coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यी उम्मेदवार जसले अाफूलार्इ मतदान गर्न पाएनन्

काठमाडौँ –  आज भइरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । 

मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म छन्। आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उनीहरूले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन्। 

मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उनीहरूले आफ्नो मत आफूलाई सुरक्षित गर्न नसकेका हुन्। 

झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाएनन्। उनले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्। 

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाएनन्। उनको मतदाता नामावली रौतहटमा छ। 

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलको पनि आफूलाई मत हाल्न पाएनन् । उपप्रधानमन्त्री महराको रोल्पामा मतदाता नामावली नाम भएका कारण तथा एमाले नेता पोखरलेको क्षेत्र नं २ को प्रदेशसभा ख मा मतदाता नामावलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाएका हुन्। 

काठमाडौँमा मतदाता नामावलीमा नाम रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला काठमाडौँबाटै मतदान गर्दै छन् । उनी प्रदेश नं ४ अन्तर्गत नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुन्। उनले नवलपरासीबाट आफू काठमाडौँमा मतदानका लागि आएको जानकारी दिए। 

काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार रहेका पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाएनन् । उनले काठमाडौँ क्षेत्र नं ७ बाट मतदान गरे। 

काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उनको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं १ मा परेपछि आफूले आफैँलाई मतदान गर्न पाएनन्। 

वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौँ क्षेत्र नं १ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन्। 

अर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार डा. प्रकाशशरण महत, काँग्रेसबाट कैलाली क्षेत्र नं ५ की उम्मेदवार डा. आरजु देउवा, भक्तपुर क्षे नं २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाएनन्। 

काँग्रेसका तर्फबाट उम्मेदवाहरू डा. महतले नुवाकोटमा मतदाता नामावलीमा नाम भएका कारण, भोजपुरका मतदाता रहेका कारण कार्कीले, डडेल्धुरामा नामावली रहेका कारण डा. राणाले र काठमाडौँको मतदाता रहेका कारण ढुंगानाले मतदान गर्न नपाएका हुन्। 

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा मतदाता नामावली नाम भएका माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुन्। पश्चिम रुकुममा मतदाता नामावली रहेका नेकपा माओवादी केन्द्रका नेता अनिलकुमार शर्मा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार हुन भने रोल्पामा मतदाता नामावली भएका झक्कुप्रसाद सुवेदीले काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका छन्। 

माओवादीका तर्फबाट उम्मेदवार बनेका शाक्य, शर्मा र सुवेदी तीनैजनाले आफैँलाई मतदान गर्न पाएनन्। उनीहरूले आफ्नो मत आफूलाई हाल्न पाउने चाहना भए पनि नसकिएको प्रतिक्रिया दिए। 

काठमाडौँ क्षेत्र १ का उम्मेदवार शर्माले भने, “आफ्नो मत आफैँलाई दिन नपाउँदा खल्लो अनुभव भएपनि लाखौं मतदाताका बीचबाट राष्ट्र निर्माणको जिम्मेवारीमा रहेकाले खुशी नै लागेको छ।” 

आज बिहान मोरङबाट मतदान गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार हुन्। उनले आफूले आफूलाई मतदान गर्न नपाएको सन्दर्भमा भने, “जहाँ मतदान गरेपनि सबै आफैँलाई नै त हो।” 

सर्लाहीका मतदाता तथा राजपा नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुन्। उनले “कानुनी तथा व्यावहारिक कारण आज मतदान गर्न सकिएन, तर पनि म लाखौं मतदाताको बीचमा छु, त्यसैमा खुशी छु” भने। 

ललितपुर भैंसीपार्टीका मतदाता तथा विवेकशील साझा पार्टीका अध्यक्ष्य रविन्द्र मिश्र काठमाडौँ क्षेत्रं १ बाट उम्मेदवार हुन्। उनले पनि आफूलाई मतदान गर्न पाएनन्।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ–कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ । हरि लामिछाने/किरण भट्टराई /रासस

प्रकाशित: २१ मंसिर २०७४ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App