coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

निशानाको पर्खाइमा जितबहादुर

काठमाडौं- रियो ओलम्पिक नेपाली आर्चरीको लागि बोनस हो। नेपाल आर्चरी संघले सन् २०२० को टोकियो ओलम्पिक खेल्ने लक्ष्यसहित तयारी गरिरहेको थियो। तर नेपाली खेलाडी जितबहादुर मोक्तान थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन गर्दै संघको लक्ष्यभन्दा चार वर्षअघि नै ओलम्पिक खेल्दैछन्।

आर्चरी नेपालको मौलिक खेल हो। आधुनिक आर्चरीको इतिहास भने त्यति लामो छैन। एक दशकअघि आधिकारिक प्रतियोगिता खेल्न सुरु गरेको हो नेपाली आर्चरीले।

आर्चरीको अन्तर्राष्ट्रिय सहभागिता एक दर्जन पुगेको छैन। तर खेलाडी जितबहादुरले रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्।

नेपाली आर्चरीमा उनको परिचय आत्मविश्वासी खेलाडीका रूपमा रहेको छ। एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद जस्ता महŒवपूर्ण प्रतियोगिताको अनुभव छ उनीसँग। र विदेशी प्रशिक्षकबाट उनले आर्चरीका थुप्रै सीप सिकेका छन्।

गतवर्ष थाइल्यान्डको बैंककमा ओलम्पिक छनोट प्रतियोगिता थियो। जितबहादुरसँगै असिम शेरचन र प्रेमप्रसाद पुनले भाग लिएका थिए। नेपालले टिम र व्यक्तिगत स्पर्धामा भाग लिएको थियो। व्यक्तिगत स्पर्धाको छनोटमा प्रतिस्पर्धा गर्नअन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले ६ सय ३० स्कोर गर्नुपर्ने नियम बनाएको थियो। तर जितबहादुरले प्रतियोगितामा ६ सय ४२ स्कोर गरे। बैंककबाट फर्किएलगत्तै आर्चरी संघले ओलम्पिकमा वाइल्ड कार्डका लागि अपिल गरेको थियो। ओलम्पिक दिवसका दिन जितबहादुरले ओलम्पिक खेल्नका लागि वाइर्ल्ड कार्ड पाएका थिए। जुन नेपाली आर्चरीका लागि एकदमै सुखद दिनको रुपमा रह्यो।

ओलम्पिक खेल्न रियो पुगिसकेका जितबहादुरले पोखरा र काठमाडौंमा ओलम्पिकलाई अन्तिम तयारी गरेका थिए। उनको ओलम्पिकमा व्यक्तिगत स्कोर सुधार गर्ने लक्ष्य छ। उनले भने, 'तयारीका लागि धेरै समय पाइएन। तर छोटो समयमा कडा मिहिनेत गरेको छु। त्यसले लक्ष्यमा पुग्न सहयोग गर्ने विश्वास छ।'

उनले दबाबमुक्त भएरओलम्पिक खेल्ने बताए। उनले भने, 'ओलम्पिक हरेक खेलाडीका लागि दबाबपूर्ण हुन्छ। तर मैले पहिलोपल्ट खेल्न लागेको छु। पदकभन्दा अनुभव र व्यक्तिगत स्तर बढाउने लक्ष्य छ। ओलम्पिकमा व्यक्तिगत स्कोर बढाउने कोसिस गर्छु।'

जितबहादुरले बंगलादेशमा सम्पन्न ११औं सागमा टिम इभेन्टमा कांस्य पदक जितेका थिए। त्यतिबेला नेपाली टोलीबाट उनीसँगै प्रेमप्रसाद पुन, असिम शेरचन र रमेश भट्टचनले प्रतिस्पर्धा गरेका थिए। ६ महिनाअघि भारतमा सम्पन्न १२औं सागमा भने उनले पदक जित्न सकेनन्।

आर्चरी नेपालका लागि अन्तर्राष्ट्रिय स्पर्धामा पदक जित्ने सम्भावना बढी भएको खेल हो। आठौं साग(श्रीलंका)बाट आधिकारिक प्रतियोगिता खेल्न सुरु गरेको आर्चरीले एक दशकमा ओलम्पिकको यात्रा तय गरिसकेको छ।

तथापि, नेपाली आर्चरी थुप्रै समस्यासँग जुधिरहेको छ। नेपालमा आर्चरी खेलाडीले प्रशिक्षण गर्ने निश्चितस्थान छैन। ओलम्पिक तयारीका क्रममा पनि जितले पोखरामा प्रशिक्षण गर्नुपरेको थियो।

अर्को समस्या आर्चरीले अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद(राखेप) बाट करार प्रशिक्षकसमेत पाएको छैन। नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले आर्चरीका लागि एउटैप्रशिक्षक व्यवस्था गर्न नसक्नु लाजमर्दो पक्ष हो।

संघका अध्यक्ष दीपक गुरुङले नै जितबहादुरलाई ओलम्पिकका लागि प्रशिक्षण गराएका थिए। गुरुङपनि  रियो पुगेका छन्।

नेपाली आर्चरीले तत्कालीन अध्यक्ष स्व. लक्ष्मण श्रेष्ठको कार्यकालमा व्यवस्थित रूपमा अगाडि बढ्ने आधार बनाएको थियो। श्रेष्ठले संघको नेतृत्व गर्दा नेपाली खेलाडीले पहिलोपल्ट विदेशी प्रशिक्षकसँग प्रशिक्षण लिने अवसर पाएका थिए।

ग्वाङ्झाउ एसियाड खेल्दा नेपाली खेलाडीलाई बेलायती प्रशिक्षक रिचार्ड प्रिन्स र इन्चोन एसियाडका लागि कोरियाली प्रशिक्षक ली चुङ वुनले प्रशिक्षण दिएका थिए। ग्वाङ्झाउ एसियाडमा नेपालको प्रदर्शन अहिलेसम्मको तारिफयोग्य छ। नेपाली पुरुष आर्चरी टोली क्वार्टरफाइनलसम्म पुगेको थियो। टोलीमा जित, रमेश, असिम र प्रेमप्रकाश थिए। ग्वाङ्झाउको प्रदर्शनबाट उत्साही नेपाली खेलाडीले इन्चोन एसियाडमा पदक जित्ने लक्ष्यसहित तयारी गरेका थिए तर नेपालले पदक भने जित्न सकेन।

नेपालमा आर्चरी खेलको उद्गम थलोमा मुस्ताङलाई चिनिने चिनिन्छ। यस खेलमा पश्चिमाञ्चलकै धेरै खेलाडी छन्। राष्ट्रिय प्रतियोगितामा अहिले करिब ८० खेलाडीले प्रतिस्पर्धा गर्ने गर्छन्।

थकाली समुदायमा फागु पूर्णिमाका बेला हरेक वर्ष चल्ने तोरण पर्वमा आर्चरी खेलाइन्छ। राई, लिम्बु, किराँत, गुरुङ, मगरलगायतका जातिहरूले पनि आर्चरीलाई मौलिक खेलमा लिने गरेका छन्। ती समुदायमा स्थानीय बाँसबाट निर्माण गरिएका धनुष नै प्रतियोगितामा प्रयोग गरिन्छ।

आधुनिक आर्चरीमा भने विशेष किसिमको धनुष प्रयोग हुन्छ। आर्थिक रूपमा आर्चरीको खेल सामग्री महँगा छन्। एउटा धनुको करिब २ लाख ५० हजारभन्दा बढी पर्ने गर्छ। एउटा तीर ४ हजारसम्म पर्दछ। आर्चरीका अन्य सामाग्री पनि महँगा छन्।

नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी पदक जित्ने सम्भावना बोकेको खेल भएपनि आर्चरी प्राथमिकतामा पर्न नसकेको गुनासो पोख्छन्। उनले भने, 'हामीले जित सफलता हासिल गरेका छौं। खेलाडी र आर्चरीमा लागेका पदाधिकारीको मिहिनेत र सहयोगले त्यस सफलता पाएका हौं। राखेपले हामीलाई एउटा प्रतियोगितामा तीन खेलाडीलाई पुग्ने सामान समेत दिन सक्दैन।'

थुप्रै चुनौती सामना गरेपनि आर्चरीले भविष्यमा नेपालका लागि ऐतिहासिक उपलब्धि दिलाउने सिवाकोटीको दाबी छ। उनी भन्छन्, 'हामी सुरुआतमा खेल्ने ठाउँको खोजीमा छौं। त्यो भए नयाँ खेलाडी उत्पादन गर्न सहज हुन्छ। राखेपले प्रशिक्षक उपलब्ध गराए हाम्रो स्तर अहिलेभन्दा माथि पुग्छ।'

जितबहादुर नेपाली आर्चरीका सबैभन्दा अनुभवी खेलाडी हुन्। उनीसँग दुईवटा सागसहित इन्चोन र ग्वाङ्झाउ एसियाडको अनुभव छ।

ब्राजिलमा जितको लक्ष्य सुरुआतमा ६४ खेलाडीभित्र पर्नु हो। व्यक्तिगत स्पर्धामा भाग लिएका मध्ये उत्कृष्ट ६४ खेलाडी पहिलो चरणलाई छनोट हुन्छन्। उनी भन्छन्, 'सुरुआतमा मेरो लक्ष्य नकआउट चरण पार गर्नु हो। आर्चरीमा पहिलो राउन्ड पार गरेपछि जस्तोसुकै नतिजा पनि आउन सक्छ।' उनको खेल रियो ओलम्पिकको उद्घाटन दिन नै छ।

 

प्रकाशित: २२ श्रावण २०७३ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App