१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पुरुषसत्ताको पर्दाफास

जिके पोख्रेल

महाभारतको कथालाई नारीकोणबाट पुनर्सिजन गरिएको 'चीरहरण' कम्तीमा नेपाली साहित्यमा नौलो स्वाद लिएर आएको छ। यो 'स्वाद' कसैलाई मीठो लाग्ला कसैलाई तीतो त्यो पाठकको ग्रहणशीलतामा भर पर्छ। जे भए पनि नेपाली साहित्यमा 'चीरहरण'ले आफ्नो छुट्टै 'स्पेस' निर्धारण गर्ने भने पक्का छ।

चीरहरणअघि पनि नेपाली साहित्यमा 'मिथक'को मियोमाथि आख्यान सिर्जना नगरिएको होइन। सुम्निमा, माधवी, योजनगन्धा, द्वन्द्वको अवसानले राम्रो पाठक कमाएका थिए। यसै लहरमा उभिन आइपुगेको छ चीरहरण। यसै पंक्तिमा महाभारतको महाख्यानकोे मियोमाथि आख्यान र्सिजन गर्ने महिला लेखकका रूपमा भने नीलम कार्की निहारिकाले एक्लो छवि बनाएकी छन्। महाभारतजस्तो बहुचर्चित र बहुप्रशंसित महाख्यानको पुनर्लेखनलाई नारीकेन्द्रित पुनर्व्याख्या गर्नु आफैमा ठूलो उपलब्धि हो।

चीरहरणले उठान गरेका विषयहरू निर्विवाद 'नारीवादी' जीवनदृष्टिका उपज हुन्। जो सान्दर्भिक पनि छन्। शताब्दियौँदेखि जरा गाडेर बसेको पुरुषसत्ताको शासकीय 'आसन'को पर्दाफास गर्न सफल छ यो उपन्यास। महाभारतको 'टर्निङ प्वाइन्ट' नै मानिने द्रौपदी चीरहरण/वस्त्रहरणको प्रसंगले दुस्सासनको दुस्साहससामु पाण्डवहरू निरीह भएको कुरालाई आधार मानेर प्रश्न उठाइएको छ।

चीरहरणको पृष्ठ ६७ मा लेखिएको छ–

 अर्जुन मौन शीर झुकाएर बसिराख्नु भयो।

 'हे अर्जुन कृपया मलाई दुष्टको हातबाट बचाउनुहोस्।' मैले उहाँको पाउ परेर भनेँ।

 'हामी बाध्य छौँ पाञ्चाली हामीलाई क्षमा गरिदेऊ। हाम्रा हात दासताको जञ्जिरमा बाँधिएका छन्।'

सायद पूर्वीय सभ्यातामा नारीमाथि भएको अन्यायको यो सबैभन्दा भयानक 'हिंसापर्व' हो। दरबारभित्रका (आजको राजकीय भाषामा) अधिराजकुमारीसमेत सुरक्षित छैनन् भने अन्य नारीको अवस्था के होला? आजको सन्दर्भमा बुझ्ने हो भने जुवाडे लोग्नेबाट तिनका स्त्रीको सुरक्षा सम्भव छैन भन्ने नै हो। तर, दरबारिया राजनीतिको नीति निर्माण तहमा पुगेका मान्छे र आजका हामी आम निम्न/मध्यम वर्गका मान्छेलाई एउटै तुलोमा जोख्दा 'चीरहरण' उपन्यासको धार्नी कदापि पुग्दैन।

अब फेरि प्रसंगलाई यसै उपन्यासको सत्यवतीसँग सम्बद्ध घटनामा लगेर जोडौँ–

'दासजार दम्पत्तिको सहोदर सन्तान नभएका कारणले पालेकी कन्याप्रति ज्यादा स्नेह भएको हो। मानिएको पनि सुनेकी थिएँ। परन्तु त्यसो भन्नेहरूका निम्ति मेरो जवाफ थियो– पिताजीले चाहेको भए मेरी माताबाट सन्तान नभएको भन्दै अरु पत्नी भित्राएर सन्तान जन्माउने तत्परता देखाउनु हुन्थ्यो। या मातालाई अन्यबाट गर्भधारण गर्न लगाउन पनि सक्नु हुन्थ्यो। दासराजलाई समाजमा विवाहका निम्ति कन्या दिनेको कमी थिएन।

( पृ. २९)

अर्जुन–द्रौपदी संवाद र यहाँ उद्धृत अंशमा दार्शनिक दृष्टिले तालमेल छैन। अर्जुनले चाहेर पनि द्रौपदीको रक्षा गर्न सक्दैनन्, उता दासराज एउटी पोष्यपुत्री पाएपछि बहुविवाह गर्न जरुरी ठान्दैनन्। यी दुवै उदाहरणमा आएका पुरुषहरू आफै पीडित छन्। दुस्सासनको कुकृत्यको फल अर्जुन र चेदीराजको कुकृत्यको फल दासराजले भोगिरहेका छन्। त्यसो भए कसरी भन्न सकिन्छ कि हरेक पुरुषले हरेक नारीलाई शासक बनेर र भोग्या ठानेर हेरिरहेको हुन्छ? यी आजसम्म पनि समाजमा देखिइरहने घटना हुन्। नेपालकै सन्दर्भमा पनि 'शासक' वर्ग भोग्या ठान्छ नारीलाई, शासित त 'पेटको' भोक शान्त पार्दैमा 'दासराज'को जुनी भोग्न बाध्य छन्। मान्छे परिस्थितिको पञ्जामा जकडिएको हुन्छ। वर्षौंदेखि जरा गाडेर बसेको संस्कारले निर्माण गरेको सभ्यता जीवित छ। महाभारत पनि एउटा सभ्यता हो। पुरुषसत्तात्मक सभ्यता। त्यसअघि नारीसत्ताको युग पनि लामो समय चल्यो। एउटी द्रौपदीका ५ पति हुनुमा केही मात्रामा नारीसत्ताको अंशको समाजशास्त्रीय प्रभाव छ। नारीका बहुपति हुनुलाई हेयका दृष्टिले हुर्नु आजको हाम्रो आँखाको दोष हो। नारी अस्मितालाई 'चरित्र' को कसीमा घोट्न खोज्नु आज आएर विकसित भएको पुरुषसत्ताको कमजोरी हो।

सत्यवती र परासर ऋषिको 'समागम' पनि त्यस्तै संकुचित मानसिकताको उपज हो। मातृसत्ताभन्दा पितृसत्तामा महिलाका अधिकार कृण्ठित भएको हो भन्ने दृष्टान्त हो यो। चीरहरण भन्छ–

'शान्त कर्णले द्रोपदीसँग आफू बोल्ने आज्ञा मागेर स्वयं भने, सर्वप्रथम समस्त ज्ञानीहरूमा म निवेदन गर्छु, नारीको रक्षा नै पुरुषको धर्म हो भन्ने भ्रमपूर्ण व्यख्याको अन्त्य होस्। जबसम्म पुरुषलाई नारीको रक्षाकवच सम्भि्कन्छ, तबसम्म नारीहरू कमजोर नै रहिरहन्छन्, शोषण यथावत् रहन्छ। भवितव्य वा अन्यायमा आफूलाई शक्तिहीन सम्भि्कएर अरुकै मार्ग ताकिरहन्छन् तमाम द्रौपदीहरू। यसर्थ, म त भन्छु सर्वप्रथम स्वरक्षा नै धर्म हो भनी पुनर्व्याख्या नहोस्.... यस्ता असमानताले दुर्घटना निम्त्यिाइरहन्छ।'

( पृ. ५१८)

नारी चेतना र अस्तित्वलाई केन्द्रमा राखेर लेखिएको चीरहरण द्वारपरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाजको प्रतिबिम्ब छ। किताबको 'ब्लरको' तर्क हो यो। तर, पूर्वीय समाज विकासको मातृसत्ता र पितृसत्ताको संक्रमण अवधिका सकस, गंगाको सन्तानप्रतिको घोर अत्याचार, अप्सराहरूको श्राप/ऋषिमुनिका श्रापको चित्रणमा किताब अनावश्यक फसेको छ। सत्यवती–परासर सम्बन्धलाई लेखक पुरुषसत्ताको यौनलिप्सा भनेर निष्कर्ष दिन्छिन्। तर, गंगाले लगालग ७ सन्तानलाई बगाउँदा श्राप मान्छिन्! के श्रापितचाहिँ महिलामात्र थिए? पुरुष दूराचारी मात्रै? सबै महिला श्रापितमात्रै छन्? न यी कुराका दार्शनिक उत्तर छन् किताबमा, न समाजशास्त्रीय निष्कर्ष नै! विषयवस्तुमा केन्द्रित नभई पक्षपक्षान्तरमा लाग्ने पछिल्ला समयका अधिकांश लेखकको रोगबाट चीरहरण पनि मुक्त छैन। गंगाको मातृत्वको व्यवहारलाई सभ्यताको समाजशास्त्रीय कोणबाट व्याख्या गर्ने हो भने मातृसत्ताको निरंकुशता पनि त देखिएला! यस्ता थुप्रै प्रश्नको उत्तर चीरहरणले दिन सकेको छैन।

महाभारतको पुनर्सिजनाको नारी कोणमा चीरहरणलाई सफल कृति मान्न सकिएला। तर, औपन्यासिक प्रारूपमा भने 'चीरहरण' नमीठो ढंगमा चिप्लिएको छ। गंगा/सत्यवती, गान्धारी/कुन्ती र द्रौपदी/भानुमतीको तीनपुस्ते खोज्नतिर लाग्नाले 'नेपाली नागरिकता'जस्तो कर्मकाण्डीय खोज बन्न पुगको छ कथा।

समाजविकास तथा तत्कालीन सभ्यताको आँखीझ्याल हो व्यासकृत महाभारत। त्यसको 'पुनर्सिजना'मा नीलमको कलममा केटौलेपन प्रशस्त देखिन्छ। चीरहरण भहाभारतको फोटोकपी होइन, न अनुकृति नै हो। त्यसो हो भने संस्कृत शब्द त्यति धेरै प्रयोग गर्नुको औचित्य के? नेपाली साहित्यको किताबमा संस्कृत र हिन्दीका त्यतिविधि शब्द आउनु पक्कै पनि राम्रो होइन।

अञ्जुलीको जल सकिँदा निकै शीतल अनुभव भयो। अनि वस्त्रको फेरोले मुहार पुछ्दै थिएँ.... अकस्मात नजर पारी पर्‍यो, एक पुरुष यात्रीले आफैतर्फ हेरेर मार्ग ताकिरहेको आभास भयो।

यहाँ आएका जल, वस्त्र, मुहार, मार्ग आदि शब्दका ठाउँमा पानी, लुगा, अनुहार, बाटो प्रयोग गरेको भए हामी आधुनिक पाठकले सहज ग्रहण गर्न सक्ने थियौँ। कतिपय ठाउँमा प्रयोग भएको हिन्दी शब्द वा वाक्यांशले त चीरहरणको नेपाली मौलिकतामाथि नै प्रश्न खडा गर्न सक्छ।

 एक माझीले गोँद लिएर पालेकी केटी। (पृ. ३५)

 महाराज, हजुरकै यादमा रातहरू जागा भए। (पृ. ३७)

 अधरमा सञ्चो भएन या अरु केही अनर्थ? (पृ. २२५)

 आफ्नो कार्य अधिकार स्थानभित्र रहेर बोल्ने गर्नुस्। (३३८)

 रात त्यसरी नै त्यहीँ समाप्त भएको थियो। (४११)

यहाँ टिपिएको वाक्यको गठन प्रक्रिया र संस्कृत हुँदै हिन्दीमा प्रविष्टि पाएका शब्दले नीलमको परिश्रमलाई 'फोस्रो' बनाइदिएको छ। यी रेखांकनमा परेका वाक्यांशले नीलमको लेखनीमा 'हिन्दी सिरियल'को टड्कारो प्रभाव परेको सहजै बुझिन्छ।

गुणैगुणले भरिपूर्ण त संसारमै केही छैन–कोही छैन। 'खोटविहीन' चीरहरण पनि कसरी हुन सक्ला र! विषयवस्तुको चयनमा देखाएजति निष्ठा र अनुसन्धानको प्रक्रियामा गरेजति साधना गरेको भए पुस्तक अब्बल बन्थ्यो। आख्यान भनिसकेपछि तत्काल र समकालीन समयका मुद्धाहरू उठाइएको भए अहिलेको समयसँग तादात्म्य खोज्न सकिन्थ्यो।

 

पुस्तक :  चीरहरण (उपन्यास)

लेखक :  नीलम कार्की निहारिका

मूल्य :  रु ५७५/–

पृष्ठ :  ५२६

प्रकाशक :  सांग्रिला बुक्स

प्रकाशित: २२ श्रावण २०७३ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App