८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पले लुटेको विद्यार्थीको हाँसो फर्कियो

खुम्जुङ (सोलुखुम्बु)- समुद्रिसतहदेखि तीन हजार सात सय ९०  मिटर उचाइमा रहेको खुम्जुङ गाउँ विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा छ ।  सगरमाथाको चिसो हावा ठोक्किन खुम्जुङ आइपुग्छ । यहाँ वर्षैभरि हिउँ देख्न पाइन्छ । प्राकृतिक र पर्यटकीय दुवै हिसाबले रमणीय यो गाउँ पनि २०७२ वैशाख १२ को भूकम्पबाट अछुतो रहन सकेन ।
भूकम्पले यहाँका घरमात्र होइन शैक्षिक संस्था पनि प्रभावित भए । खुम्जुङ माध्यमिक विद्यालयको भवन पनि भूकम्पले भत्कायो । सम्भवतः नेपालको उच्च स्थानमा रहेको एकमात्र माध्यमिक विद्यालय हो यो ।  
विद्यालय भवन भत्किएपछि विद्यार्थीको पढाइ पनि प्रभावित भयो । भूकम्पका कारण झन्डै अढाई वर्षजति यो विद्यालयमा पढ्ने विद्यार्थीले समस्या भोग्नुप¥यो । विद्यालयका कक्षा कोठा भत्किएपछि विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य भए ।
शिक्षक र विद्यार्थीले विद्यालय भवन अभावमा भोग्दै आएको समस्या शुक्रबारदेखि भने हटेको छ । विद्यालय भवन पहिले झै ठडिएको छ । नयाँ भवन पाएसँगै विद्यार्थी, शिक्षक र अभिभावकको मुहारमा खुसी फर्किएको छ । डोल्मा शेर्पा चारबाट पाँच कक्षामा  उक्लिएकै बेला भूकम्प आयो । उनले पढ्ने कक्षाकोठासँगै अन्य कोठा भूकम्पको धक्काले भत्किए । भवन पाउन डोल्मा र उनका साथीले झन्डै अढाई वर्ष कुर्नुप¥यो । ‘भूकम्पले कक्षाकोठा भत्किएपछि धेरै रोएँ, रोयौं’ उनले भनिन्, ‘अहिले नयाँ भवन पाउँदा निकै हर्षित  छु, भएका छौं ।’ हुन पनि हो नयाँ विद्यालय भवन पाएपछि डोल्माजस्तै अन्य विद्यार्थी फुरुङ देखिन्थे ।
अढाई वर्षको निरन्तर प्रयासपछि नयाँ भवन बनाएर शुक्रबार विद्यालय व्यवस्थापन पक्षलाई हस्तान्तरण गरियो । नयाँ भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीले सांगीतिक कार्यक्रम पस्किए ।  ‘भूकम्पले विद्यालय भवन भत्किएसँगै विद्यार्थीमा धेरै निराशा देखियो । हामीले विद्यार्थीलाई पटकपटक सम्झाएर अध्ययनमा फर्कायौं,’ त्यो कहालीलाग्दो क्षणको स्मरण गर्दै  प्रधानाध्यापक शम्भुप्रसाद बाँस्तोलाले भने, ‘धेरै पछि विद्यार्थीको मुहारमा खुसी देखेको छु । भूकम्पल खोसेको हाँसो, नयाँ भवन बनेसँगै विद्यार्थीमा फर्कियोे ।’
पहिलोपटक सगरमाथा आरोहण गर्ने विदेशी नागरिक सर एडमन्ड हिलारीको अग्रसरतामा  २०१८ सालमा सो विद्यालय स्थापना गरिएको हो । उक्त विद्यालय अहिले नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा सञ्चालन हुँदै आएको छ ।
‘भूकम्पले भवन ढलेपछि विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्याले धेरै सतायो,’ प्रअ बाँस्तोलाले भने, ‘हिमाली क्षेत्रमा काम गर्दै आएको हिमालयन ट्रस्ट नेपालले  विद्यालय भवन पुनर्निर्माणको जिम्मेवारी लियो र त्यो पूरा गरेको छ ।’ उनका अनुसार  ट्रस्टको १ करोड २४ लाख २२ हजार दुई सय १८ रुपैयाँ र समुदायको तर्फबाट २० लाख ६९ हजार ९ सय ८१ गरी १ करोड ४४ लाख ९२ हजार १ सय ९९ रुपैयाँको लागतमा पाँच कोठे भवन र पर्खाल  निर्माण गरिएको छ ।
ट्रष्टका अध्यक्ष पासाङ दावा शेर्पाले भूकम्पले प्रभावित उच्च हिमाली क्षेत्रका विद्यालय पुनर्निर्माणमा संस्था जुटेको बताउँछन् । ‘भौगोलिक अवस्थाले हिमाली भेगमा यातायातको सहज पहुँच छैन । सरकारको समेत राम्रो उपस्थिति छैन्,’ उनले भने, ‘शिक्षाको ज्योतिबाट कुनै विद्यार्थी वञ्चित हुन नपरोस् भनेर नै विद्यालय पुनर्निर्माणमा जुटेका हौं ।’ ट्रस्टले भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुका उपल्लो र तल्लो भेगका गरी १५ वटा विद्यालय भवन पुनर्निर्माण गरिसकेको जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले २०७२ को भूकम्पले सोलुखुम्बुका विद्यालयका १ हजार ३३ कक्षाकोठा पूर्ण रुपमा क्षति पुगेको बताए । ‘भूकम्पले हिमाली भेगका धेरै विद्यालयका भवन भत्कायो । जसका कारण पठनपाठनमा धेरै असर प¥यो,’ उनले भने, ‘भौगौलिक विकटता र  महँगो निर्माण सामग्रीका कारण विद्यालय भवन पुनर्निर्माणमा समस्या भएको हो ।’ सोलुखुम्बुमा २ सय ७० सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय छन् ।
 

पुनर्निर्माणमा बजेट बाधक
प्रमुख जिल्ला अधिकारी राईका अनुसार हिमाली जिल्लामा सरकारी बजेटले मात्र विद्यालय भवन पुनर्निर्माणमा गर्न सकिने अवस्था छैन । ‘सरकारले हिमाली जिल्लामा चारकोठे विद्यालय भवन बनाउन ६३ लाख रुपैयाँ बिनियोजन गरेको छ । यो रकमले निर्माण सामग्री ओसार्नसमेत पुग्दैन,’ उनले भने, ‘त्यसैले दाताको मुख ताक्नुको विकल्प नै छैन् ।’ पाँच वर्षभित्र भूकम्पले भत्किएका विद्यालय भवन बनाउने सरकारी लक्ष्य अनुरुप नै काम भइरहेको उनले बताए ।
उनका अनुसार सरकारीसँगै विभिन्न दातृ निकायको सहयोगमा भूकम्पले लडेका विद्यालय भवन ठड्याउने प्रयत्न भइरहेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार भूकम्पको ३२ महिनामा ५० प्रतिशत हाराहारीमा विद्यालय भवन बनिसकेका छन् ।
ट्रस्टका सहसचिव डा. मिङमा नोर्बु शेर्पा दुई वर्षको अवधिमा सोलुखुम्बुमा १५ वटा विद्यालय भवन पुनर्निर्माण र एउटा विद्यालय भवन मर्मत गरिएको बताउँछन् । ‘एक वर्षसम्म भूकम्पले भत्किएका विद्यालयको अध्ययन ग¥यौं,’ उनले भने, ‘भौगोलिक हिसाबले विकट स्थानका विद्यालयलाई  छनोट गरेर भूकम्प प्रतिरोधात्मक भवन बनाएका हौं ।’ ट्रस्टका अनुसार खुम्जुङ मावि, थामी निमावि, मोञ्जो निमावि, फोर्चे प्राविलगायत १५ वटा विद्यालय भवन यही डिसेम्बर महिनाभित्रै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने तयारी छ ।
खुम्जुङ माध्यामिक विद्यालयको नवनिर्मित भवन शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले भने, ‘२०७२ सालको भूकम्पले मानवीय क्षति मात्रै होइन्, धेरै स्थानमा भौतिक क्षतिसमेत पु¥यायो । सरकार भत्किएका विद्यालय भवन निर्माणमा लागिरहेको छ ।’ उनले हिमाली जिल्लाका विद्यालय भवन पुनर्निर्माणमा सबैले चासो दिनुपर्ने बताए  । ट्रस्टका अध्यक्ष शेर्पाले विद्यालय भवन प्रधानाध्यापक बाँस्तोलालाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित: १९ मंसिर २०७४ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App