च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति समुह ‘ए’देखि ‘डी’सम्मका ८ खेलहरु हुँदैछन्। प्रतियोगितामा पोर्चुगीज क्लब बेन्फिकाले स्विस क्लब एफसी बासल, इङ्लिस क्लब, म्यानचेष्टर युनाइटेडले रुसको सिएसके मस्को, स्कटल्याण्डको सेल्टीकले बेल्जियमको एन्डरलेक्ट र जर्मन क्लब वार्यन म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।
त्यस्तै इङ्लिस क्लब चेल्सीले ला लिगा टोली एथ्लेटिकको मड्रिड, इटालीयन क्लब रोमाले अजरबैजानको एफ.के काराबाग,ला लिगा क्लब बार्सिलोनाले पोर्चुगलको स्पोर्टिङ लिस्बोन र फ्रान्सेली क्लब ओलम्पियाकोसले इटालीको युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ।
प्रतियोगितामा समूह ‘ए’ मा म्यानचेष्टर युनाइटेड १२ अंकका साथ शीर्ष स्थानमा छ। युनाइटेडलाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित आवश्यक छ। त्यस्तै समुह ’बी’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) १५ अंकका साथ शीर्ष स्थानमा छ।
आजको यी २ टोलीको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। किनकि फ्रान्सेली लिग वान को शीर्ष स्थानको टोली पीएसजी र जर्मन बुन्डेसलिगाको नम्बर एक टोली वार्यन म्युनिख भएका कारणले पनि यो खेललाई महत्वपुर्ण मानिएको हो।
यो समूहबाट पीएसजी र वार्यन म्युनिख यसअघि नै नक आउट चरणमा प्रवेश गरिसकेका छन्। यता समुह ‘सी’ मा चेल्सी १० अंकका साथ शीर्ष स्थानमा कायम छ। त्यस्तै समुह ‘डी’ मा ११ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा कायम छ भने युभेन्टस दोस्रो सथानमा कायम छ। प्रतियोगितामा समुह ‘सी’ को चेल्सी र समूह ‘डी’को बार्सिलोना यसअघि नै प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरिसकेका छन्।
प्रकाशित: १९ मंसिर २०७४ ०३:४३ मंगलबार