coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तगारोहरु तोड्न दाहालको भरमग्दुर प्रयास

चितवन– पार्टी एकीकरण नै गर्ने सहमतिसहित बाम गठबन्धन गरेर चुनाबमा जुटेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चितवनको माडीमा आयोजित चुनाबी सभालाई संयुक्त रुपमा सम्बोधन गरे । दाहालको चुनाबी क्षेत्रमा आयोजित सभालाई सम्बोधन गरेर ओली हिँड्न थाल्दा दुवैले कसिलो अंकमाल गरे ।
    त्योबेला दाहालको अनुहारमा एक प्रकारको सन्तोष झल्कन्थ्यो । चितवन क्षेत्र नं. ३ बाट बाम गठबन्धनको उम्मेदवार बनेर कात्तिक १६ गते भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दा दाहाल केही चिन्तित देखिन्थे । त्योबेला उनले भनेका थिए ‘तँ चितवन नजा घेरा बन्दी गरेर हराउँछन् । अन्य सुरक्षित क्षेत्रमा जा भनेर सल्लाह दिने थुप्रै थिए । तर आइयो त चितवन । अब हराउने जिताउने जिम्मा तपाइँहरुकै ।’
    चितवनबाट उम्मेदवार भइरहँदा दाहाललाई जित्न सजिलो नहुने अड्कल सबैले लगाएका थिए । दाहाल बाम गठबन्धनका उम्मेदवार हुने भएपछि चितवन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई समर्थन गरेर उम्मेदवारी नै दिएन । जुन कांग्रेस स्थानीय चुनावमा माओवादीसँग साथसाथै थियो । भरतपुरमा कांग्रेसकै बलले माओवादीले मेयर जितेको थियो ।
    स्थानीय निर्वाचनका बेला माओवादी र एमालेबीच सम्बन्ध राम्रो थिएन र चितवनमा त झनै तिक्ततापूर्ण अवस्था थियो । एमालेले भरतपुर महानगरपालिकाको मेयर जित्दै गर्दा माओवादीले मतपत्र च्यातेपछि दोह¥याएर चुनाब भयो । पछिल्लो पटक मतदान हुँदा माओवादीले र कांग्रेसले सत्ताको दुरुपयोग गरेर चुनाब जितको एमालेको आरोप थियो ।
यस्तो सम्बन्धको एमालेको साथ लिएर कांगे्रस समर्थित राप्रपाका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दा दाहालका सामु ठूलै चुनौतीहरु थिए । त्यसमाथि सशस्त्र संघर्षका बेला माओवादीले यात्रु बसलाई लक्षित गरी बम विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको घटना स्थल बाँदरमुढे दाहालकै क्षेत्रमा पर्छ ।
    यस्ता चुनौतीहरु लिएर प्रतिस्पर्धा गर्दा सो क्षेत्रमा पछिल्लो समय माओवादीको सांगठानिक अवस्था पनि कमजोर नै देखिएको थियो । तर आइतबार माडीमा चुनाबी सभा विसर्जन गर्दै गर्दा दाहालले सुरुका धेरै चुनौतीहरुलाई पनि साम्य गराउँदै लगेको आभास दिएका छन् । एमालेका कार्यकर्तासँगको तिक्तता हाटउन दाहालले यो गठबन्धन चुनाबका लागि मात्रै नभएर पार्टी नै एकीकरण गर्ने हो भनेर विश्वसा दिलाउन खोजे ।
    उम्मेदवार मनोनयन दर्ता गर्नेभन्दा अघिल्लो दिन नै चितवनमा माओवादी र एमालेको संयुक्त पार्टी एकता संयोजन समिति निर्माण गरे । सभामा बोल्दा मदन भण्डारी जिवित रहँदा नै एकताको विषयमा छलफल गर्न सुरु गरेको बताउँन थाले । भरतपुर महानगरको चुनाबका विषयले माओवादी र एमालेबीच तिक्ततापूर्ण सम्बन्ध थियो ।
तर दाहाललाई पहिलो सभादेखि नै भतरपुरमा मेयर पदमा एमाले उम्मेदवार रहेर पराजित भएका देवी ज्ञवालीले साथ दिए । मंसिर ५ गते भरतपुरमा र आइतबार माडीमा भएको ठूला चुनाबी सभामा ओली नै सहभागी भएर दाहालको पक्षमा मत मागे । मंसिर ५ गते भरतपुरमा माधव नेपाललेसमेत दाहालका लागि मत मागेका थिए । दाहाल पनि नेपालका लागि मत माग्न शनिबार काठमाडौं गए ।
एमालेसँगको सम्बन्धमा समस्या नरहेको दाहालको बुझाइ छ । दाहालको लागि समस्याको विषय बनेको बाँदरमुढे घटनाको पनि केही न केही व्यवस्थापन भएको छ । आइतबार माडीमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्नुअघि दाहालले सो घटनामा परेर घाइते भएका व्यक्ति र मृत्यु भएका व्यक्तिका परिवारलाई भेटेर तीन बुँदे सहमति गरेका छन् ।
विस २०६२ सालको जेठ २३ गते बाँदरमुढेमा विष्फोट भएपछि तत्कालै दाहालले सो घटना ‘जनयुद्धकालकै ठूलो गल्ती’ भएको भन्दै क्षमा मागेका थिए । तर उपयुक्त समयमा माडी नै गएर पीडितलाई नै भेटेर माफी माग्ने बाचा बने पूरा भएको थिएन । यसअघि कात्तिक १८ मा पनि दाहाल माडी गएका थिए । त्यो बेला बाँदरमुढे घटना पीडित संघर्ष समितिका तर्फबाट राखेको १२ बुँदे माग पूरा गर्ने वाचा दाहालको थियो ।
तर पीडितसँग सँगै बसेर छलफल र सहमति गर्ने वातावरण भने बनेको थिएन । संघर्ष समितिसँग कुरा नमिल्ने देखेपछि दाालले आइतबार भने समितिभन्दा बाहिरका पीडित परिवारसँग तीन बुँदे सहमति गरेका छन् । जसमा राहत र रोजगारीको विषय प्रमुख छ । संघर्ष समितिले भने राहतका साथै दोषीलाई कराबाही र न्यायको माग गर्दै आएको छ । दाहालले पीडितका परिवारसँग गरेको समहतिप्रति संघर्ष समितिले आपत्ति जनाएको छ ।
माडीमा सो घटनामा पीडित भएका व्यक्तिहरुसँग सहमति गरेपछि दाहाल सभामा बोल्दा केही भावुक भए । उनले घटना भएको दिन सम्झे । परिवारसँग रहेको बेलामा सो घटना भएको सुनेपछि खाना पनि नखाएको र रातभर नसुतेको भनेर बोल्दाबोल्दै केही बेर रोकिन पुगे । आफूले संघर्ष समितिसँग नै सहमति गर्न खोजे पनि ‘यो घटनालाई मागी खाने भाँडो बनाएको र राजनीति गरेको हुँदा सहमति नभएको’ आरोप दाहालले लगाए ।
दाहाल आइतबारपछि बाँदरमुढे घटनाको पनि थोरै धेरै व्यवस्थापन भएको विश्वासमा छन् । यसका साथै दाहालले प्रतिस्पर्धी उम्मेदवार पाण्डेविरुद्ध एकपछि अर्को धक्का दिने काम पनि गरेका छन् । कात्तिक १८ गते माडी जाँदा उनले पाण्डकै पार्टी राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई पार्टीमा भित्राएका थिए । यो क्रम आइतबारसम्म जारी नै थियो ।
चितवन क्षेत्र नं. ३ मा विक्रम पाण्डेलाई समर्थन गरेको पार्टी नयाँ शक्ति पार्टी नोपलका केन्द्रीय सचिवालय सदस्य तथा सो पार्टीका समानुपातिक उम्मेदवार दानबहादुर तमाङलाई दाहालले माओवादीमा भित्राए । तामाङ ७० सालको संविधान सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा एमालेका तर्फबाट उम्मेदवार थिए । सो क्षेत्रमा तामाङको राम्रै प्रभाव छ ।
आइतबारको सभामा दाहालको पक्षमा विक्रम पाण्डकै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्तिकका महामन्त्री तथा उद्योग राज्य मन्त्री रेशम लामाले नै पाण्डेको विरोध गर्दै दाहालका लागि मत मागे । यी घटना क्रमहरुले दाहालका लागि सुरुवातमा जे जति चुनौतीहरु थिए ति धेरै हदसम्म हट्दै गएको आभास नभएको पनि हैन । तर राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पाण्डेको चुनौती आफैँमा चानचुनेको भने छैन ।
जिल्ला र क्षेत्रको पहिलो दल कांग्रेसको समर्थन रहेका पाण्डे आफैँ पनि लोकप्रिय व्यक्ति हुन् । राप्रपाको खासै संगठन नभए पनि निरञ्तर स्थानीयको सम्पर्कमा रहेर पाण्डेले ७० सालको संविधान सभा सदस्य निर्वाचन चितवनको तत्कालीन क्षेत्र नं. ५ बाट जितेका हुन् । स्थानीय तहको गठबन्धन तोडेका कारण दाहालसँग जिल्लाका कांग्रेस र सो पार्टीका मतदाताहरु रुष्ट छन् । त्यसैले कांग्रेसको मत पाण्डे बाहिर जाने सम्भावना छैन ।
दाहाललाई एमाले अध्यक्ष ओलीको आइतबारको अंगालो जस्तो कसिलो साथ चितवन क्षेत्र नं. ३ का एमालेका कार्यकर्ता र मतदाताको पनि रहनैपर्ने हुन्छ । चितवन क्षेत्र नं. ३ मा कूल एक लाख २५ हजार मतदाता छन् । मंसिर २१ गते हुने निर्वाचनले दाहालले चुनौती चिर्न सकेको नसकेको फैसाला गर्दै छ ।

प्रकाशित: १८ मंसिर २०७४ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App