coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार अभ्यास खेलमा केन्यामाथि ६ विकेटको विजय हासिल गरेको छ ।
ललित भण्डारीले चार विकेट लिएपछि अबुधाबीस्थित नर्सरी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र जोड्न सकेको थियो । दीपेन्द्रसिंह ऐरीले ४६ तथा कप्तान शरद् भेषावकरले अविजित ३१ रन जोडेपछि १ सय ११ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
शुक्रबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले अमेरिकालाई ५ विकेटको नतिजा सुम्पिएको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले मिश्रित नतिजा निकालेको थियो । काठमाडौंमा नै वर्षाले प्रभावित बनेको पहिलो खेलमा केन्या डर्कवर्थ लुइस पद्धतिका आधारमा ५ विकेटले विजयी भएको थियो । केन्यासँग पराजित भएपछि शीर्ष चारमा रहेर विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कमजोर बनेको थियो । दोस्रो खेलमा ७ विकेटको नतिजा निकाल्दै नेपालले सम्भावना कायम राखे पनि २ महिनाअघि हङकङसँग १ खेल बराबर चए पनि अर्काे खेल गुमाएपछि नेपालले सीधै विश्वकप छनोट प्रतियोगिता खेल्ने मौका गुमाएको थियो ।
नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको खेलमा बुधबार युएईविरुद्ध खेल्दै छ । जुन खेल नेपाल र युएई दुवैका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । प्रतियोगिताको छैटौं चरणका खेल सकिँदा नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ भने ६ अंक जोडेको युएई अंकतालिकाको पुछारमा छ ।
ओपनर रुसब पटेल र एलेजउमा ओबान्डाले केन्यालाई राम्रो सुरुआत दिए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । रुसब र एलेजउमाले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । छैटौं ओभर लिएर आएका करण केसीले चौथो बलमा एलेजउमालाई शक्ति गौचनमार्फत क्याच गर्दै साझेदारी तोडेका थिए । तगत्तै अर्को ओभरमा सागर पुनले रुसबलाई एलबिडब्लु आउट गरेपछि केन्याले निरन्तर विकेट गुमायो । गुरदीप सिंह २२ र नेल्सन ओधिएम्बोले १० रन जोड्नुबोहक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका ललित भण्डारीले १० ओभरमा १ मेडन राख्दै ४६ रन दिएर ४ विकेट लिँदा सन्दीप लामिछानेले ३.२ ओभरमा ५ रन दिएर २ विकेट लिए । करण, सागर र आरिफ शेखको नाममा १÷१ विकेट रह्यो ।
नेपालका ओपनर दिलीप नाथ शून्य र सागर १ रन बनाएर पवेलियन फर्किएपछि १.४ ओभरमा नेपाल २–३ को स्थितिमा थियो । त्यसपछि अर्का ओपनर शरद् भेषावकर र अनिलकुमार शाहले नेपालको इनिङ उकासेका थिए । अनिल १३ रन बनाएर पवेलियन फर्किएपछि शरद् र दीपेन्द्रसिंहले चौथो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । दीपेन्द्रसिंह ४६ रन बनाएर रनआउट हुँदा शरद् ३१ रनमा अविजित रहे । अरिफले अविजित ४ रन जोडे ।

प्रकाशित: १८ मंसिर २०७४ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App