४ वैशाख २०८१ मंगलबार
राजनीति

बाजुरा प्रदेश (क) मा एमालेका रेग्मी विजयी

बाजुरा – बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एमालेका बलदेव रेग्मी विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार एवं एमाले पार्टी सचिव रेग्मी ९८४० मत ल्याएर विजयी भएका हुन् । 

उनले नेपाली काँग्रेसका जनकराज गिरीलाई १५३९ मत अन्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी गिरीले ८३०१ मत प्राप्त गरेका छन् । 

एक नगरपालिका र ३ गाउँपालिका रहेको उक्त क्षेत्रमा १८९९६ मत खसेको थियो । रेग्मीले कुल खसेको मतको करिब ५२ प्रतिशत मत प्राप्त गरेका हुन् । उक्त निर्वाचनमा नयाँ शक्तिका नरेन्द्र रोकायाले १७७, स्वतन्त्र उम्मेदवार टिकाराज गिरीले ६२ मत ल्याएका छन् । 

खसेको मत मध्ये ५४१ मत बदर भएको छ । विजयी रेग्मीलाई मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले विजयी भएको घोषणा लगत्तै वाम गठबन्धनले विजय जुलुस निकालेको छ । विजयी घोषणा पछि रेग्मीले जनताले दिएको समर्थन प्रति धन्यवाद दिए । उनले जनतालाई दिएका आश्वासन पुरा गर्ने बताए । 

यसैगरी प्रतिनिधि सभा तर्फ नेकपा एमाले अगाडि देखिएको छ । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा २ हजार मत अन्तरले अगाडि रहेका छनञ । लालबहादुर थापाले १५४१३ र कविराज पण्डित १३३८९ मत प्राप्त गरेका छन् । 

यस्तै नयाँ शक्तिका दिलीप शाहीले ३५३ मत ल्याएका छन् । भने ७३३ मत बदर भएको छ । प्रतिनिधि सभामा ५२ हजार ९ सय ४५ मत खसेको हो । अब बडिमालिका, बुढीगंगा नगरपालिका, छेडेदहको मत गणना हुन बाँकी छ । पाण्डवगुफाको मत गणना भइरहेको छ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) मा पनि नेकपा एमालेका प्रकाश शाह २७१३ मतले अगाडि छन् । १८०३० मत गणना हुँदा एमालेका प्रकाश शाहले १००८१, काँग्रेसका पदम शाहीले ७३६३ मत प्राप्त गरेका छन् । 

यस्तै एकीकृत राप्रपा (राष्ट्रवादी) का प्रकाश विकले ४४, नयाँ शक्तिका सुज्र्या चदाराले ६१ मत प्राप्त गरेका छन् । ती मध्ये ४७६ मत बदर भएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) मा ३३९४९ मत खसेको थियो । प्रदेश सभा ख तर्फ बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिकाको गणना जारी रहेको छ। 

प्रकाशित: २२ मंसिर २०७४ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App