८ वैशाख २०८१ शनिबार
राजनीति

किसानका समस्या सम्बोधन गर्नेलाई भोट

चन्द्रनगर (सर्लाही)- चन्द्रनगरस्थित कामतटोलका रामचन्द्र कापर केवट समुदायका हुन् । डुंगा चलाएर नदी पार गराउने उनको पुख्र्यौली पेसा हो ।  पौराणिक कालमा उनका पुर्खाले भगवान् रामचन्द्रलाई  नदी कटाएको कथा उनी सुनाउँछन् । उनी अहिले खेतीपातीमा व्यस्त छन् । सिँचाइ, मलखादलगायतको समस्याका कारण यसबाट  आफ्नो समस्या पार नलागेको उनको दुःखेसो छ ।
‘अब हामी हाम्रो समस्या पार लगाउने नेताको खोजीमा छौं,’ घर नजिकै रहेका दुई पोखरीमा माछापालनसमेत गरेका कापरले भने, ‘किसानका समस्या सम्बोधन गर्नेलाई भोट दिन्छौं ।’
 उनकै टोलकी मीना कापरको भनाइ पनि उस्तै छ । आर्थिक अवस्था कमजोर भएका कारण उनका दुई सन्तानले पढाइ छाडेर मजदुरी गर्न थालेका छन् । ‘सरकारले किसानको अवस्था मजबुत गराएको भए,  सन्तानले राम्रो पढ्न पाउने थिए,’ उनी भन्छिन्, ‘गरिबलाई हेर्ने दललाई भोट दिनेछांै ।’
उनको टोलका ८० घरधुरी कामतको समस्या उस्तै हो । खेतीको भर पर्दै आएका उनीहरुको आर्थिक अवस्था अझै पनि सुध्रिन सकेको छैन । ‘सिँचाइ, मलखादलगायतका  समस्या हल हुनुप¥यो,’ रामचन्द्र थप्छन्, ‘तब मात्र हाम्रा समस्या समाधान हुनेछ ।’

खड्का टोलका चौधरी
यहाँ शतप्रतिशत जस्तै चौधरीको बसोबास छ । तर उनीहरुको बस्तीको नाम भने खड्का टोल हो । चन्द्रनगरस्थित खड्काटोलमा रहेका ८० घरधुरीमध्ये दुई घर पहाडी समुदायको छ । यहाँका थारु समुदाय यही खड्काटोलमा मिलेर बसेका छन् ।
 ‘टोलको नामले हामीलाई केही फरक छैन तर हामीलाई पहिचान चाहिएको छ’, उनले भनिन्, ‘त्यसो भएमा हामी खड्का टोलमै खुसी हुन सक्छौं ।’ विभिन्न निर्वाचनमा सहभागी भएकी उनले हालसम्म त्यस्तो नेता नआएको सुनाइन् । ‘खड्का चौधरी जो आए पनि हाम्रो हितमा काम गरेको पाएनौं,’ उनले भनिन्, ‘त्यसैले हामी हाम्रो समस्या बुझ्ने नेताको पक्षमा आवाज उठाउनेछांै ।’
यस्तै कुरा राख्छन उपेन्द्र चौधरी पनि । ‘नामले मात्र समस्या परेका हैन, हामीलाई राज्यले उपेक्षा गरेको छ,’ उनले भने, ‘हामीलाई राज्यले उचित ध्यान देओस् भन्ने चाहन्छांै ।’ यहाँका चौधरी किसानको हितमा काम गर्ने नेताको खोजीमा छन् ।
जमिनदार टोलमा झुपडी
कामत टोल क्षेत्रको भ्रमण गर्दा यहाँ पुराना  जमिनदारका खण्डहर थुप्रै देखिए । गाउँमा रहेका पक्का महल अहिले जीर्ण छन् । तर तिनको अवशेषले अझै दुःख दिएको सर्वसाधारण सुनाउँछन् । ‘टोलमा अझै पनि जमिनदारी छ,’ नाडीवन दनुवारटोलकी लक्ष्मीसिंह दनुवार भन्छिन्, ‘मोहीको समस्या सुल्झाउने नेताको खोजीमा छौं ।’ टोलका विभिन्न जमिन भूमाफियाको कब्जामा जान थालेको चिन्तासमेत उनले सुनाइन् ।
उनका जस्तै विभिन्न अपेक्षा राखेर सर्लाहीका मतदाता चुनावमा भोट दिँदैछन् । घरदैलौमा आएका उम्मेदवारले उनीहरुसँग समस्या सुल्झाउने बाचा गरेका छन् । सर्लाहीबाट प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् ।
स्थानीय तह निर्वाचनमा सर्लाहीमा खसेको मतलाई आधार मान्दा यहाँ वाम गठबन्धन लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनभन्दा मजबुत देखिन्छ ।
स्थानीय तह निर्वाचनमा सर्लाहीमा सबैभन्दा बढी मत वाम गठबन्धनका पक्षमा खसेको थियो । स्थानीय निर्वाचनमा सर्लाहीमा वाम गठबन्धनले एक लाख ९ सय ७८, लोकतान्त्रिक गठबन्धनले ७३ हजार ८ सय ९० र राजपा–फोरम गठबन्धनले ६७ हजार ७ सय ११ मत पाएका थिए ।

प्रकाशित: १८ मंसिर २०७४ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App