coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

औंसा प्रकोपले आँप किसान घाटामा

मात्तिमको तावा दोभानमा ताछेर बिक्रीका लागि राखिएको स्थानीय आँप । आँपमा किरा लागेको प्रष्ट देख्न सकिन्छ । तस्बिरः दमन रार्इ

खोटाङ, साउन ८ (नागरिक)– खोटाङमा आँप खेती गर्दै आएका किसान औंसा र गबारो किराको प्रकोपका कारण मारमा परेका छन् । आँपमा औंसा, गबारोलगायत किरा प्रकोपका कारण चार÷पाँच वर्षयता जिल्लाका किसान मारमा परेका हुन् ।

किराको प्रकोपका कारण आँपको फल पाक्नुअगावै बिग्रने गरेका कारण चार÷पाँच वर्ष यता हाट बजारमा स्थानीय प्रजातिका आँप आउन छाडेका छन् । चिचिला लागेदेखि आक्रमण गर्ने किराका कारण आँपका दाना झर्ने वा कुहिएर बिग्रिने गरेको हौंचुरका कृषक डिल्लीसेर राईले बताए । जिल्लामा उत्पादित आँपका दाना बाहिरबाट हेर्दा राम्रो र खाउँखाउँ लाग्दो देखिन्छ तर काटेर भित्र हेर्दा औंसा र कालो गबारोले खाएको हुन्छ ।


जिल्लामा उत्पादित आँपका दाना बाहिरबाट हेर्दा राम्रो र खाउँखाउँ लाग्दो देखिन्छ तर काटेर भित्र हेर्दा औंसा र कालो गबारोले खाएको हुन्छ, फुलेको बेला उत्साहित बनाउने आँपले पाक्नेबेला निरास बनाउँछ।

चार÷पाँच वर्षअघिसम्म स्थानीय हाटबजार र पसलमा गाउँमा उत्पादित विभिन्न प्रजातिका आँप किन्न र खान पाइन्थ्यो । तर पछिल्लो समयमा किरा लाग्ने समस्याकै कारण बजारमा स्थानीय आँप कमै पाइन्छ । किसानको आम्दानीको राम्रो स्रोत बनेको जिल्लामा उत्पादन हुने आँप किराकै कारण बजारमा आउन छाडेपछि दिक्तेल, हलेसीलगायतका फलफुल पसलमा तराईबाट ल्याइएका आँप किन्न पाइन्छ । गाउँमा उत्पादन हुने आँप किराले नष्ट बनाइदिएपछि जिल्लाबासी तराईबाट भित्रिएका महंगो आँप खान बाध्य छन् । तराईबाट ल्याइएका आँपको मूल्य यहाँ प्रतिकिलो एक सय ३० रुपैयाँभन्दा बढी पर्छ । आँपको माग बढी भए पनि जिल्लामा उत्पादन हुने आँपले धान्न सकेको छैन । किराकै कारण आँपको फल बिग्रिँदा लाखौं रुपैयाँ घाटा भइरहेको किसान बताउँछन् । आँपमा देखिएको समस्याका विषयमा कृषि विकास कार्यालयले चासो नदिएको किसानको गुनासो छ ।

कृषि विकास कार्यालय, खोटाङका अनुसार जिल्लाका कुभिन्डे, डुम्रेधारापानी, विजयखर्क, याम्खा, महादेवस्थान, सल्ले, च्यास्मीटार, दुर्छिम, मंगलटार, बराहपोखरीलगायत क्षेत्रमा स्थानीय जातको आँप खेती हुँदै आएको छ । खोटाङमा दुई सय ६५ हेक्टरमा आँप खेती हुँदै आएको कृषिले जनाएको छ । आँपको पकेट क्षेत्र मानिएको जिल्लाका बेसी क्षेत्रका किसानका बगैंचामा आँपका ठूलाठूला बोटहरू छन्, तर खानयोग्य फल उत्पादन हुन छाडेको छ । ‘बाहिरबाट हेर्दा राम्रो देखिन्छ, काटेर भित्र हे¥यो किरैकिरा,’ किसानले राईले भने, ‘फुलेको बेला उत्साहित बनाउने आँपले पाक्नेबेला निरास बनाउँछ ।’ आँपमा किराको प्रकोप बढे पनि किसान भने यसको खेतीतर्फ उत्तिकै उत्साहित छन् ।

आँपमा किरा नियन्त्रणका लागि कृषि विकास कार्यालयले विशेष योजना नै बनाउनुपर्ने जिष्ट कृषि फर्म बाहुनीडाँडाका सञ्चालक फौदसिं कार्की बताउँछन् । जिल्लाका अधिकांश किसानको साझा समस्या बनेको आँपमा किराको प्रकोप निराकरणका लागि सबै ठाउँमा एकैसाथ अभियान सञ्चालन गर्नुपर्ने कार्कीको सुझाव छ । ‘किरा नियन्त्रण अभियान सबै ठाउँमा एकै पटक सञ्चालन गर्नुपर्छ,’ कार्कीले भने, ‘नत्र एक ठाउँको रोग अर्को ठाउँमा सर्ने सम्भावना उत्तिकै रहन्छ ।’

कृषि विकास कार्यालयका प्राविधिक सहायक कौशल यादव आँपमा किरा लाग्नुभन्दा पहिले सावधानी अपनाउन सके रोग नियन्त्रण गर्न सकिने बताउँछन् । यसका लागि बेलाबेलामा बगैंचा सरसफाइ, समयमा मल र पानी, रोगी हाँगा काटछाँट, झरेको फल खाल्डोमा पुर्नुपर्ने यादवको सुझाव छ । ‘आँपको बोटमा रोगर नामक औषधि स्प्रे गर्न सकिन्छ, फेरोमेन ट्रयाप राख्न सकिन्छ,’ यादवले भने, ‘तर त्योभन्दा पहिले बगैंचा व्यवस्थापन र सुरक्षा नै महत्वपूर्ण कुरा हो ।’ फेरोमेन ट्रयापले आँपमा लाग्ने औंसा किराको भालेलाई मार्छ ।
 

प्रकाशित: २२ श्रावण २०७३ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App