७ वैशाख २०८१ शुक्रबार
राजनीति

शीर्ष नेतालाई चुनौती

काठमाडौं- मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरू चुनौतीको चाङ पन्छाउने अन्तिम दौडमा जुटेका छन् । सोमबार राति १२ बजेपछि मौनअवधि सुरु हुने भएकाले उनीहरूले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् ।
गठबन्धनपछि दलभित्र देखिएको असन्तुष्टि, आफ्नैबाट हुने घातअन्तरघात, नयाँ दलप्रति आकर्षित युवाजमात र हरेक निर्वाचनमा अदलबदल हुने ‘न्युट्रल मतदाता’ ले गर्दा यसपालि पनि कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका शीर्षनेतालाई विजयी बन्न सजिलो नभएको विश्लेषक बताउँछन् ।
 
यिनै चुनौतीबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली झापा–५, पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं–२, पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम–१, पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ इलाम–२, कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा–३, कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी– , पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल चितवन–३ र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट मैदानमा छन् । यसैगरी, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२, राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर महोत्तरी–२, राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो धनुषा–३ बाट चुनौतीका चाङ पन्छाउँदै प्रचारप्रसारमा व्यस्त छन् ।


देउवालाई बिरासत जोगाउने चिन्ता

२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यसपटक आफ्नो बिरासत जोगाउन लागिपरेका छन् । देउवालाई यसपालि वाम गठबन्धनका माओवादी केन्द्रका खगराज भट्टले चुनौती दिइरहेका छन्  ।
देउवाले लोकतन्त्र र विकासका लागि जिल्लाका मतदातासमक्ष मत मागिरहेका छन् । ‘अरुले जिते माननीय मात्र हुन्छन्, मैले जिते प्रधानमन्त्री हुन्छु,’ आइतबार जोगबुढाको परशुराममा आयोजित जनसभामा उनले भने । वाम गठबन्धनका नाममा माओवादी र एमाले एकजुट भएकाले नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र जोगाउने जिम्मा नेपाली कांग्रेसको काँधमा आएको उनको भनाइ छ । माओवादी केन्द्रका भट्ट देउवासँग तेस्रोपटक चुनावी मैदानमा छन् । भट्टले देउवाले गर्न नसकेको डडेल्धुराको विकास आफूले गर्ने भन्दै मतदातासँग मत मागिरहेका छन् ।
२०६४ सालको संविधानसभा चुनावमा भट्ट  १ हजार ३ सय ६८ मतान्तरले देउवासँग पराजित भए । त्यसबेला देउवाले २० हजार ५ सय २९ मत प्राप्त गर्दा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए । त्यसबेला एमाले उमेदवार विक्रमबहादुर शाहीले ७ हजार ९ सय ४२ मत पाएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा देउवाले २३ हजार ९ सय २० मत पाए भने भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए । एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत पाए । स्थानीय तह निर्वाचनमा ७ स्थानीय तह रहेको डडेल्धुरामा ४ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएको छ ।
स्थानीय निर्वाचनमा  कांग्रेसभन्दा वाम गठबन्धनले ८ हजार ३ सय ३७ बढी मत पाएको छ । स्थानीय तह निर्वाचनमा डडेल्धुरामा कांग्रेसले १९ हजार ५ सय २३, एमालेले १६ हजार ९ सय १५ र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएका थिए ।
 

‘डेन्जर जोन’ को भय
नेपाली राजनीतिका दुई प्रभावशाली पात्र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावी प्रतिस्पर्धाका अनुभवी खेलाडी हुन् । तर, झापाबाट छैटौंपटक चुनाव लड्दै गरेका ओली  र एउटा उपनिर्वाचनसहित सातौंपटक चुनावी परीक्षामा रहेका सिटौलाको अवस्था भने अहिले बिल्कुल फरक छ ।
झापा–५ बाट प्रतिस्पर्धामा रहेका ओलीसँग यसपटक माओवादी र राप्रपाको पनि साथ जोडिएको छ । तर, झापा–३ बाट चुनाव लड्दै गरेका सिटौलाविरुद्ध एमाले, माओवादी र राप्रपा उभिएका छन् । त्यसैले सजिलै चुनाव जित्ने आत्मविश्वासले ओली देशभरिका चुनावीसभामा दौडधुप गरिरहेका बेला सिटौलालाई भने आफ्नै निर्वाचन क्षेत्र छाड्न पनि फुर्सद छैन ।
ढुक्क ओली र चिन्तित सिटौलाको अवस्थाको कारण भने चुनावअघिको राजनीतिक चलखेलको परिणाम हो । यसपटकको मतदानअघि धेरैवटा राजनीतिक तगारा छिचोलेका कारण ओली आत्मविश्वासी देखिएका हुन्  । तर,  कांग्रेस नेता सिटौलाको अनुहारमा भने तनावको छाया कायमै छ । उनी तीन दलीय घेराबन्दीमा पर्ने अवस्था आउनुमा भने पार्टी नेतृत्वको सहमतिविरुद्ध उभिने उनको आफ्नै कदम र ओलीको चतु¥याइँ कारक बनेको थियो ।
विगतमा माओवादीको कटु आलोचक रहेका कारण उनले आफ्नो क्षेत्रमा माओवादीको पूरै भर गर्न सकिरहेका थिएनन् भने अर्कातिर कांग्रेस र राप्रपा मिले आफू ‘डेन्जर जोन’ मा परिने भयमा ओली थिए ।  ओलीको क्षेत्रमा माओवादीभन्दा पनि बलियो प्रभाव  राप्रपाको छ । त्यसैले ओली आत्तिएका थिए । त्यहीबेला कांग्रेस नेता सिटौलाले आफू समानुपातिकमा नबस्ने र झापा ३ बाटै चुनाव लड्ने अडान पार्टीभित्र राखेर आफ्नो पक्षमा निर्णय नै गराएपछि ओलीले राप्रपासँग झापामा सहकार्यको हात बढाए ।
झापा ३ को टिकट राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई दिने सर्तमा ओलीले राप्रपालाई मोर्चामा ल्याएरै छाडे । कांग्रेसले खगेन्द्र अधिकारीलाई ओलीविरुद्ध उठायो । झापा ३ मा राप्रपालाई सघाउने  निर्णयको विपक्षमा उभिएका एमाले नेताहरू ‘ओलीले आफू सुरक्षित हुन’ यस्तो कदम लिएको बताउँछन् ।
आफूलाई सुरक्षित पार्ने लक्ष्यसहित ओलीले राप्रपालाई आश्चर्यजनक रुपमा गृहजिल्लामा साथ लिएपछि उनका पुराना मित्र सिटौला अप्ठ्यारोमा छन् । यद्यपि उनले चुनावी सभाहरुमा त्यसको छनक दिएका छैनन्, उल्टै गणतन्त्रवादी मतदाताले आफूलाई जिताउने बताइरहेका छन् । यसमा पनि सिटौलालाई ओलीको अर्को चुनौती छिचोल्नुपर्ने बाध्यता आइलागेको छ । ओली आफैं लागेर असन्तुष्टहरु फकाइरहेका छन् । ती सबैको मत पाउने आशा जीवित राख्न सिटौलाले ठूलै कसरत गर्नुपर्ने अवस्था छ ।

तगारा तोड्न दाहाललाई सकस
वाम गठबन्धन गरेर चुनावमा जुटेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चितवन ३ बाट चुनावी मैदानमा छन् । दाहाललाई जित्न सजिलो नहुने अडकल सबैको छ । दाहाल वाम गठबन्धनका उम्मेदवार हुने भएपछि चितवन ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई समर्थन गरेर उम्मेदवारी नै दिएन । जुन कांग्रेस स्थानीय चुनावमा माओवादीसँग साथसाथै थियो । भरतपुरमा कांग्रेसकै बलले माओवादीले मेयर जितेको थियो ।
    स्थानीय निर्वाचनका बेला माओवादी र एमालेबीच सम्बन्ध राम्रो थिएन, चितवनमा त झनै तिक्ततापूर्ण अवस्था थियो । यस्तो अवस्थामा एमालेको साथ लिएर कांग्रेस समर्थित राप्रपाका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दा दाहालसामु ठूलै चुनौती थिए । त्यसमाथि सशस्त्र संघर्षका बेला माओवादीले यात्रु बसलाई लक्षित गरी बम विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको घटनास्थल बाँदरमुढे दाहालकै क्षेत्रमा पर्छ ।
तर, दाहाललाई पहिलो सभादेखि नै भतरपुरमा मेयर पदमा एमाले उम्मेदवार रहेर पराजित भएका देवी ज्ञवालीको साथ छ । मंसिर ५ गते भरतपुरमा र आइतबार माडीमा भएको ठूला चुनावी सभामा केपी ओली नै सहभागी भएर दाहालका पक्षमा मत मागे । एमालेसँगको सम्बन्धमा समस्या नरहेको दाहालको बुझाइ छ ।
दाहाल बाँदरमुढे घटनाको पनि थोरै व्यवस्थापन भएको विश्वासमा छन् । यसका साथै दाहालले प्रतिस्पर्धी उम्मेदवार पाण्डेविरुद्ध एकपछि अर्को धक्का दिने काम पनि गरेका छन् । पाण्डेलाई समर्थन गरेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सो पार्टीका समानुपातिक उम्मेदवार दानबहादुर तमाङलाई दाहालले माओवादीमा भिœयाए । तामाङ ७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवन ३ मा एमाले उम्मेदवार थिए ।
आइतबारको सभामा दाहालका पक्षमा पाण्डेकै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्तिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामाले नै पाण्डेको विरोध गर्दै दाहालका लागि मत मागे । यी घटनाक्रमले दाहालका लागि सुरुवातमा जेजति चुनौती थिए ती धेरै हदसम्म हट्दै गएको आभास नभएको पनि हैन । तर पाण्डेको चुनौती आफंैमा चानचुनेको भने छैन ।
चितवन ३ मा एक लाख २५ हजार मतदाता छन् । मंसिर २१ गते हुने निर्वाचनले दाहालले चुनौती चिर्न सकेको नसकेको फैसला गर्दैछ ।
टक्कर सामना गर्दै नेम्बाङ
    इलामका दुई निर्वाचन क्षेत्रमध्ये १ मा पूर्वप्रधानन्त्री झलनाथ खनाल र क्षेत्र २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ वाम गठबन्धनबाट  प्रतिस्पर्धामा छन् । खनालसँग नेपाली कांग्रेसका भूपेन्द्र कट्टेल र नेम्बाङसँग कांग्रेसकै पूर्वसांसद केशव थापा मुख्य प्रतिस्पर्धीका रूपमा भिड्दैछन् ।     
    खनाल स्वयं भने आफूले यो पटक आफू सुरक्षित भएको भन्दै जित्ने निश्चित भइसकेको दाबी गर्छन् । यही क्षेत्रबाट खनाल छैटौंपटक चुनाव लड्दैछन् । यसअघिका ५ निर्वाचनमध्ये एउटामा खनाल पराजित भए । यो पटक खनाल माओवादीसहितको वाम गठबन्धनबाट उम्मेदवार भएका छन् । उनको प्रतिस्पर्धीका रूपमा उठेका छन् कांग्रेसका भूपेन्द्र कट्टेल । कट्टेल पार्टीको क्षेत्रीय सभापति र एकपटक निर्वाचित वडा सदस्य भएका थिए । खनाल भन्छन्, ‘यो पटक पनि मेरो विजय निश्चित छ, किनकि एमालेकै मत मुख्य विपक्षीको भन्दा बढी छ । माओवादीको पनि थपिएपछि मेरो प्रतिस्पर्धी नै रहनेछैन ।’ स्थानीय तह निर्वाचनमा वडाध्यक्षले ल्याएको मत तुलना गर्दा वाम गठबन्धनको मत यो क्षेत्रमा कांग्रेसभन्दा करिब ११ हजारले अघि देखिन्छ ।
    क्षेत्र नम्बर २ का उम्मेदवार नेम्बाङका मुख्य प्रतिस्पर्धी कांग्रेसका केशव थापा जिल्लामा ‘विकासप्रेमी’ का रूपमा परिचित छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेम्बाङले त्यही क्षेत्रमा थापालाई हराएका थिए । थापाले २०५६ र ०७० सालको निर्वाचन जितेको क्षेत्र नम्बर ३ को आधार भाग अहिले क्षेत्र २ मै गाभिएकाले थापाका मतदाता पनि सुरक्षित देखिन्छन् ।
    खनाल र नेम्बाङ दुवैलाई आफ्नो र आफ्नो दलको इतिहास जोगाउने चुनौती छ भने एमालेको बिरासत तोड्ने दाउमा कांग्रेस छ । यसअघि त्यही क्षेत्रबाट ४ पटक चुनाव जितेका खनाल र ३ पटक जितेका नेम्बाङले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाले दुवैलाई मतदातामाझ चिनाएको हो । तर, दुवैका प्रतिस्पर्धीचाहिँ ‘मतदाताले नयाँ अनुहार चाहेको’ बताउँदैछन् । खनालका प्रतिस्पर्धी कट्टेल भन्छन्, ‘३० वर्षसम्म यो क्षेत्रबाट जितेको उम्मेदवारले केही गरेनन्, अब जनता नयाँ अनुहार हेर्न चाहन्छन् ।’ थापाले आफूले ३ नम्बरको सांसद हुँदा गरेका विकास निर्माणका कामले आफूलाई अबको चुनावमा जित्न सघाउने दाबी गर्छन् ।

बागीले उपेन्द्रलाई तनाव
प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीसँगै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को चर्चा चुलिएको छ । फोरम–राजपाका उम्मेदवार बनेका यादवको पल्लाभारी देखिए पनि चुनौती धेरै छ । यादवको प्रमुख चुनौती दुईजना उम्मेदवार बनेका छन्– एक, राजपाका बागी जयप्रकाश ठाकुर र अर्का वाम गठबन्धनका माओवादी उम्मेदवार पूर्वमन्त्री उमेशकुमार यादव ।
संघीय फोरम र राजपाले चुनावी गठबन्धन गरे पनि अध्यक्ष यादवविरुद्ध राजपाकै पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएर चुनौती थपे । यद्यपि, उनलाई राजपाले कारबाही गरिसकेको जनाएको छ । तत्कालीन तमलोपाको सहमहामन्त्री भई ठाकुर दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट चुनाव लडेका थिए ।
सप्तरी–२ मा ७९ हजार २ सय ६३ मतदाता छन् । तीमध्ये करिब १३ हजार यादव समुदायका छन् । वामगठबन्धनका उमेश यादव पनि यहींबाटै उम्मेदवार छन् । त्यही कारण यादव समुदायको मत बाँडिनसक्छ । तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटिएर हालको क्षेत्र २ बनेको छ । दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी २ बाट माओवादीका अशोककुमार मण्डल र सप्तरी ३ बाट माओवादीकै उमेश यादव विजय भएका थिए । फोरम दुवैमा दोस्रो भएको थियो ।
 

महन्थलाई चुनौती
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर चुनावी प्रतिस्पर्धामा उत्रेपछि महोत्तरी ३ को चुनावी वातावरण रोमाञ्चक भएको छ ।
संघीय समाजवादी फोरम र राजपा नेपालका साझा उम्मेदवार ठाकुरलाई नेपाली कांग्रेसले पनि सघाउने निर्णय गरेको छ । कांग्रेसले महोत्तरी ३ का उम्मेदवार बंजरग नेपालीको उम्मेदवारी फिर्ता लिएपछि महन्थको जित सहज ठान्नेहरु पनि स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका उम्मेदवार विजय चौधरीको चुनौतीलाई कमजोर मान्न सकिरहेका छैनन् ।
सदरमुकाम तथा मधेसकै सबैभन्दा पुरानो जलेश्वर नगरपालिका सहित एकडारा गाउँपालिका, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका समावेश रहेको महोत्तरी क्षेत्र नं. ३ मा राजपा नेपालकै संगठन बलियो छ । स्थानीय तहको चुनावमा यी चार वटै स्थानीय निकायको प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।
स्थानीय तहको चुनावजस्तो प्रतिनिधिसभा र प्रदेशभाको चुनावी माहोल भने पक्कै पनि छैन । स्थानीय चुनावमा महोत्तरी ३ मा दलहरुले खसेको मतको पहिलो जातीय आधारमा, दोस्रो व्यक्तिगत प्रभाव, तेस्रोमा दलीय हिसाब र चौथो मधेसी सेन्टिमेन्टका आधारमा पाएका थिए ।
तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै उम्मेदवारलाई बलियो र कुनैलाई कमजोर भनेर व्याख्या गर्न सक्ने अवस्था छैन ।
महन्थको आफ्नै संगठनका बागी उम्मेदवार झालगायत वाम गठबन्धनका उम्मेदवार विजय चौधरी पनि चुनौतीपूर्ण मानिएको हो ।
वाम गठबन्धनका उम्मेदवार विजयी चौधरीले संगठनको भोटका माध्यमबाट ठाकुरलाई चुनौती दिइरहेका छन् । महोत्तरी ३ मा ७८ हजार ९ सय ४ मतदाता छन् ।   

निधि–महतो भिडन्त
कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिको पुरानो क्षेत्र धनुषा–३ मा राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोको उम्मेदवारीले यस क्षेत्रको माहोल रोमाञ्चक बनेको छ ।
स्थानीय चुनावमा प्राप्त मतका आधारमा यो क्षेत्र त्रिपक्षीय देखिए पनि प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले कमजोर उम्मेदवार उठाएकाले प्रतिस्पर्धा द्विपक्षीय बनेको देखिन्छ । मधेस आन्दोलनताका महतोले सडकबाट आन्दोलन तताएको र निधिले संसद्बाट मधेसको मुद्दा सम्बोधन मध्यमार्गी भूमिका खेलेको हुनाले स्थानीय मतदातालाई दुईमध्ये एकलाई चुन्न कठिन भइरहेको छ ।
यद्यपि, निधिको तुलनामा महतोलाई यस क्षेत्रबाट जित्न धेरै चुनौती सामना गर्नुपर्ने राजपाकै नेताहरु बताउँछन् । महतोलाई मुख्य चुनौती वैश्य समाज देखिएको छ । वैश्य समाजअन्तर्गत सुडी, तेली, कानु, कलवारलगायत जात पर्छन् ।
यसअघि जनकपुर उपमहानगरको मेयर जितेका लालकिशोर साह सुडी हुन् । तत्कालीन महतो नेतृत्वकै सद्भावना पार्टीबाट उम्मेदवार उठाइएका साह, हाल प्रदेश सभा सदस्यका उम्मेदवार परमेश्वर साह र स्वंय महतो पनि सुडी जातिकै हुन् । वैश्य समाजमा मजबुत उपस्थिति रहेको अर्को जात कलवार देखिएको छ । उक्त जातको प्रतिनिधित्व गर्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शिवशंकर साह (हीरा) लाई टिकट नदिएपछि उक्त समुदाय महतोको विपक्षमा छ । यता, सोही समुदायबाट कांग्रेसले जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्याम साहलाई उम्मेदवार बनाएका कारण उक्त समुदायको झुकाव कांग्रेसतर्फ रहेको विश्लेषण गरिन्छ ।
यसअघि महतो नेतृत्वकै सद्भावना पार्टीबाट २०७० सालमा संविधानसभा सदस्य जितेका सञ्जय साह (टकला) जेलभित्रैबाट महतोलाई हराउन सक्रिय छन् । कांग्रेस उम्मेदवार निधिलाई सञ्जयको समर्थनले सहज देखिए पनि वाम गठबन्धन चुनौतीका रूपमा देखिँदैछ ।
 

गच्छदार र भगवतीबीच प्रतिष्ठाको लडाइँ
सुनसरी–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । गच्छदार क्षेत्र नं. ३ बाट छैटौंपटक मैदानमा उत्रिएका हुन् भने भगवती गच्छदारसँग दोस्रोपटक प्रतिस्पर्धा गर्दैंछिन् ।
 गच्छदार चुनाव जितेर दोस्रो ह्याट्रिक गर्ने पक्षमा छन् । भगवती चुनाव जितेर राजनीतिक उचाइ बढाउने रणनीतिमा छिन् । गच्छदार फोरम लोकतान्त्रिकबाट कांग्रेसमा प्रवेश गरेकाले गर्दा केही कार्यकर्ता असन्तुष्ट छन् । भगवतीसँग पनि दुहबी क्षेत्रमा एमालेको एउटा समूह सन्तुष्ट छैन । तर, उनी आफ्नो पक्षमा भोट पार्न सबै रणनीति अपनाएर अघि बढेकी छन् । गच्छदार २०४६ सालको परिवर्तनपछि हरेक पटक बनेका सरकारमा प्रभावशाली मन्त्री बन्दै आएका छन् । बहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री रहेका गच्छदार र वाम गठबन्धकी एमाले वैकल्पिक केन्द्रीय सदस्य भगवतीबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । मत माग्ने क्रममा गच्छदारलाई भाबी प्रधानमन्त्री र भगवतीलाई प्रभावशाली मन्त्रीका रुपमा प्रस्तुत गर्ने गरिएको छ । शनिबार दुहबीमा आयोजित चुनावी सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवतीलाई मन्त्री बनाउने आश्वासन दिए ।
गच्छदारले कांग्रेस छँदा सुनसरीबाट २०४८, ०५१ र ०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए । गच्छदारले २०६४ सालमा फोरम नेपालबाट २३ हजार सात सय ६९ मत ल्याएर जितेका थिए । त्यतिबेला कांग्रेसले १० हजार ८ सय ६ र एमालेले ५ हजार ७ सय २३ ल्याएको थियो । २०७० सालको निर्वाचनमा ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार पाँच सय २४ मत ल्याएका थिए । एमालेकी भगवतीलाई विजयले ३ सय ६२ मतले पछि पार्दै विजयी भएका थिए ।
क्षेत्र नं. ३ मा गर्ने दुहबी नगरपालिकामा मेयर र उपमेयरमा स्थानीय निर्वाचनमा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका थिए । लोकतान्त्रिक फोरम नेपालबाट बर्जु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष विजयी भए भने गढी गाउँपालिका प्रमुखउपप्रमुखमा कांग्रेसले जितेको थियो । क्षेत्र नं. ३ मा पर्ने इटहरीका दसवटा वडामध्ये कांग्रेसले चारवटा प्यानलसहित, दुईवटा वडाअध्यक्ष र एउटा लोकतान्त्रिक फोरमले जितेको थियो, जसमा एमालेले तीनवटा वडा जितेको छ । यस्तै, इनरुवा वडा नं. ७ ले कांग्रेसले जितेको थियो । क्षेत्र नं. ३ मा १ लाख ९ हजार ९ सय १७ मतदाता छन् ।
(राजु अधिकारी÷झापा, दिलबहादुर छत्याल÷धनगढी, पुस्करसिंह भण्डारी÷डडेलधुरा, रमेशकुमार पौडेल÷चितवन, भीम चापागाईं÷इलाम, मिथिलेश यादव÷लहान, महेशकुमार दास÷महोत्तरी, सुरेश यादव÷धनुषा, अमर खड्का÷सुनसरी)

प्रकाशित: १८ मंसिर २०७४ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App