले  फड्को मार्दै गएको व्यवसायी बताउँछन् । नेपालमा दैनिक करिब २३ लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको अण्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीले बताए । ‘एउटा कुखुरीले वर्षमा करिब तीन सय अण्डा निकाल्छ,’ उनले भने, ‘सरकारले व्यवस्थित नीति बनाए यो व्यवसायको भविष्य राम्रो छ ।’ 

ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यसले व्यापकता पाएको व्यवसायी बताउँछन् । सरकारले समेत यो व्यवसायलाई प्राथमिकतामा राखेर अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । ‘नेपालमा अझै ४५ करोड अण्डा अपुग छ,’ पशुपक्षी मन्त्रालयका प्रवक्ता श्याम प्रसाद पौड्यालले भने, ‘आगामी वर्ष अण्डामा आत्मनिर्भर बन्ने योजना सरकारले अघि सारेको छ ।’ किसान मागेजति चल्ला पाएपछि कुखुरापालनमाा आकर्षित भएका हुन् ।

सरकारले एक वर्षभित्र अण्डा र दुई वर्षभित्र मासुमा आत्मनिर्भर बन्ने घोषणा बजेटमार्फत गरेको छ । सरकारले ‘ग्रामीण कुखुरापालन कार्यक्रम’ सञ्चालन गर्न चल्ला उत्पादन तथा ह्याचरी र खोर निर्माण गर्न अनुदान उपलब्ध गराउने जनाएको छ ।

 

प्रकाशित: २२ श्रावण २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App