८ वैशाख २०८१ शनिबार
अन्य

पद्माका पकवान र पुरुष

शेखर खरेल

एक दशकअघि ट्राभल एन्ड लिभिङ (हाल टीएलसी) टीभी च्यानलका खनपिन संस्कृतिका दुई नियमित कार्यक्रम, पद्मा लक्ष्मीको 'प्लानेट फुड' र वीर सांघवीको 'अ म्याटर अफ टेस्ट' मैले नछुटाउने टीभी मेनु हुन्थे। मोडल अनि विश्वप्रसिद्ध कुकरी सो 'टप सेफ' की होस्ट पद्मा 'प्लानेट फुड'मार्फत् दर्शकलाई दक्षिण भारतीय खानपान संस्कृतितिर पुर्‍याउँथिन्। उता 'हिन्दुस्तान टाइम्स' दैनिकका तत्कालीन एडिटोरियल डाइरेक्टर र टेलिभिजनका खरो अन्तर्वार्ताकार वीर 'अ म्याटर अफ टेस्ट'मार्फत् भारतका परम्परागत खाना संस्कृति, प्रसिद्ध होटल र सेफहरूसँग दर्शकलाई रु–ब–रु गराउँथे। एउटा संयोगको रूपमा सन् २००७ तिर वीर सांघवी बिखलबन्दमा परेको नेपाली राजसंस्थाबारे खोजमूलक आलेख प्रकाशको उद्देश्यले काठमाडौँ आउदा उनको अभियानमा सघाउने सौभाग्य मलाई जुरेको थियो। 'अ म्याटर अफ टेस्ट' का अतिरिक्त वीर 'हिन्दुस्तान टाइम्स' को आइतबारे 'पुल आउट' (अतिरिक्तांक) 'ब्रन्च' का लागि खानाउपर नियमित स्तम्भ लेख्थे। एउटा उचाइको मूलधारको पत्रकार कुन प्रेरणाले खानपिन संस्कृतिमाथि कलम चलाउन सक्छ, कतै वीर कुकिङा शौखिन त होइनन् भन्ने मेरो जिज्ञासामा उनले सोझो उत्तर दिएका थिए, 'साँच्चै भन्दा म ब्याड कुक हुँ, तर खानपिनको शौखिनचाहिँ पक्कै हुँ। पत्रिकाका लागि खानपिनमाथि नियमित स्तम्भ लेख्ने कोही फेला नपरेपछि त्यो अभिभारा मैले नै उठाइदिएको मात्र हुँ। मानिसलाई अलि प्रसिद्धि मिलेपछि जे पनि चल्ने रहेछ।'

काठमाडौँका खनापिनका अ•ाहरूमा वीरसँग संसारका सुयोग्य फुड होस्टहरूका कुरा चल्दा उनी पद्मा लक्ष्मीको नाम छुटाउँदैनथे। पद्माका 'प्लानेट फुड' र 'पद्माज पासपोर्ट' ट्राभल एन्ड लिभिङ्मा नियमित प्रशारण हुन्थे। ती कार्यक्रमभन्दा ज्यादा उनी 'टप सेफ'की प्रस्तोताका कारण पश्चिमीजगतमा आजपर्यन्त अत्यन्तै रूचाइएकी टीभी होस्ट हुन्। तर, रमाइलोचाहिँ उनी 'अनस्त्रि्कन' (पर्दामा) जति लोकप्रिय रहिन् त्यसभन्दा कैयौँ गुणा बढी 'अफस्त्रि्कन' (पर्दाबाहिर) चर्चित हुन पुगिन्।

पद्मालाई अकस्मात चर्चाको चुलीमा पुर्‍याइदिएको थियो प्रसिद्ध लेखक सलमान रुस्दीसँगको रोमान्स, विवाह अनि पारपाचुकेका घटनाले। ती सबै घटनाक्रमको फेहरिस्तसँगै आफ्ना जीवनका तमाम आरोह–अवरोह, भोगाइ, आनन्द अनि पीडालाई उधिनेर पद्माले यसै वर्ष 'लभ, लस एन्ड ह्वाट वि एट' शीर्षकमा आत्मसंस्मरण सार्वजनिक गरेकी छन्। चर्चित व्यक्तित्वहरूसँगका सम्बन्धले उनलाई चर्चामा पुर्‍याए तापनि पद्माको आफ्नै परिचयचाहिँ खानपिन संस्कृतिउपरका टीभी कार्यक्रमहरूका प्रस्तोता, मोडलिङ, टीभी शृंखलाहरूमा अभिनय हो। तथापि, दुईवटा कुकबुकको प्रकाशन र खाना संस्कृतिबारे दर्जनौँ वृतचित्र होस्ट गरिसक्दा पनि उनी आफूलाई केवल एक उत्साही घरेलु कुकका रूपमा स्वीकार्छिन्। बाल्यकालका पहिला ४ वर्ष भारतमा बिताएकी उनी आफ्नो खानासँगको प्रेम भारतमै अंकुराएको मान्छिन्। तर, पद्माले पुस्तकमा आफ्नो रूचिको केन्द्रमा खाना वा पकवानलाई राख्ने कोसिस गरे पनि पाठकहरूचाहिँ उनको रूचिको खानाभन्दा पनि उनका सम्बन्धहरूमा बढी आस्वाद लिन सक्ने छन्। उदाहरणका लागि, करिब ४ वर्षको डेटिङ् र लिभिङ् इन रिलेसनपछि सन् २००४ को वसन्तयाममा पद्मा सलमान रुस्दीकी चौथो पत्नीको रूपमा भित्रिइन्। विवाह वसन्तयाममा भए पनि उनीहरूको विवाहित जीवन पतझडतुल्य रह्यो। रुस्दीसँगको सम्भावित विवाहबारे पद्मालाई साथीहरूले सचेत नगराएका होइनन्। तीन पल्ट विवाह गरिसकेका रुस्दी अनि उमेर र उपलब्धिका असमान व्यक्तिहरू कसरी एउटै छानोमुनि बस्न सक्लान्? उनका साथीहरूका आशंका हुन्थे। पद्मा स्वयं पनि स्वीकार्छिन्, 'सलमान मभन्दा २३ वर्ष जेठा थिए, एकप्रकारले बुवा नै भन्न सुहाउने। उनी सबथोक थिए, जहाँसम्म पुग्ने म सपना देखिरहेको हुन्थेँ। मैले अरूले ममा के देख्न चाहन्छन् भनेर करिअर अघि बढाएको थिएँ। उनीहरूका लागि सुहाउँदिला जिन्स, ब्रा र पर्फ्युम धारण गर्ने एउटी मोडलमात्र थिए म।'

पद्मा र रुस्दीका सुरुका दिनहरू रोमाञ्चकारी रहे पनि पछिल्ला दिन तनाव, अविश्वास र वैमनश्यका बीच बिते। उनीहरूबीच झैझगडा हुनु समान्य थियो। पद्मामा पलाएको पाठेघरको रोग 'इन्डोमेटि्रओसिस'का कारण उनमा यौनप्रतिको अरूचि वढ्दो थियो, जसलाई रुस्दीले बुझ्न नसकेको पद्माको आरोप छ। 'मेरो समागमप्रतिको अरूचि पति र मेराबीचको चिसोपनाको चुरो थियो', पद्मा खुलाउछिन्, 'जसलाई उनी एउटा बहानाबाजीको रूपमा बुझ्दथे।' उनीहरूबीचको सम्बन्ध त्यो हदसम्मको तीक्ततामा परिणत हुन थालिसकेको थियो, एउटै छानोमुन्तिर रहेर पनि उनीहरू अलगअलग बाँचेका थिए। झैझगडाको सिलसिलामा एकपल्ट रुस्दीले आफूलाई 'खराब लगानी' भनेको पद्माले पुस्तकमा उल्लेख गरेकी छन्। यसरी परिकथाबाट सुरू भएर कुनै दुस्वप्नझैँ उनीहरूको विवाह पारपाचुकेमा टुंगियो।

तर, पारपाचुके पद्माका परिवारका लागि नौलो थिएन। उनकी आमा विजया लक्ष्मीको विवाह पनि पद्माले धर्ती टेक्टानटेक्दै टुटिसकेको थियो। पद्मा दुई वर्षकी छँदै आमा विजया कामको खोजीमा अमेरिका उडेकी थिइन्, जहाँ उनले दोस्रो विवाह मिस्टर भी (पद्माले नाम खुलाएकी छैनन्) भन्ने भारतीय ट्याक्सी चालकसँग भएको थियो। ती सौतेनी बाबु कतिसम्मका यौनपिपासु रहेछन् भने उनले ७ वर्षकी पद्मालाई घरमा एक्लै भएका बेला दूराचार गर्ने उपक्रम गरिरहन्थे। पद्माले यस्तो रहस्य आमासँग खोलिदिएपछि उनीहरूबीच पनि पारपाचुके भएको थियो। यस घटनापछि आमा–छोरी न्युयोर्कबाट क्यालिफोर्निया बसाइ सरे, जहाँ आमा विजयाले भारतीयमूलका फिजियन नागरिक पिटरसँग तेस्रो विवाह गरिन्।

पद्माले छोटो समयको लागि अँगालेको अर्को पेशा मोडलिङ थियो। क्लार्क युनिभर्सिटीको ग्राजुयसनपछि उनले स्पेन, इटाली र फ्रान्समा रहेर मोडेलिङ गरिन्। रूपको व्यवसाय मोडलिङमा स्थापित हुनु उनका निम्ति फलामको च्युरा चपाउनुसरह थियो। उनी अग्ली, टम्म मिलेकी र राम्री थिइन्। तर, नियतिले एउटा यस्तो टाँचा लगाइदिएको थियो, जुन शरीर देखाउने व्यवसाय मोडलिङका लागि तगारो थियो। एउटा सडक दुर्घटनाले दाहिने पाखुरा तल झुसिलकीरोजस्तै ७ इन्च लामो टाँचा उपहार दिएको थियो, जुन मोडलिङका निम्ति ठूलो अयोग्यता हुन्थ्यो। तर, खतको खतरा मोल्दै उनी मोडलिङमा पनि स्थापित भइछाडिन्। शुरूमा खत लुकाउन चाहने उनी पछि खत प्रदर्शन गर्न लालायित भइन्। भन्छिन्, 'बिकिनी लगाएर समुद्रतटमा टहलिँदा मानिसहरूले मेरो खत देख्न सक्ने थिए। त्यो थाहा पाएरै म उनीहरूले देख्न सकून भनेर खत झन् उदांगो बनाइदिन्थेँ। यो खत मेरा लागि आभूषणजतिकै छ, मोतीको कुनै हारजस्तो। आज, यो खत मेरो जीवनकै एक हिस्सा बनिसकेको छ। यदि कुनै डाक्टरले जादुझैँ छुमन्तरले यो खत मेटाउन सक्छ भने पनि म यसलाई आफूबाट अलग गर्न चाहन्न।'

गर्भाधान 'क्लाइमेक्स'

सलमान रुस्दीसँगको बिछोडपछि पद्माले बिन्दास जीवन रोजिन्। कुनै नेपाली मोडलले 'म लोग्ने होइन, लोग्ने मानिस चाहन्छु' भनेको उदाहरण पद्माको हकमा पनि सोह्रै आना मिल्छ। नियतिको नाउ खियाउँदै उनी यस्तो लोग्ने मान्छेको सम्पर्कमा पुगिन्, जो सलमान रुस्दीभन्दा पनि जेठा थिए। कुनैबेला राजकुमारी डायनासम्मलाई 'डेट' गरेका अर्बपति अमेरिकी टेडी फोर्स्टम्यानसँगको पद्माको 'सम्बन्ध' रुस्दीसँग वैधानिकरूपमा छुटिनुपूर्व नै सुरु भइसकेको थियो। सलमानजस्तै टेडी पनि पद्माको पृष्ठभूमि, रूचि अनि पक्कै पनि उमेरका हिसाबले अमिल्दा जोडा थिए। जस्तै, पद्मालाई बक्सिङ मन पर्ने टेडीलाई गल्फ, पद्मा उदार चिन्तनकी तर टेड ठीक विपरीत परम्परावादी! खानपिनका मामिलामा उनीहरूको रूचि झनै '३६' को आँकडाको हुन्थ्यो। पद्मा नयाँ र मसलादार खाना रूचाउँथिन् भने टेड एकैथरी र मसलाबाटै तीन हातै पर भाग्थे। रिपब्लिकन पार्टीका कट्टर समर्थक टेडका घर जर्ज डब्लु बुस सिनियर र जुनियरसँगका उनका तस्बिरहरूबाट सजिएका हुन्थे। आइतबारको प्रार्थना नछुटाउने टेड एक क्याथोलिक धर्मभीरु पनि थिए। पद्मा, उनकै शब्दमा एक 'सेकुलर हिन्दु' रहिन्, जो मुख्य पर्वहरूमा मात्र स्थानीय मन्दिर जाने गर्छिन्।

टेडीसँगको सम्बन्ध'सँगै उनी अर्का लोग्नेमान्छे एडम डेलसँग पनि रोमान्स गरिरहेकी थिइन्, जो उनको दोस्रो कुकबुक 'इजी एक्जोटिक' को लोकार्पणका बेला परिचित हुन पुगेका थिए। पाठेघरको समस्याका कारण उनको प्राकृतिक गर्भाधान असम्भवप्रायः थियो, त्यसैले उनी गर्भनिरोधकको पर्वाह गर्दिनथिन्। कुनै आश नै नगरेको वरदानजस्तै ठीक यसैबेला उनी गर्भवती भइन्। तर, टेडी र एडमसँग समानान्तर सम्बन्धमा रहेकी उनलाई गर्भ कसको भन्नेसम्म भेउ रहेन! उनले आफ्ना दुवै प्रेमीलाई जीवनमा अर्को पनि लोग्नेमान्छे छन् भन्ने जानकारीचाहिँ दिएकी थिइन्। तर, एउटा सन्तानलाई उसको पिताको बारेमा जान्ने हक हुनुपर्छ भन्ने कुरामा उनी दृढ थिइन्, किनकि आफ्नै पिताको बारेमा जानकारी नहुँदाको पीडाबोध उनले गरेकी थिइन्। पद्मा चाहन्थिन्, बच्चाको पिता टेडी होऊन्। तर, 'प्याटर्निटी टेस्ट' मा टेडी अनुत्तीर्ण भए। र, स्वाभाविकरूपमा बच्चाका पिता एडम ठहरिए।

पुस्तकको 'लभ' का बारे प्रशस्तै चर्चा छ। तर, सबैभन्दा हृदयविदारक खण्डचाहिँ 'लस' को हो, जुन टेडीको ब्रेन क्यान्सर र असामयिक निधनको घटनाक्रम हो। मस्तिष्कको सबैभन्दा खराब क्यान्सर 'ग्लिओब्लास्टोमा'सँग टेडीले गरेको संघर्ष पुस्तकको सबैभन्दा पीडादायी खण्ड हो। सन् २००८ तिरबाट प्रारम्भ टेडीसँगको 'लभ' सन् २०११ मा पुगेर उनको मृत्युपछि 'लस' मा बदलिन्छ।

झुट, आत्मप्रशंसा वा आत्मश्लाघाको जगमा ठडाइएका आत्मकथा पढ्दै आएका नेपाली पाठकका निम्ति 'लभ, लस एन्ड ह्वाट वि एट' एउटा इमानदार कथ्य हो, जसका वाचकीले आफूलाई शब्दहरूबाट निर्वस्त्र पारेकी छन्। सायद आत्मकथा लेख्नेहरूका निम्ति यस्तो दुस्साहस जरुरी पर्छ। खानपिनजस्तै कसैको जीवनका भोगाइहरूको आस्वाद पनि लिन सकिन्छ भन्ने उदाहरण हो यो पुस्तक।

 

पुस्तक :  लभ, लस एन्ड ह्वाट वि एट

लेखिका :  पद्मा लक्ष्मी

विधा :  आत्मकथा

प्रकाशक :  हार्पर कोलिन्स

पृष्ठ :  ३२५

मूल्य भारू :  ६९९/–

प्रकाशित: २२ श्रावण २०७३ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App