coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानेश्वरलाई जुट्यो २९ लाख रुपैयाँ

काठमाडौं- साउदी अरेबियाको जेलमा रहेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न २९ लाख रुपैयाँ संलकन भएको छ।

आर्थिक अवस्था निकै कमजोर रहेका भुसाल परिवारको गुजारा चलाउन सात वर्षअघि साउदी पुगेका थिए । ‘आमा अब हाम्रा दुःखका दिन सकिए’  भन्दै रोजगारीका लागि साउदी पुगेका ३६ वर्षीय स्थानेश्वर उतै जेलमा परेपछि परिवार तनावमा छ । आमा यमकुमारीले छोराको उद्धारका लागि गरेको अनेक प्रयास असफल भएपछि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले साढे तीन महिनादेखि चन्दा संकलन अभियान थालेको थियो ।

डेढ एक लाख रुपैयाँ खर्च गरी ०६७ असोज ६ गते रोजगारीका लागि साउदी पुगेका स्थानेश्वरले चलाएको गाडी दुर्घटनामा एक स्थानीयको मृत्यु भएपछि उनी जेल परेका हुन् । पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएपछि स्थानेश्वरले चलाइरहेको गाडी धकेलिएर अगाडि हिँडिरहेको कारलाई ठक्कर दिँदा स्थानीयको निधन भएको थियो। स्थानेश्वर साउदी पुगेको १० महिनामै उक्त घटना भएपनि परिवारले भने त्यसबारे निकै पछि जानकारी पाएको थियो।

सडक दुर्घटनापछि अदालतको फैसला नआउँदासम्म बाहिरै रहेका स्थानेश्वर पछिल्लो चार वर्षदेखि साउदीको जेद्दास्थित डाबान जेलमा रहँदै आएको त्यहाँस्थित नेपाली नियोगले उनको परिवारलाई जानकारी गराएको छ ।

इनोभेटिभ मेनपावरमार्फत साउदी गएका स्थानेश्वरलाई त्यहाँको रोजगारदाताले पछि सवारी चालक अनुमतिपत्र बनाइदिने प्रलोभन देखाएर गाडी चलाउन लगाएको थियो । साउदीको सवारी चालक अनुमतिपत्र बन्न नपाउँदै सडक दुर्घटनामा स्थानीयको निधन भएपछि उनलाई अदालतले दोषी करार गरेको हो । जेद्दास्थित नेपाली नियोगले उनको परिवारलाई दिएको जानकारी अनुसार साउदीका स्थानीय र उच्च अदालतले स्थानेश्वरले चलाएको गाडीबाट स्थानीयको निधन भएको ठहर गर्दै एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको  थियो ।

स्थानेश्वरको परिवारले उक्त रकम जुटाउन नसक्ने भएपछि पिएनसिसीको अगुवाइमा चन्दा संकलन थालिएको अध्यक्ष कुलप्रसाद कार्कीले बताए । उनका अनुसार स्थानेश्वर उद्धारका लागि हालसम्म २९ लाख रुपैयाँ संकलन भइसकेको छ । ‘ब्लड मनी’का लागि आवश्यक ४५ लाख रुपैयाँमध्ये २९ लाख रुपैयाँ जुटिसकेकाले अब स्थानेश्वर जेलमुक्त हुने सम्भावना बढेको छ,’ कार्कीले भने, ‘अपुग रकम जुटाउन पनि विभिन्न संस्थाले सहयोग गर्ने वाचा गरेका छन् ।’

स्थानेश्वर उद्धारका लागि आर्थिक संकलन गर्न वैदेशिक रोजगारीमा गएकाहरूको बढी योगदान रहेको छ । पिएनसिसीका अनुसार सबैभन्दा बढी रकम गैरआवासीय नेपाली संघले १२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै साउदीमा रहेका राजु साहिद (३३ हजार ६ सय १७ रुपैयाँ), साउदीकै हेमकुमार खड्का (१३ हजार सात सय ५५ रुपैयाँ) धेरै रकम सहयोग गर्नेमध्येका दाता हुन् ।

अदालतले तोकेअनुसार रकम मृतकका परिवारलाई बुझाउन नसके स्थानेश्वर आजीवन साउदीको जेलमा बस्नुपर्ने फैसला समेत अदालतले गरेको छ । ‘ब्लड मनी’ बुझाउन ढिला भए जुनसुकै बेला छोराले मृत्युदण्ड पाउने सम्भावना रहेको भन्दै घर परिवार चिन्तित छन् । अदालतले फैसला गरे अनुसारको रकम संकलन भइसकेपछि मृतककी पत्नीलाई हस्तान्तरण गरेर स्थानेश्वरलाई जेलमुक्त गर्ने तयारी गरिएको छ ।

पिएनसिसीका अध्यक्ष कार्कीले स्थानेश्वरको उद्धारका लागि अपुग रकम वैदेशिक रोजगारीको क्रममा जेल परेका डोल्मा शेर्पा, रामचन्द्र तिम्लिसेनालाई उद्धार गर्दा संकलन गरिएको रकमबाट प्रयोग गर्न सकिने बताउँछन् । शेर्पा र तिम्लिसेनालाई उद्धार गर्न संकलन गरिएको रकममध्ये करिब ६ लाख रुपैयाँ साउदीस्थित नेपाली दूतावाससँग रहेकाले उक्त रकम प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै मलेसियाको गैरआवासीय नेपाली संघले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको कार्कीले बताए ।

 

प्रकाशित: २० मंसिर २०७४ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App