coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा ठीक ५ बजेबाट मतगणना

सिन्धुपाल्चोक– मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोस्रो चरणमा मतदान सकिनासाथ बिहीबार पाँच बजेदेखि मतगणना थाल्ने तयारी गरेको छ । मतगणनाको सबै तयारी पूरा भएको सिन्धुपाल्चोकमा पहिलो चरणमा मतदान भएको थियो ।
‘मतगणनाको सबै पूर्वतयारी सकेका छौँ,’ मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने, ‘बिहीबार ठीक पाँच बजेबाट मतगणना थाल्छौँ ।’ प्रतिनिधिसभा सदस्यको मतगणना थालेर २४ घण्टाभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने उनले बताए । उनका अनुसार त्यसपछि प्रदेशसभाको गणना थालेर अर्को २४ घण्टाभित्रै परिणाम सार्वजनिक गरिने छ ।

‘साताभित्रै समानुपातिको मतगणना सक्छौँ,’ उनले भने । दुईटा प्रतिनिधिसभा सदस्यको मतगणना एकै पटक दुई स्थानबाट थालिने छ । एक सिफ्टमा १२ कर्मचारी गणनामा खटाउने कार्यालयको तयारी छ । तीनदेखि चार सिफ्टमा गणकले लगातार मतगणना गर्ने छन् ।

एक पटकमा दुईटा मतपेटिका मिसाएर गन्ने तयारी गरेको कार्यालयले मतपेटिका छानेर गन्न पठाउने छुट्टाछुट्टै टोली बनाएको छ । ‘प्रतिनिधिसभै पिच्छे एउटा अधिकृतको टोलीले मतपत्र सर्टिङ गर्छ, अर्का अधिकृतको टोलीले गणना गर्छ,’ खनालले भने, ‘एक कर्मचारीले मितपत्रमा छाप लागेको चिह्न भनेपछि अरु दुई कर्मचारीले धर्सा तानेर मत गन्छन् । अर्का एक कर्मचारीले धर्सा लगाएको हेर्छन् ।’

प्रत्येक सिफ्टमा मतगणनाको समग्र व्यवस्थापकीय जिम्मा उपसचिव स्तरका कर्मचारीलाई दिइएको छ । मतगणनाको अनुगमन गर्न कर्मचारीको अर्को दुई समूह बनाइएको छ । मुख्य निर्वाचन अधिकृत खनालका अनुसार खोलेको मतपेटिकाबाट मतगणना नसकिँदासम्म कर्मचारी र उम्मेदवारका प्रतिनिधि परिवर्तन गरिने छैन ।

कार्यालयले प्रत्येक उम्मेदवारका दुई प्रतिनिधिलाई मात्र गणनास्थलमा जाने अनुमति दिएको छ । उम्मेदवार गणनास्थलमा प्रवेश गर्दा एक प्रतिनिधि बाहिरिनु पर्ने छ । ‘ठाउँ अभावमा धेरै प्रतिनिधि राख्न सक्ने अवस्था छैन,’ खनालले भने ।

मतपेटिका भण्डार गरिएको जिल्ला कृषि विकास कार्यालयमै मतगणना गरिने छ । सिसी टिभी र सुरक्षाकर्मीको कडा सुरक्षामा त्यहाँ मतपेटिका भण्डारण गरिएको छ । उक्तस्थललाई दलका प्रतिनिधिलेसमेत चौवीसै घण्टा पहरा दिइरहेका छन् ।

सबै उम्मेदवार, पार्टी प्रमुखलाई मोबाइलबाट मतपरिणाम थाहा पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । उसका हरेक पटक मिसाएर गनिएका मतपेटिकाको मतगणना सकिएपछि परिणाम सार्वजनिक गरिने छ । ‘मतगणना र परिमाण सार्वजनिक गर्दा प्रविधि अपनाइने छ,’ खनालले भने, ‘गणनास्थलको वरिपरी रहने डिसप्ले बोर्डमा सबैले उम्मेदवाहरुले प्राप्त गरेको मत देख्न सक्छन् ।’

कार्यालयले गणनास्थलमा तार जाली समेत लगाइसकेको छ । तारजालीभित्रको भित्री घेरामा गणककर्मचारी र बाहिर उम्मेदवारका प्रतिनिधि रहने छन् । प्रतिनिधिले मतपत्र र त्यसमा लगाइएको स्वस्तिक छाप देख्न सक्नछन्, छुन सक्दैनन् । मतगणनाको पूर्वतयारी अन्तर्गत कार्यालयले बुधबार उम्मेदवारहित सर्वदलीय बैठक आयोजना गरेको थियो ।

मतगणना, मत सदर र बदर तथा प्रतिनिधि खटाउने विषयमा उम्मेदवार र कार्यालयबीच १२ बुँदे सहमति भएको छ । सोही सहमतिका आधारमा मतगणना अघि बढाउन प्रतिवद्ध रहेको उम्मेदवारहरुले बताएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा कुल मतदाताको ६९ प्रतिशत १ लाख ५६ हजार ७ सय ४३ मत खसेको छ ।
  

प्रकाशित: २१ मंसिर २०७४ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App