८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव तयारी पूरा, मौन अवधि राति १२ बजेदेखि

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् ।
सातवटै प्रदेशमा हुन लागेको चुनावका लागि तयारी पूरा भई मतदान केन्द्र बनाउन कर्मचारी मतदान केन्द्र पुगिसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
‘शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी चुनाव गर्दैछौं,’ प्रमुख आयुक्त यादवले भने, ‘मतदाता सुरक्षित छन्, मतदान स्थल सुरक्षित छन् । ढुक्क भएर मतदानको वातावरण बनेको छ ।’ दोस्रो चरणको चुनाव सकिएपछि २१ गते बेलुकी ५ बजेपछि पहिलो चरणको चुनावको मतगणनाको काम सुरु हुने यादवले बताए । चुनाव प्रचारप्रसारका लागि दल र उम्मेदवारलाई सोमबार अन्तिम दिन हुनेछ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।
निर्वाचनमा ५२ वटा संस्थाका ४५ हजार राष्ट्रिय पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने अनुमति आयोगले दिइसकेको छ । ४ सयजना अन्तर्राष्ट्रिय पर्यवेक्षकले पर्यवेक्षणको अनुमति लिइसकेका छन् ।
 

मौन अवधि राति १२ बजेदेखि
दोस्रो चरणको चुनावका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । मौन अवधिमा दलले कुनै पनि चुनाव प्रचारप्रसारका काम गर्न पाउनेछैनन् । निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइनेछैन । मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न भएका प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ ।
म्यासेज, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमा विद्युतीय माध्यमद्वारा मत माग्न, निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार र दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार, सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: १८ मंसिर २०७४ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App