८ वैशाख २०८१ शनिबार
राजनीति

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

रुकुम– तत्कालीन नेकपा माओवादी केन्द्रका जनसरकार प्रमुख पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले युद्धको जनसरकारको प्रमुख हुँदाको अनुभवले प्रदेश सरकार सञ्चालन गर्ने बताएका छन् ।

उनी पूर्वी रुकुम प्रदेश निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका हुन् । घर्तीले नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतलाई दुई हजार एक सय पाँच मत अन्तरले पछि पार्दै विजयी भएका छन् । पूर्व जनसरकार प्रमुख घर्तीले पाँच हजार आठ सय १६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बस्नेतले तीन हजार एक सय ११ मत प्राप्त गरी पछि परे ।

उनी आफ्नो युद्धको अनुभव यहाँ व्यक्त गर्ने बताए । ‘युद्धको बेला न्याय पनि दिएका थियौं,’ उनले भने, ‘त्यसैगरी म सबै जनतालाई न्याय र विकास दिने प्रयास गर्ने छु ।’ जनताको माग अनुसार पार्टीले मलाई जिम्मेवारी दिएको भन्दै उनले कम्युनिस्टको एउटा सिपाही भएको बताए । ‘मलाई जनताको गास, बास, शिक्षा, स्वास्थ्यजस्ता अधिकारका विषयमा काम गर्न पार्टीले जिम्मेवारी दिएको थियो । यो जिम्मेवारी मैले सफलतापूर्वक पूरा गरेको छु,’ उनले भने । उनले अबको परीक्षा यहाँको विकासको लागि भएको बताए ।

उनले सम्भावित ५ नं. को प्रदेशको राजधानी दाङबाट पूर्वी रुकुमको प्रस्तावित सदरमुकाम रुकुमकोटसम्म सडक सञ्जाल विस्तार गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको बताए । अहिले सिधै ५ नं. सँग नजोडिएपछि ६ नं. प्रदेशमा गएर दाङ, नेपालगञ्ज, काठमाडौंलगायतका सहरमा जान पर्ने बाध्यता छ ।

उनलाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा समेत हेरिएको छ ।
 

प्रकाशित: २२ मंसिर २०७४ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App