७ वैशाख २०८१ शुक्रबार
राजनीति

महराको गाउँमा खुसियाली

रोल्पा (बामरुक)- नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री बनेपछि उनको गाउँ बामरुकमा खुसियाली छाएको छ। लिबाङ–८, बामरुकस्थित मन्त्री महराको घरमा बस्दै आएकी फर्कमाली डाँगीले खुसीको सीमा नरहेको बताइन्। ‘महरा सरले देश र जनताका लागि केही गर्नुहुन्छ भन्ने आश गरेकी छु,' उनले भनिन्।

फर्कमाली माओवादी कार्यकर्ता हुन्। समयको खेलले ‘जनयुद्ध' मा समाहित गराएको बताउने उनी परिवारसहित महराको घरमा बस्न थालेको सात वर्ष भइसक्यो। महराको ६ कोठे जीर्ण घर सरसफाइ र मर्मत गरेर उनीहरु बसेका हुन्।

सोही घरको अर्को कोठामा बस्दै आएकी ह्वामा–८ की बाकसरी घर्ती पनि माओवादी कार्यकर्ता हुन्। महरा मन्त्री बनेपछि उनी पनि निकै खुसी देखिइन्। २०४६ सालबाटै कम्युनिस्ट पार्टीमा लागेको उनले बताइन्। १५ वर्षकै उमेरमा माओवादीले उनलाई पार्टी राजनीतिमा प्युठान खटाएको सम्भि्कइन्। 'त्यो बेलाको दुःख सम्झँदा अहिले अनौठो लाग्छ, हामीले दुःख पाए पनि हाम्रा नेता मन्त्री भएको सुन्न पाउँदा खुसी लागेको छ,' उनले भनिन्।

मन्त्री महराकै जग्गामा पोलिटेक्निक कलेजको भवन बन्दै छ। गत वर्षदेखि भौतिक पूर्वाधारको संरचना निर्माण गर्ने काम सुरु गरिएको हो। पोलिटेक्निक कलेज बनाउन महराले करिब ३६ रोपनी जग्गा दान गरेका छन्। अन्य स्थानीयले पाँच रोपनी जग्गा दान गरे। माओवादी कार्यकर्ता बाकसरीले प्राविधिक शिक्षालयलाई ७५ रोपनी जग्गा आवश्यक रहेको औंल्याइन्। महराले पोलिटेक्निक कलेजलाई पूर्णता दिन ध्यान दिनुपर्ने उनको सुझाव छ। ‘हामी त राजनीतिक संघर्षले गर्दा पढ्न पाएनौं,' भनिन्, ‘हाम्रा छोराछोरीले पढ्न पाउँथे कि भन्ने लाग्छ।'

महराकै घरमा आइपुगे नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष ऋषिराम रोकामगर। उनी महराका छिमेकी पनि हुन्। 'महरा सर मन्त्री भएकोमा हामी त खुसी हुने नै भयौं। समग्र रोल्पाली नै खुसी छन्।' मन्त्री बन्न लागेकोमा काठमाडौंमै बधाई दिएर बिहीबार बिहान मात्रै जिल्ला फर्केका उनले महराले गर्नुपर्ने पाँच योजना सुनाए।

'महरा सरले आफैंले दान गरेको जग्गामा बन्दै गरेको पोलिटेक्निक कलेजलाई पूर्णता, हरिगाउँमा १२ मेगावाटको जलविद्युत आयोजना सञ्चालन, आठ वर्षदेखि अलपत्र बहुचर्चित माडी खोला पुल निर्माण, होलेरी थबाङ सहिद मार्ग कालोपत्रे र सिरक्याङ भीर फोरेर थबाङ जोड्ने मोटर बाटो खुलाउन पहल गर्नुपर्छ,' उनले भने।

महराका गाउँले शिवराज पोख्रेलले भने रोल्पा १ मा भोट माग्न अपनाइएका चुनावी एजेन्डा पूरा हुन नसकेको गुनासो गरे। ‘मन्त्री बनेपछि उहाँले देखाएका सपना पूरा हुन्छ कि भन्ने आस छ,' उनले भने।

प्रकाशित: २२ श्रावण २०७३ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App