८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ मतदाताको नयाँ चुनाव

दाङ- मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न घन्टौं समय लागेको थियो । मंगलबार पनि उस्तै भीडमा थिइन्, घोराहीकी मनकली पुन । लामो समय लाम बसेपछि बल्लबल्ल उनको हातमा मतदाता परिचयपत्र पर्‍यो। उनी भन्दै थिइन्, ‘बल्ल भोट हाल्ने भइयो।’

यसअघिका निर्वाचनमा उनी मतदाता हुन उमेरले योग्य थिइनन् । अरूले मतदान गरेको हेर्न भने नजिकको मतदान केन्द्रमा पुगेकै हुन्थिन् । ‘यसअघिका चुनावमा मत हाल्न उमेर पुगेको थिएन,’ उनले भनिन्, ‘तर भोट हालेको हेर्न मतदान केन्द्रमा गइरहन्थें, रमाइलो लाग्थ्यो ।’

उनीसँगै आएकी रुद्रा बाठा पनि मतदाता परिचयपत्र हात परेपछि दंग थिइन् । उनी यसअघिका निर्वाचनमा पनि मतदानका लागि योग्य थिइन् । तर मतदाता परिचयपत्र बनेको थिएन । यसको कारण हो, निर्वाचनको कुनै महŒव लाग्दैनथ्यो उनलाई । तर अहिले उनलाई निर्वाचनको महŒव महसुस भयो । घरदैलोमा पुगेका उम्मेदवार तथा साथीसंगीले पनि निर्वाचनको महŒव बताइदिएपछि उनलाई पनि मतदान गर्न रहर जाग्यो । उनले पहिलो पटक प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्दैछिन् । ‘पहिला त चुनाव भनेको केही हैन जस्तो लाग्थ्यो,’ मतदाता परिचयपत्र हातपरेपछि उनले भनिन्, ‘अहिले त भोट हाल्ने दिन कहिले आउला भन्ने जस्तो भइसक्यो ।’ उनको बुझाइमा निर्वाचन नेताहरुको स्वार्थसिद्ध मात्रै लाग्थ्यो । आफूहरुको भोटले नेताहरु माथि पुग्ने र आफूहरुलाई प्रयोग गर्ने उनको पुरानो मानसिकता अहिले तोडिएको छ । ‘नेताहरुले चुनाव भएपछि विकास आउँछ भन्ने विश्वास दिएका छन्,’ उनले भनिन्, ‘विकास आउँछ भने भोट हाल्छु भनेर यसपालि सहभागी हुन थालेकी हुँ ।’

बिहीबार हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको उत्साह आममतदातामा खुबै देखिएको छ । स्थानीय तहमा जस्तै मतदाताहरु निर्वाचनमा मत हाल्न आतुर देखिएका छन् । ‘हाम्रै भोटले गाउँमा विकास आउँछ रे,’ घोराहीका वीरबहादुर बुढाले भने, ‘विकासका लागि नै मेरो भोट हुनेछ ।’ उनी पनि नयाँ मतदाता हुन् । 

हरेक निर्वाचनसँग मतदाताको अपेक्षा विकास नै जोडिएको हुन्छ । निर्वाचनबाट चुनिने प्रतिनिधिले गाउँमा कुनै न कुनै विकासको योजना ल्याउँछन् भन्ने विश्वासमा मतदाताहरु हुन्छन् । 

नयाँ मतदाताले भने आसन्न निर्वाचनलाई  विकासको अपेक्षासँगै मतदानको नयाँ अनुभव लिने ठूलो अवसरका रुपमा लिएका छन् । मंगलबार घोराही क्षेत्रका मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र लिन पुगेका नयाँ मतदाता परिचयपत्र हातमा पर्नासाथ खुसी देखिन्थे ।

‘पहिलोपटक मतदान गर्दैछु,’ युवा किरण केसीले भने, ‘पहिलोपटक चुनावमा भोट हाल्न पाउने भएकाले पनि पहिलो अनुभव संगाल्न हतार भएको छ ।’

नयाँमा मात्रै हैन, अन्य मतदातालाई पनि चुनावी रंगले छोएको छ । स्थानीय तह निर्वाचनमा मतदान गरेको बताउने रामपुरका कैलाश पाण्डेले थप जनप्रतिनिधि चुन्ने सुनौलो दिनको पर्खाइमा रहेको बताए । ‘स्थानीय तहको निर्वाचनमा हाम्रै मतले गाउँगाउँमा सरकार स्थापित भए र जनप्रतिनिधि चयन भए,’ उनले भने, ‘अब फेरि हाम्रै मतले थप जनप्रतिनिधि चुन्ने अवसर आएको छ । त्यसैले मत हाल्न आतुर छु ।’

तीन निर्वाचन क्षेत्र रहेको दाङमा १ सय ५४ मतदान केन्द्र छन् । दाङमा ३ लाख ३८ हजार ९ सय ५३ कुल मतदाता छन्। जिल्लामा स्थानीय निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा ४७ हजार ७ सय ८१ मतदाता थपिएका छन्।  

प्रकाशित: २० मंसिर २०७४ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App