coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको स्वर तथा संगीत रहेका गीतहरू संकलन गरिएको पुस्तक ‘कालजयी स्वरहरु भाग २’को लोकार्पण गर्दै गीतकारहरू । तस्बिर : दीपेन्द्र

काडमाडौं – ‘मधुमासमा यो दिलको बाग, नफूलीकन उजाड भयो’ रत्नसमशेर थापाले लेखेको यो गीत जब नारायण गोपालको हात पर्या त्यो गीत उनी आफैंले संगीतवद्ध गर्ने निर्णय गरे । नारायण गोपाल आफैंले संगीत गरेको गीत अनि उनको आवाज । जब रेकर्ड भएर बज्न थाल्यो, शब्द संगीतको मितेरीले गीत अभूतपूर्व बन्यो । अनि जब गाए तब यस गीतको ओज नै अलग  बन्यो । उनी हरेक गीतमा आफैं संगीत भर्दैनथे तर जुनमा भर्थे त्यो गीत विशेष हुन्थे । यही गीत मंगलबार उनको २७ औं स्मृति दिवसमा मदन गोपालले गाएर सुनाउँदा धेरैले नारायण गोपाललाई सम्झिए  । उनको स्वरमा उपस्थितले नारायण गोपालको स्वरको महसुस गरे।
 
नारायण गोपाल संगीत कोषले उनकै निवास स्थान महाराजगंजमा आयोजना गरेको कार्यक्रममा मदन गोपालका गीतले मात्र होइन, पछिल्लो पुस्ताका थुप्रै गायकले उनीद्धारा स्वरवद्ध गीत सुनाएर नारायण गोपालको स्मृति ताजा बनाए।

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए । सोही अवसरमा आधा दर्जन गीतकारलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो।

मथुरा प्रधान नारायण गोपालकै गीत गाउन लन्डनदेखि नेपाल आइपुगेकी थिइन्। उनले ‘बिर्सेर फेरि मलाई नहेर’भन्दै नारी स्वर कोष परिसरमा गुञ्जायमान बनाइन्। यसअघि रन्जित नेपालीले पनि एउटा गीत सुनाएका थिए। स्मृति सभामा नारायण गोपालका गीतका रचनाकारहरूलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेमा राष्ट्रकवि माधव प्रासद घिमिरे, चेतन कार्की, काली प्रसाद रिजाल, किरण खरेल, भैरवनाथ रिमाल ,यादव खरेल, दुर्गालाल श्रेष्ठ, कञ्चन पुडासैनी, मान बहादुर मुखिया, रत्न समशेर थापा, नगेन्द्र श्रेष्ठ आदि थिए । उनीहरूलाई समान २५ हजार नगदसहित काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्मानित गरेका थिए । त्यस्तै नारायण गोपालसँग लामो समय सहकार्य गरेका संगीतज्ञ सिके रसाइलीलाई विशेष सम्मान गरिएको थियो । उनलले पनि नगद २५ हजार र सम्मान पत्र पाए।
 
सम्मानित भएपछि बोल्दै गीतकार चेतन कार्कीले गीत गाएपछि संगीतकार र गायकले जति प्रसिद्धी पाएपनि गीतकार सँधै ओझेलमा पर्ने गरेको सुनाए। ‘राज्य व्यवस्थाले आजसम्म विर्सिएका बेला नारायण गोपाल संगीत कोषले गीतकार सम्झेर ठूलो लगाएको छ,’ उनले भने, ‘गीतको सृजना नभएसम्म गायकले के गाउँछन् अनि संगीतकारले के मा संगीत भर्छन ।’ त्यसैले पनि गीत संगीतलाई शिखरमा पु¥याउने गीतकारलाई विसर्न नहुने उनको तर्क थियो । २०२२ सालतिर पोखरामा भेट भएको स्मरण गर्दै उनले नारायण गोपाललाई पहिलो पल्ट गण्डकी क्षेत्रको गीत गाउन लगाएको दाबी गरे । कार्कीको रचना रहेको ‘बैनीको दया छ भने’ र ‘किन नबोलेको’ गण्डक क्षेत्रको भाकामा बनेका गीत हुन्।
 
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘गीत गंगा संगीत पाठशाला’ बनाउने नारायण गोपालको सपना पूरा गर्ने प्रतिवद्धता जनाए । ‘महानगरपालिकाले तत्काल एक करोड सहयोग गर्नेछ’  उनले भने ‘पछि पुनर्निर्माण गर्नुभन्दा पहिल्यै राम्ररी बनाउन अझै छलफल गरौं।

आफू निर्वाचित भएपछि भाषा, संस्कृति र संगीत क्षेत्रको प्रवद्र्धन योजना बनाइरहेको जानकारी दिदैं उनले त्यसको बजारीकरण गर्ने तयारी गरिरहेको बताए।
 
कार्यक्रममा नारायण गोपालका समकक्षी सिके रसाइलीले स्वर सम्राटसँग काम गर्दाका अनुभव सुनाएका थिए । ‘काम गर्दा निकै ठट्यौलो गर्ने उहाँको बानी थियो,’ रसाइलीले भने, ‘तर, भनेका बेला काम भएन भने चाहिँ सन्की हाल्ने स्वभाव थियो । यही कारण रेकर्ड गर्ने भनिएका धेरै गीत रेकर्ड नै हुन सकेनन् ।’ उनले  ‘प्रेमको माला’ र  अरुणा लामाका गीतमा संगीत भरेर बनाइएको एल्बम कोषलाई हस्तान्तरण गरेका थिए।
 
नारायण गोपालको सपना पूरा गर्न कोष हरतरहले लागि परेको कोषकी महासचिव उषा शेरचनले बताइन् । नारायण गोपालको निधनपछि उनकी पत्नी पेमला लगायका समूहले शेरचनसहितलाई कोषको जिम्मेवारी दिएर सपना पूरा गर्ने अभिभारा  पनि हस्तान्तरण गरेका थिए । पेमलाकै पालामा कोषले देखेका धेरै सपना पूरा नभए पनि पूरा हुने बाटोमा रहेको शेरचनले उल्लेख गरिन्।
 
कार्यक्रममा नारायण गोपालकी पत्नी पेमला गुरुवाचार्य र लेखक तथा समीक्षक प्रकाश सायमीले संकलन गरेका उनका गीतहरूको संगालो ‘कालजयी स्वरहरु भाग २’ को बिमोचन समेत गरिएको थियो।

प्रकाशित: २० मंसिर २०७४ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App