८ वैशाख २०८१ शनिबार
राजनीति

७० स्थानमा जित्ने कांग्रेस दाबी

काठमाडौं- नेपाली कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी गरेको हो ।
‘मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनअन्तर्गत १ सय २८ स्थानका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले पत्रकारसँग भने, ‘लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाउँमा सहयोगी दलका उम्मेदवारले विजय हासिल गर्नुहुन्छ ।’ कांग्रेसले १ सय १८ स्थानमा पार्टीका उम्मेदवार उठाएको छ । मंसिर १० गते निर्वाचन सम्पन्न ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पार्टीले बहुमत सिटमा जित्ने दाबी खाँणले गरे ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुले वाम गठबन्धन निर्माण गर्दै संविधान संशोधनसहित एकदलीय व्यवस्था लाद्ने उद्घोष गरकाले पार्टीको पक्षमा थप जनमत निर्माण भएको कांग्रेस विश्लेषण छ । ‘वाम गठबन्धनले घोषित रुपमै अधिनायकवादी समाजवाद र साम्यवादतिर जाने उद्घोष गरेकाले नेपाली जनमत त्यसको विपक्षमा छ,’ खाँणले भने, ‘एमाले लोकतान्त्रिक दल हुन लाग्यो, दसवर्षे हिंसात्मक आन्दोलन गरेर आएको माओवादी पनि अब शान्तिपूर्ण बाटोबाट विचलित हुँदैन भन्ने जनविश्वासमा तुषारापात गरेर एकदलीय अधिनायकवादी शासनको कुरा गर्नाले उनीहरु सुध्रिएका रहेनछन् भन्ने प्रस्ट भएको छ ।’
वाम गठबन्धनमा तालमेल नभएको र कांग्रेसमा सम्पूर्ण एकता रहेको दाबी गर्दै खाँणले कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने तर्क गरे । ‘वामपन्थी गठबन्धनका कारण पार्टी एकजुट भएको र लोकतान्त्रिक गठबन्धनका बीचमा राम्रो समन्वय भएका कारण यो निर्वाचनमा नेपाली कांग्रेसको अवस्था निकै राम्रो छ,’ उनले भने, ‘पार्टीका अजेन्डा र उम्मेदवारको बीचमा तालमेल नमिलेर वाम गठबन्धन सोचेजसरी र सही ढंगले परिचालन भएको पनि छैन ।’
मुलुकमा आइपरेको संकट र अप्ठेरो अवस्थामा नेपाली जनताले कांग्रेसलाई साथ दिएको दाबी गर्दै कांग्रेस नेता खाँणले आसन्न निर्वाचन लोकतन्त्र र त्यसका विरोधीबीचको जनमत संग्रह भएको बताए । ‘आसन्न निर्वाचनलाई पार्टीले एउटा संघर्षको रुपमा लिएर एक ढिक्का भएर मैदानमा सबै उत्रिएका छौं,’ उनले भने, ‘यो संकटका बेलामा विगतमा जस्तै नेपाली जनताको माया लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसहित आर्थिक समृद्धिका पक्षमा रहन्छ ।’
स्थानीय निर्वाचनको मत परिणामको हिसाब गरेर अहिलेको परिणामको आकलन गर्नु ठीक नभएको तर्क गर्दै खाँणले जनमत परिर्वतन हुने दाबी गरे । ‘नेपालको जनमत परिवर्तनशील छ, स्थिर रहिरहँदैन भन्ने कुराको प्रमाण पहिलो संविधानसभा र दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड उठ्नुभएको काठमाडौं १० र एमालेका अध्यक्ष केपी ओली उठ्नुभएको झापाको अवस्थालाई हेरे पुग्छ,’ उनले भने, ‘नेपाली जनताले कुनै निरंकुशता र अधिनायकवाद स्वीकार गरेका छैनन्, अब पनि स्वीकार गर्दैनन् ।’
भौगोलिक, सांकृतिक, जातीय, धार्मिक, जैविकजस्ता मौलिक विविधता भएको मुलुकका समस्या अधिनायकवादी शासन व्यवस्थाले सम्बोधन गर्न नसक्ने पनि कांग्रेसको तर्क छ । ‘हामी सबै नेपालीको भावना समेटेर राष्ट्र बलियो हुन्छ भन्ने मान्यतामा छौं,’ खाँणले भने, ‘हिमाल, पहाड र तराई कुनै पनि क्षेत्रबिनाको मुलुकको हामी कल्पनासम्म गर्न सक्दैनौं ।’
देशभर देखा परेका विस्फोट र हिंसाका घटनामा विगतमा माओवादी द्वन्द्वमा प्रशिक्षित जनशक्तिको संलग्नता रहेको आरोप लगाउँदै खाँणले भने, ‘यावत शक्ति प्रयोग गरी मतदाता, उम्मेदवार, कार्यकर्ता र आम नागरिकलाई सुरक्षा दिन सरकार गम्भीर बनोस् र सबै सुरक्षा निकाय परिचालन गरोस् ।’

प्रकाशित: १८ मंसिर २०७४ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App