८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारहरु सहरकेन्द्रित भोट माग्दै

उदयपुर- मंसिर २१ गतेको चुनाव आउन ४ दिन बाँकी रहँदा यहाँका उम्मेदवारहरु भोट माग्न सहरकेन्द्रित हुन थालेका छन्। एकचरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो अभियान सकेका उम्मेदवारहरु सदरमुकामलगायत आफ्नो चुनावी क्षेत्रका सहर बजारमा भोट माग्न केन्द्रित हुन थालेका हुन्।

            मौन अवधि सुरु हुनु ३६ घण्टा बाँकी रहँदा सबै दलका उम्मेदवारहरु बजारक्षेत्रका मतदाताको मन जित्न घरदैलो र प्रचारप्रसारका गतिबिधिलाई तिब्रता दिएका छन् ।  गाउँतिर फराकिलो भूगोल भए पनि मतदाता कम हुने भएकाले चुनावको अन्तिम समयलाई बढी उपलब्धीमूलक बनाउन उम्मेदवारहरुलाई बजारकेन्द्रित गराइएको पार्टीहरुले जनाएका छन् । चुनावी प्रचार अभियानलाई तिब्रता दिने क्रम कांग्रेस र गठबन्धन दुवैले सदरमुकाम गाईघाटमा केन्द्रीयस्तरका नेता ल्याएर आमसभा आयोजना गरी सुरुवात गरेका छन्।

वाम गठबन्धनका १ नम्बर प्रतिनिधिसभा उम्मेदवार मञ्चु चौधरी, कांग्रेसका डा. नारायण खड्का, २ नम्बरका गठबन्धन उम्मेदवार सुरेश राई 'हिमाल' सहर केन्द्रित भएर मतदातालाई फकाउन लागि परेका छन् । २ का कांग्रेस उम्मेदवार नारायण कार्की भने १३ गते अज्ञात समूहको एम्बुसमा परी घाईते भएका कारण राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेका छन् । उनको क्षेत्रमा पार्टी नेता कार्यकर्ताको टोलीले सहानुभूतिको भोट बटुल्ने काम गरिरहेको कांग्रेसले जनाएको छ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्का चुनावको संघारमा कस्सिएर भोट माग्न लागी परेका छन् । सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा उनी यसअघि ०६४ र ०७० मा पनि जितेका थिए। नेकपा एमाले र माओबादीकेन्द्रको चुनावी गठबन्धनका पुरानो विरासत कायम राख्न निकै कठिन पर्ने देखिएपछि उनी अविराम मतदाताको मन जित्ने अभियानमा लागिरहेको पार्टी सभापति विदुर बस्नेतले बताए।

बस्नेत स्वयं १ (१) का प्रदेशसभा उम्मेदवार पनि भएकाले कतै खड्कासँग संयुक्त र कतै एकल प्रचार टोली लिएर चुनावी अभियानमा खटिरहेको उनले बताए । प्रदेश १ (२) का उम्मेदवार हिमाल कार्की पनि बजारक्षेत्रमा भोट माग्न व्यस्त रहेको पार्टीले जनाएको छ। कांग्रेस कार्यकर्ताले गाईघाट, चौदण्डीगढीको बेलटार र बेलकाको रामपुर बजारमा विशेष अड्डा जमाएरै प्रचारप्रसार गरिरहेको पूर्वसभापतिसमेत रहेका कार्कीले बताए । गाउँ घुम्ने काम पनि सकेको र खासगरी बढी मतदाता हुने भएकाले बजारलाई विशेष ध्यान दिएर भोट माग्ने काम भईरहेको कांग्रेसले जनाएको छ।

गठबन्धनकी उम्मेदवार एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री चौधरी बेलका र चौदण्डीगढीका गाउँका सबै वडामा घरदैलो सकेर बजारकेन्द्रित भोट माग्न थालेकी छिन् । साविक २ नम्बर क्षेत्रबाट ०७० को दोस्रो संविधानसभा चुनाव जितेर सहरीविकास मन्त्रालय सम्हाल्न भ्याएकी चौधरी अहिले गठबन्धनले संयुक्त टोली बनाएर गाईघाट, बेलटार र रामपुर बजारमा ध्यान केन्द्रित गरेको एमाले अध्यक्ष इश्वरमणि राउतले बताए।

प्रदेशसभा १ (१) का उम्मेदवार विमल कार्कीले चौधरी र आफ्नो छुट्टाछुट्टै र संयुक्त टोली बनाएर प्रचारप्रसारलाई आक्रामक बनाएको बताए । १ (२) का गठबन्धन उम्मेदवार रामबहादुर थापामगरले पनि गाईघाटलाई विषेश लक्षित गरी मतदातासँग घुलमिल गरिरहेको माके प्रदेश (२) का प्रचार संयोजक मणि खम्बु रिवासीले बताईन् । १ नम्बर प्रतिनिधिसभामा १ लाख १४ हजार ५ सय ८९ मतदाता रहेका छन्। 

            गठबन्धनका २ नम्बर प्रतिनिधिसभा उम्मेदवार सुरेश राई हिमालले पछिल्लो एकसातायता कटारी बजार र मुर्कुचीलाई केन्द्रित गरेर प्रचार अभियान छँेडेका छन् । राईसँगै एमाले पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडा, माके पोलिटव्युरो सदस्य मोहन खत्री दिपक र पूर्व जिविस सभापति बेदप्रसाद पोखरेल संलग्न टोली कटारीमा केन्द्रित भएर मतदाताको मन जित्ने अभियानमा लागेको माके जिल्ला संयोजक विनोद कटुवाल दिवसले बताए ।

            ७९ हजार ३ सय २९ मतदाता रहेको २ नम्बर प्रतिनिधिसभा २ (१) का कांग्रेस उम्मेदवार भेषबहादुर मगर, गठबन्धनका उम्मेदवार नारायण बुर्जामगर पनि बजार केन्द्रित भोट माग्ने अभियानमा जुटेका छन् । (१) प्रदेशका घनाबस्ती रहेका बजारहरु मुर्कुची, भुट्टार र नेपालटारमा विशेष टोली बनाएर प्रचार अभियानलाई तिब्रता दिएको दलहरुले जनाएका छन्।

            जम्मा १ लाख ९३ हजार ९ सय ४७ मतदाता रहेको उदयपुरको १ (१) प्रदेशसभामा ६१ हजार १९ मतदाता छन् भने १ (२) मा ५३ हजार ५ सय ७० मतदाता छन् । त्यस्तै २ (१) मा ३७ हजार ३ सय ४६ र २ (२) मा ४१ हजार ९ सय ८३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७४ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App