७ वैशाख २०८१ शुक्रबार
राजनीति

एक बहालवालासहित चार पूर्वमन्त्री मैदानमा

सुर्खेत- नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का २०४८ सालदेखि नियमित संसद्मा छन् । पटक–पटक मन्त्री भइसकेका खड्काले सुर्खेत क्षेत्र नम्बर–१ बाट अहिलेसम्म चुनाव हार्नुपरेको छैन । खड्का पाँचौंपटक यो क्षेत्रबाट चुनाव लड्दैछन् । २०४८ को आमनिर्वाचनमा एमालेका हस्तबहादुर पुन, २०५१ र २०५६ मा ऋषिप्रसाद शर्मा र २०७० मा कमला शर्मालाई पराजित गरेका खड्कालाई यसपटक वाम गठबन्धनबाट एमालेका ध्रुवकुमार शाहीले टक्कर दिइरहेका छन् । राष्ट्रिय राजनीतिमा महŒवपूर्ण भूमिका खेल्दै आएका खड्काले स्थानीय स्तरमा विकासप्रेमी नेताको छवि बनाएका छन् ।

एमालेका यामलाल कँडेल पनि पूर्वमन्त्री हुन् । प्रतिनिधिसभा–२ अन्तर्गत प्रदेशसभा (क) बाट उम्मेदवार बनेका उनी एमाले पोलिटब्युरो सदस्यसमेत हुन् । ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहेका कँडेलसँग पुराना प्रतिस्पर्धी छैनन् ।
पूर्वपर्यटन तथा संस्कृतिमन्त्री कँडेल र उनका यसअघिका नियमित प्रतिस्पर्धी हृदयराम थानीबीचको प्रतिस्पर्धामा ३३ वर्षपछि पूर्णविराम लागेको छ । कँडेलले नयाँ प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका पार्टी सभापति कमलराज रेग्मीलाई पाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट चुनावी प्रतिष्पर्धामा छन् । २०५१ यताका संसदीय र संविधानसभा निर्वाचनमा एमालेका यामलाल कँडेलसँग आमनेसामने रहँदै आएका थानीले पनि यो पटक नयाँ प्रतिस्पर्धी पाएका छन् । थानीसँग एमालेका पूर्वजिल्ला अध्यक्ष नवराज रावत चुनावी मैदानमा छन् ।
२०७० सालको संविधानसभाको दोस्रो निर्वाचन जितेर संसद् बनेका तप्तबहादुर बिष्ट अहिले सूचना तथा सञ्चार राज्यमन्त्री छन् । बिष्ट पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनलाई वाम गठबन्धनबाट माओवादी केन्द्रका विन्दमान बिष्टले टक्कर दिइरहेका छन् । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक बहालवालासहित चारजना पूर्वमन्त्रीको प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरिरहेका छन् ।

खड्कालाई वामको चुनौती
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का ०४६ पछिका सबै संसद्मा पुग्ने थोरै नेतामध्ये एक हुन् । सुर्खेत क्षेत्र नम्बर– १ बाट उनले अहिलेसम्म चुनाव हार्नुपरेको छैन । ०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष उठेनन् । ०७० को दोस्रो संविधानसभा निर्वाचन सजिलै जितेका खड्काका लागि यसपटक वाम गठबन्धन चुनौती बनेको छ । क्षेत्र नम्वर–१ मा नेपाली कांग्रेस र नेकपा एमालेको संगठन हाराहारी छ । एमालेसँग माओवादी केन्द्र मिसिएपछि भने कांग्रेसलाई चुनौती थपिएको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यी दुई दलले पाएको मत कांग्रेसको भन्दा ६ हजारले बढी छ ।
गठबन्धन वाम भोटको भरमा छ भने कांग्रेस खड्काको व्यक्तित्वमा । राष्ट्रिय राजनीतिमा महŒवपूर्ण प्रभाव राख्ने खड्कालाई स्थानीय स्तरमा विकासप्रेमी नेता भनेर चिनिन्छि । उनको व्यक्तित्व र विकास–निर्माणका गरेका महŒवपूर्ण कामकै कारण साना दलहरुले पछिल्लो समय खड्कालाई समर्थन गरेका छन् ।
आइतबारसम्म राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति, संघीय समाजवादी फोरमलगायतका दलहरुले खड्का र कांग्रेसलाई समर्थन जनाइसकेका छन् ।
‘राष्ट्रिय राजनीतिमा महŒवपूर्ण प्रभाव राख्ने व्यक्तिले जित्नु आवश्यक छ । यसैका लागि हामीले आफ्नो उम्मेदवारी स्थगित गरेर रुखमा भोट मागिरहेका छौं,’ नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार रहेका रेशमबहादुर रानाले भने, ‘त्यसैले समानुपातिकमा ‘आँखा’ र प्रत्यक्षमा ‘रुख’ मा भोट मागिरहेका छौं ।’ यी चार पार्टीको भोट तीन हजारको हाराहारीमा छ ।
साना पार्टीको समर्थनले कांग्रेस उत्साही छ । ‘राष्ट्रिय राजनीतिमा महŒवपूर्ण प्रभाव पार्ने व्यक्ति हुनुका साथै स्थानीय स्तरमा गरेका विकासनिर्माणका कामको प्रभावले गर्दा फरक आस्थाका साथीहरुले पनि कांग्रेसलाई भोट हाल्नुहुन्छ,’ उनको चुनावी अभियानका सदस्य रामबहादुर सिंहले भने, ‘त्यसमाथि चार राजनीतिक दलहरुको समर्थनले चुनाव जित्ने सहज वातावरण बनेको छ ।’
वाम गठबन्धन आफूहरुको मतदाता संख्या धेरै भएकाले चुनाव जित्ने दाउमा छ । ‘हामीसँग वामपन्थी भोट धेरै छ, त्यसैले चुनाव जित्नेमा ढुक्क छौं,’ शाहीले भने, ‘कम्युनिस्ट झुकावका मतदाताको भोट कांग्रेसलाई जाँदैन ।’
०५४ को स्थानीय निर्वाचनमा मालारानी गाविसको अध्यक्ष जितेका उनी पहिलोपल्ट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका हुन् । क्षेत्र १ मा सदरमुकाम वीरेन्द्रनगरका वडा नं. १६ र १७, सिम्ता र चिंगाड गाउँपालिका तथा गुर्भाकोट, लेकबेंसी र भेरीगंगा नगरपालिका समेटिएका छन् । यहाँ १ लाख १५ हजार ६ सय ३७ मतदाता छन् ।

थानी–रावत प्रतिस्पर्धा
कांग्रेस नेता हृदयराम थानी र एमाले नेता यामलाल कँडेलबीचको प्रतिस्पर्धा २०४१ सालदेखिकै हो । २०४१ सालमा शंकरदेव क्याम्पसको स्ववियु निर्वाचन हुँदै २०५१ यताका संसदीय र संविधानसभा निर्वाचनमा आमनसामने रहँदै आएका थानी र कँडेलको प्रतिस्पर्धा यो निर्वाचनमा भने छुटेको छ । थानी प्रतिनिधिसभा र कँडेल प्रदेशसभातर्फ लागेपछि ३३ सालदेखिको प्रतिस्पर्धामा पूर्णविराम लागेको हो ।
थानीले नयाँ प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट एमालेका पूर्व जिल्ला अध्यक्ष नवराज रावतलाई पाएका छन् । थानी प्रतिस्पर्धी नयाँ भए पनि मैदान पुरानै भएकाले आफू जित्ने दाबी गर्छन् । ‘मेरा लागि भूगोल नयाँ होइन, मतदाता पनि नयाँ होइनन्,’ उनले भने, ‘प्रतिस्पर्धी मात्रै नयाँ पाएको छु ।’ उनले आफू सांसद र मन्त्री हुँदा गरेका विकास निर्माण र संविधान निर्माणमा खेलेको भूमिकाको प्रभावले सहजै जित्ने दाबी गर्छन् । ‘यसका साथै एमाले–माओवादी तालमेलले कांग्रेसलाई झन् शक्तिशाली र एकताबद्ध बनाएको छ,’ उनले भने, ‘अहिलेसम्म कांग्रेस अरुका कारणले होइन, हारे पनि आफ्नै कारणले हार्दै आएको थियो, वाम एकताले हामीलाई झन् शक्तिशाली बनायो ।’
तेस्रोपटक चुनावी मैदानमा रहेका रावत उत्साही छन् । पहिलो संविधानसभामा माओवादी केन्द्रका नरबहादुर बिष्ट र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तप्तबहादुर बिष्टसँग पराजित भएका रावत यसपटक वाम गठबन्धनको सहारामा जित्ने दाउमा छन् । ‘अहिलेसम्मका चुनावी प्रतिस्पर्धामा झिनो मत अन्तरले पराजित हुँदै आएको थिएँ, यो पटक माओवादी केन्द्रको पनि साथ रहेकाले जित्नेमा ढुक्क छु,’ रावतले भने, ‘स्थिर सरकार र विकासका लागि पनि जनताले मलाई साथ दिनुहुनेछ ।’ पञ्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिका रहेको क्षेत्र २ मा एक लाख दुई हजार नौ सय ३८ मतदाता छन् ।

कँडेल र बिष्टलाई पनि चुनौती
प्रतिनिधिसभा–२ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेल र कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी  मैदानमा छन् । २०५१ को मध्यावधि निर्वाचन र ०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट विजयी भएका कँडेल यो पटक प्रदेशसभातिर मोडिएका छन् । पूर्व पर्यटनमन्त्री कँडेल प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् । ‘६ नम्वर प्रदेशको समृद्धि र विकासका लागि प्रतिनिधिसभा छोडेर प्रदेशसभामा आएको हु,ँ’ कँडेलले भने, ‘पार्टी संगठन, वाम गठबन्धनको बलमा सहजै चुनाव जित्छु ।’
उनका प्रतिस्पर्धी रेग्मी भने विगतमा कांग्रेस नेतृत्वमा भएका विकास निर्माणका काम र ६ नम्वर प्रदेशको स्थापनामा गरेको नेतृत्वका कारण आफू विजयी हुने दाबी गर्छन् । ‘६ नम्बर प्रदेश स्थापनामा खेलेको भूमिका र कांग्रेस नेतृत्वमा भएका विकास–निर्माणका गतिविधि हेरेर मतदाताले मलाई विजयी गराउनुहुन्छ,’ रेग्मीले भने । वीरेन्द्रनगर नगरपालिकाका १६ मध्ये १४ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख एमाले विजयी भएको थियो । यहाँ ५६ हजार दुई सय ६२ मतदाता छन् ।
प्रतिनिधिसभा–२ को प्रदेशसभा (ख) निर्वाचन क्षेत्र पनि अहिले सबैको चासोको विषय बनेको छ । कांग्रेसबाट वर्तमान सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट र वाम गठबन्धनबाट माओवादी केन्द्रका पूर्वलडाकु विन्दमान बिष्टले यहाँ प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका कांग्रेसका बिष्ट मुख्यमन्त्रीका दावेदार पनि हुन् । ‘भौगोलिक रुपमा विकट रहेको प्रदेशको समृद्धिका लागि मैले प्रदेशसभा रोजेको हुँ, जनताको इच्छा र चाहना पनि यही हो,’ बिष्टले भने, ‘चार वर्षको अवधिमा मेरो नेतृत्वमा भएका विकास निर्माणका कामको मूल्यांकन गरेर जनताले भोट दिनेमा म ढुक्क छु ।’
वाम गठवन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका विन्दमानलाई भने एमालेको भर छ । ‘संगठनका हिसाबले हामी कमजोर छौं, तर, वाम गठवन्धनको भोट जोड्दा कांग्रेसभन्दा अगाडि छौं,’ उनले भने, ‘यो पटक हामी पराजित हुँदैनौं ।’ तीन स्थानीय तह रहेको यो निर्वाचन क्षेत्रमा एक नगरपालिका र एक गाउँपालिकामा कांग्रेस विजयी भएको थियो भने एक गाउँपालिकामा एमाले विजयी भएको थियो । यहाँ ४६ हजार ६ सय ४३ मतदाता छन् ।

प्रकाशित: १८ मंसिर २०७४ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App