coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘पहिचान खोज्दै राजनीतिमा’

काठमाडौं-अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेबित्तिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिंकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् । उनी भन्छिन्, ‘वर्तमान अवस्थामा राजनीतिप्रति युवाको सकारात्मक धारणा बनाउन र तेस्रोलिंगीको अधिकार सुनिश्चित गराउन राजनीतिमा लागेको हुँ ।’
पिंकी नयाँ शक्तिमा आबद्ध छिन् । नीलहीरा समाजकी अध्यक्षसमेत रहेकी पिंकी राजनीतिमा कदम राख्ने पहिलो तेस्रोलिंगी हुन् । ‘जसरी एउटा महिला र पुरुष बाँच्न पाउने पढ्न पाउने र समाजमा बस्न पाउने अधिकार पाउँछ, त्यस्तै तेस्रोलिंगीले पनि समान अधिकार पाउनुपर्छ,’ पिंकीले भनिन्, ‘समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउन र समाजमा महिला र पुरुषबाहेक अर्को पनि लिंग छ भन्ने बुझाउनकै लागि राजनीतिमा प्रवेश गरें ।’ यौनिक तथा अल्पसंख्यकका लागि सबै क्षेत्रमा सहज बनाउने उनको प्रतिबद्धता छ ।
‘समाजमा मारुनी र सिंगारु कल्चर उदाहरण हो, जहाँ पुरुषले महिलाको वस्त्र लगाएर नाच्छन् । त्यस्तै रत्यौली कल्चरमा महिला पुरुष बनेर नाच्छन् । यसले तेस्रोलिंगीको पहिचान गरेको उनी बताउँछन् । जसरी पुरुष र महिला जन्मिछन् त्यस्तै गरी तेस्रोलिंगी र समलिंगीको जन्म हुन्छ भने उनीहरूले महिला पुरुषसरहको अधिकार पाउनुपर्छ। आफ्नो पहिचान बताउँदा लज्जास्पद नहुने वातावरणको सिर्जना गर्न समाजमा जनचेतना फैलाउन पनि राजनीतिमा लागेको उनले बताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार दिलाउन तेस्रोलिंगीको साझा संस्था नीलहीरा समाजले पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । ‘समुदायलाई आफ्नो पहिचान लुकाएर बस्दा झन् बढी डिप्रेसन हुन्छ । योे समुदायलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन संस्थाले केही सहयोग गरिरहेको छ,’ समलिंगी विश्वराज अधिकारीले भने, ‘अब राजनीतिबाटै अधिकार स्थापित गराउन पिंकीलाई समर्थन गरेर अघि बढ्दैछौं ।’

अन्तिम विकल्प ‘यौन व्यवसाय’
– बबी तामाङ, तेस्रोलिंगी
छोरो भएर जन्में । हुर्किंदै जाँदा छोराको भूमिका निर्वाह गर्न सकिनँ । सबै चाहना छोरीको जस्तो भयो । छोरीकै कपडा लगाउन थालें । छोरा मान्छे मन पर्न थाल्यो । घरपरिवार तथा समाजमा गिज्याउने पात्र बनाए । हेला र गलत दृष्टिकोणले हेर्न थाले । प्रकृतिले त्यस्तो बनायो, यसमा हाम्रो के दोष ?
पढ्दै थिएँ, शिक्षक र साथीको हेलाले पढ्न छोड्नुप¥यो । अभिभावकले गाली गरेर घरबाट निकाले । कहाँ जाने के गर्ने कसैले काम दिँदैन । सरकारले पनि वास्ता गरेन । अनि अन्तिम विकल्प बन्यो ‘देहव्यापार’ ।
एक÷दुई हजार रुपैयाँका लागि चिसोमा बस्न कसलाई रहर लाग्छ र ? तर बाँच्नलाई खानलाउन त प¥यो नि । काम गर्ने अवसर पाए गथ्र्यौं । मौका पाउनले गायक, मोडल, व्यवसायी बनेका छन् ।
सरकारले पनि तेस्रो लिंगीका लागि केही सोच्नुपर्छ । आफैंलाई बेचेर जीवन चलाउँदा नि सुख्ख छैन । पुलिसले लैजान्छ, हप्ता दिन राखेर दसपन्ध्र हजार धरौटीमा छोड्छ । फेरि त्यो पैसा तिर्न सडकमै जानुपर्छ । सरकारले केही व्यवस्था गरिदिए यौन पेसा त्याग्ने थिएँ । पत्रकार हामीसँग ग्राहक बनेर आउँछन् । हाम्रो कामका बारेमा यस्तो गर्छन्, उस्तो गर्छन्, समाज बिगार्छन् भनेर समाचार लेख्छन् । तर समस्या समाधान के गरेर हुन्छ भनेर लेख्दैनन् ।

प्रकाशित: २० मंसिर २०७४ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App