coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

युद्धभन्दा चुनाव जित्न गाह्रो भयो : कमला रोका

रुकुम– पूर्वी रुकुम सिस्ने गाउँपालिका वडा नं. २ की कमला रोका २०५१ साल फागुन १ गते पहिलो महिला छापामारको रुपमा लडिन् । उनी तत्कालीन माओवादीको १० वर्षे जनयुद्धका क्रममा भूमीगत थिइन् । उनी २०६३ की उन्तरिम विद्यायक पनि हुन् ।
गणतन्त्रपछिको पहिलो २०६४ सालमा भएको निर्वाचनमा उनी समानुपातिक सभासद् भइन् । २०६९ देखि ०७० सालसम्म उनी युवा तथा खेलकुदमन्त्री भइन् । त्यसबेला उनले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्राईको नेतृत्वको सरकारमा १० महिना मन्त्री भएकी थिइन् । हाल उनी रुकुम (पूर्वी) को प्रतिनिधि सभा सदस्य पदमा भारी मतले विजयी भएकी छन् । २०६४ सालमा जमुना प्रहरीले अपहरणसमेत गरेको थियो । उनको दुई हप्ता पछि रिहाई भएको थियो ।

युद्धदेखि अन्त्यसँगै २०६३ देखि राजनीति यात्रामा उनले निकै ठूला चुनौतीहरु पार गर्दै निर्वाचित सांसद्मा निर्वाचित हुँदा उनी निकै खुसी छन् । यसको श्रेय उनले यहाँका जनतालाई दिएकी छन् । यहाँको विकासलाई आफू र नेकपा माओवादीले मात्र गर्न सक्ने भन्दै उनले जितपछि यहाँको समस्याहरुको समाधानका लागि संघर्ष गर्ने बताइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतले पछि पार्दै रोका विजयी बनेकी हुन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ । खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो ।
‘पहिलो जनयुद्ध सफलतापूर्वक सम्पन्न गरे,’ उनले भनिन्, ‘दोस्रो चुनाव पनि संघर्ष र चुनौतीका माझ विजयी भए । अब यहाँको विकास गर्ने काम मेरो अर्काे युद्ध हो ।’
साविकका पाँच गाविसहरु सडक सञ्जालमा जोडिएका छैनन् । अन्य ठाउँमा साघुरा र कच्ची बाटाहरु छन् । उक्त सबै वडाहरुमा सडक सञ्जाल विस्तार गर्ने र भएका सडकको स्तरोन्नती गर्ने आफ्नो पहिलो प्राथमिकता भएको उनले प्रतिक्रिया दिएकी छन् ।
‘यहाँ सञ्चार सुविधा छैन,’ उनले भनिन्, ‘फरक राज्यको जस्तो अनुभूति हुन्छ । यहाँका सर्वसाधारणहरुलाई सञ्चारको मूल प्रवाहमा ल्याउन मेरो अर्काे प्राथमिकता हो ।’ जसले गर्दा यहाँ सञ्चार पुहँच हुँदा स्थानीयको दैनिकी सहज हुने उनको अपेक्षा छ ।
यहाँको कृषिलाई आधुनिकीकरण र पर्यटकीय क्षेत्रलाई व्यवसायिक बनाइ आर्थिक स्तर वृद्धि गर्नु आफ्नो अर्काे प्राथमिकता भएको रोकाले बताइन् । यहाँको जलस्रोत राम्रो भएकाले हाइड्रोपावर निर्माण गरी युवालाई स्वदेशमै रोजगारी दिनेतर्फ आफ्नोे ध्यान केन्द्रीत रहने रोकाले जनाइन् ।
युद्धभन्दा चुनाव जित्न निकै चुनौती भएको रोकाले बताइन् । ‘त्योभन्दा झन यहाँको विकास गर्न ठूलो चुनौती छ,’ उनले भनिन्, ‘यो हिमाली जिल्ला र नयाँ जिल्ला भएकाले यहाँ काम गर्न गाह्रो छ ।’ चुनौतीसँग जुधेर आफू यहाँको काममा सफल हुने उनले अपेक्षा राखेकी छन् ।

प्रकाशित: २२ मंसिर २०७४ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App