coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पहिला स्मार्ट राजनीति

शीर्षकको सीधा उत्तरबाट हाम्रो राजनीति र शासकीय अवस्थाको चिरफार गर्न उपयुक्त हुने ठानेको छु । पहिले राजनीति स्मार्ट हुनुपर्छ अनि मात्र स्मार्ट सिटी वा स्मार्ट गभन्र्यान्स सम्भव छ । हाम्रो राजनीति कुरा गर्नमा जति स्मार्ट छ, त्यति काम गर्नमा हुन सकेन । यो लेखमा केही ताजा घटनाहरूको स्मृति गराउँदै राजनीति र स्मार्ट सिटीबीचको अन्तरसम्बन्ध र राजनीतिक सुधारका केही न्यूनतम आधारभूत पक्षहरूको चर्चा गरिएको छ। 

बाहिर हिँड्दा सिजनअनुसार धुलो र हिलोले दिने सास्तीबाट नागरिक आक्रान्त छन् । दिनदहाडै राजधानीको मुटुमा गोली हानी व्यवसायी नागरिकको हत्या हुन्छ । जेब्रा क्रसिङमै सवारी साधनहरूले नागरिकको ज्यान लिएका घटना थुप्रै छन् । वर्षाको भेलले राजधानीका मूल सडकमै अबोध बालबालिकाले ज्यान गुमाएको घटनाका प्रत्यक्षदर्शी हामी नै हौँ । 

शासकीय सेवा प्रवाह 
घरबाट बाहिर निस्केर बाटोमा हिँड्दा सिजन अनुसार धुलो र हिलोले दिने सास्तीबाट नागरिक आक्रान्त छन् । दिनदहाडै राजधानीको मुटुमा गोली हानी व्यवसायी नागरिकको हत्या हुन्छ । जेब्रा क्रसिङमै सवारी साधनहरूले नागरिकको ज्यान लिएका घटना थुप्रै छन् । वर्षाको भेलले राजधानीका मूल सडकमै अबोध बालबालिकाले ज्यान गुमाएको घटनाका प्रत्यक्षदर्शी हामी नै हौँ । नक्कली सिफारिसपत्र बनाएर म लोक सेवा आयोगबाट सिफारिस भएर आएको हुँ भनेर कुनै एक जिल्लामा एकजना व्यक्ति जागिर खान जाँदा खादासहितको सम्मान र बैठक भत्ता दिने हाम्रा प्रशासनिक संरचनामा कार्यरत जनशक्ति जिउँदै छन् । एटिएम मेसिनमा पैसा झिक्न कार्ड राख्दा आफूले बचाएर राखेको पैसा ननिस्कने एटिएम मेसिनहरू सिंहदरबार लगायत विभिन्न ठाउँमा यथावत खडा छन् । सार्वजनिक सेवाको मियो मानिने निजामती सेवामा कार्यरत कर्मचारी तलब थापेरै राजनीतिक कोटाअन्तर्गत समानुपातिक निर्वाचन प्रक्रियाबाट छानिन सिफारिस भएकै छन् । कानुनी शासनको वकालत गरेर नथाक्ने हाम्रा उच्च व्यवस्थापक एवं राजनीतिकर्मीहरू यसमा मौन प्रायः छन् । पाँच÷सात वर्षमा निर्माण सम्पन्न भई आम जनजीविकामा प्रयोगमा आइसक्नुपर्ने विकास आयोजना बीसौं वर्षसम्म पनि सम्पन्न हुन नसकेर थला परेका छन् । उता विभागीय मन्त्रीहरू भने यस्ता थला परेका विकास आयोजनाका प्रमुखहरूको सरुवा बढुवा र आफ्ना कार्यकर्ता भर्तीमै अधिक समय खर्चिन्छन् । सार्वजनिक यातायातका सहचालकले भाडाबापत दिएको पैसा खुद्रा नभएको बहानाका गाडी हुइँक्याएर भाग्छन् । सम्बन्धित निकाय मौन रहन्छन् । यी केही प्रतिनिधि शासकीय परिणामका बाबजुद पछिल्लो समय हाम्रा राजनीतिकर्मीहरूले ‘स्मार्ट सिटी’ बनाउने भन्दै भाषणबाजी गर्दै हिँडेका छन् । माथि उल्लेख गरिएका प्रतिनिधि घटनाहरू मात्र मनन गर्दा छर्लंग हुन्छ, हाम्रा राजनीतिकर्मीहरूले स्मार्ट सिटीको अर्थ नबुझेरै बोल्ने गरेको लाजमर्दो अवस्था। 

के हो स्मार्ट सिटी ?
स्मार्ट सिटी आधुनिक प्रविधियुक्त पूर्वाधार भएको सहर जहाँ शासन, प्रविधि र नागरिक एकअर्काको अपरिहार्य परिपूरकका रूपमा स्थापित भएका हुन्छन् । नागरिकले आफ्ना धेरैजसो काम गर्न गराउन कुनै मानिस नभेटी विभिन्न विद्युतीय सुविधासहितका कम्प्युटर वा मोबाइल प्रोग्राम उपयोग गर्न सक्छन् । जहाँ सूचना प्रविधि, नागरिकलाई दिइनुपर्ने सेवा, सुविधा र दिगो आर्थिक विकासका गतिविधिहरूलाई एकीकृत रूपमा सहरी शासन अर्थात् सिटी गभन्र्यान्समा समाहित गरिएको हुन्छ । सफा सडकपेटी, उपयुक्त मात्रामा हरियाली उद्यानसहितका सफा सडक, फरक शारीरीक क्षमता भएका मानिसहरूका लागि विशिष्ट सुविधासहितका संरचनाहरू, उपयुक्त स्थानमा पर्याप्त सडक बत्तीहरू, ट्राफिक संकेत एवं बत्ती, सीसी क्यामेरा, उपयुक्त दूरीमा बनाइएका छरिता सार्वजनिक यातायात तथा ट्याक्सीका लागि स्थानीय नक्सा (लोकालिटी म्याप) राखिएका छुट्टाछुट्टै बिसौनी, पायक पर्ने गरी राखिएका फोहोर फाल्ने भाँडा, सार्वजनिक शौचालय जस्ता पूर्वाधारहरू एक बस्नयोग्य सहर (लिभेवल सिटी) का न्यूनतम आवश्यकता हुन् । यी सार्वजनिक पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान दिनु स्मार्ट सिटी विकास गर्नेतर्फको शासकीय यात्राका पूर्वसर्त हुन् । तर, विडम्बना हाम्रा राजनीतिक नेतृत्वहरूमा विकासप्रतिको बुझाइ,  के गर्नुपर्छ भन्ने सोच र लगावको अभाव छ । सार्वजनिक वस्तु तथा सेवाहरूको विकास र व्यवस्थापनमा राजनीतिक संवेदनशीलताको कमी छ । समग्र राजनीति स्मार्ट नभई कुनै पनि देशभित्रका अन्य संरचना स्मार्ट हुन असम्भव छ।

कस्तो हुनुपर्छ स्मार्ट राजनीति ?
राजनीति सबै नीतिहरूको मियो हो । सार्वजनिक उद्देश्यमूलक ‘ट्रयाक’ हो राजनीति, जसबाट अन्य संस्थाहरू हाँकिन्छन् । विकासका लागि राजनीति गर्नुपर्छ न कि विकासमाथि राजनीति । स्मार्ट राजनीतिक पद्धतिका लागि तीनवटा कुरा अत्यन्तै जरुरी हुन्छ । पहिलो, योग्यतामा आधारित राजनीतिक पद्धति । अन्यत्र कतै योग्य नठरिएको मान्छे राजनीतिमा पस्ने बाटो बन्द गर्नुपर्छ । योग्यता अनुसारको जिम्मेवारी दिने परिपाटीबिना मोलाहिजा अँगाल्नुपर्छ । दोस्रो, प्राग्म्याटिज्म अर्थात् जडसूत्रवादी भएर एकै सिद्धान्तमा रुमलिनेभन्दा पनि स्थानीय आवश्यकतानुसार गतिशील राजनीतिक सोचबाट निर्देशित हुन सक्ने राजनीतिकर्मीहरूले गतिलो शासन दिन सक्छन् । कुनै अमूक सिद्धान्तकारले यसो भनेका थिए भनेर होइन कि परिवर्तन व्यवस्थापन गर्न लचिलो र सिर्जनशील सोचका साथ दिशानिर्देश गर्न सक्ने व्यक्तिहरूले राजनीतिमा स्थान पाउनुपर्छ । तेस्रो,  अनेस्टी अर्थात् इमानदारी । द्वैधचरित्र (हिप्पोक्रेसी) देखाउने राजनीतिकर्मीबाट समृद्धि सम्भव छैन । प्रस्ट भिजन राखेर सोको प्राप्तिका लागि निःस्वार्थ अहोरात्र खट्ने नेतृत्व आजको माग हो । शासन पद्धतिले डेलिभर गरेको परिणामले नागरिकको विश्वास (पब्लिक ट्रस्ट) प्राप्त हुन्छ, जसले शासनको वैधता स्थापित गर्छ । यी तीन कुराले राजनीतिलाई स्मार्ट बनाउँछ । राजनीति पेसा वा व्यवसाय नभई विकास र समृद्धिको स्पष्ट दृष्टिकोणसहितको सार्वजनिक सेवा हो । स्मार्ट राजनीतिले नाफा, घाटा वा भनसुनवाला लेनदेनको भन्दा पनि योग्यता, क्षमता र बहुआयामिक भिजनसहितको नेतृत्व माग गर्छ।

अबको बाटो
एमपिएच अर्थात् मेरिटोक्रेसी, प्राग्म्याटिज्म र अनेस्टी— अबको राजनीतिका आधारभूत अन्तर्वस्तु बनाइनुपर्छ ता कि राजनीति आपराधिक क्रियाकलापको ओत लाग्ने थलो नबनोस् । योग्यता र क्षमतालाई राजनीति प्रवेशको आधार बनाउनुपर्छ, जसले विकासको खाका तय गर्न सकोस् । राजनीति कुनै वाद वा दर्शनमा अल्झिने भन्दा पनि भूराजनीतिक अवस्था र भूमण्डलीकरणको प्रभावअनुरूप लचिलो र सिर्जनशील हुन सक्नुपर्छ । उच्च राजनीतिक व्यक्तित्वहरू ‘नेतृत्व नमुना’ बन्न सक्नुपर्छ अनि मात्र सार्वजनिक जिम्मेवारीमा रहेका अरू मानिसलाई असल भूमिकाका लागि उत्प्रेरित गर्न सकिन्छ । कुनै राजनीतिक दर्शन, वाद वा लिखित दस्तावेजले आफैँ परिणाम ल्याउँदैनन् । नागरिक आवश्यकता परिपूर्ति गर्न नयाँ सोच र प्रतिबद्धता चाहिन्छ । राम्रा कामको परिणामले नागरिक आवश्यकता पूर्ति गर्छ । शासनप्रति नागरिकको विश्वास बढाउँछ । यही विश्वासले नेतृत्वको टिकाउ गर्छ र शासनको वैधता बढाउँछ। 

विश्व परिवेशमा एकै पुस्तामा सानो सहरलाई एक सशक्त राष्ट्रको रूपमा विकास गरी आफ्नै शासनकालमा समृद्धि ल्याएका सिंगापुरका ली क्वान यू हुन् वा मलेसियाका मोहम्मद महाथीर वा चीनको आर्थिक रूपान्तरणका सूत्रधार देङ् स्यायोपेङ (यी सबैले गरेका प्रमुख अनुकरणीय काम हुन्) ले आफ्नो राष्ट्र एवं नागरिकका चाहाना र आवश्यकताको बोध गरे । माटो सुहाउँदो राजनीतिक परिपाटी, सबल कर्मचारीतन्त्रसहितका सार्वजनिक संस्थाहरूको निर्माण, राइट म्यान इन राइट प्लेस, कानुनको पूर्ण परिपालना र बदमासलाई कडा सजाय अनि उपयुक्त आर्थिक, सामाजिक एवं वैदेशिक नीतिको अवलम्बन । तिनीहरूका लक्ष्यहरू थिए, राजनीतिक स्थायित्व र दिगो आर्थिक समृद्धि । यसको प्राप्तिका लागि इमानदार त्याग र दूरदर्शी दृष्टिकोण राखेर निःस्वार्थ सार्वजनिक सेवा अनि अन्य देशले गरेका राम्रा कामको अनुसरण गरेका थिए । हाम्रो नेतृत्वले पनि अस्थिरता ल्याउने निर्वाचन पद्धति होइन, सक्षम व्यक्तिले मात्र राजनीतिमा स्थान पाउन सक्ने पद्धति अँगाल्नुपर्छ, त्यसका लागि आफू बाहिरिन पनि तयार हुनुपर्छ । यस सन्दर्भमा एकजना विश्वविख्यात चिनियाँ व्यापारी ज्याकमाको भनाइ मननीय छ, ‘व्यापार होस् वा राजनीति, यस्ता मान्छे भर्ती गर्नुहोस्, जो दुईचार वर्षमै तपाईंको नेता वा मालिक बन्ने हैसियत राख्छन् ।’ तर विडम्बना, हाम्रो राजनीतिका सारथिहरूले नयाँ सोच भएका योग्य एवं सक्षम र केही गर्ने अठोट र जाँगर भएका नयाँ पुस्तालाई स्थान दिँदा आफू हराइने वा राजनीतिबाट बाहिरिनुपर्ने अवस्था आउने बुझेकाले ज्याकमाले भनेजस्तो गर्न त परै जाओस् सुन्नेसम्मको आँट पनि गर्दैनन् । कोटामा आधारित समावेशीकरण होइन, क्षमता विकासमार्फत मूलप्रवाहीकरण गर्न जोड दिनुपर्छ । भागबन्डाको प्रणालीले लोकतन्त्रका लाभको समानुपातिक वितरण हुँदैन । कुनै वाद वा आदर्शको बचाउका लागि बहस होइन, आवश्यकताका आधारमा नयाँ राजनीतिक दृष्टिकोण र रणनीति अवलम्बन गर्नेतर्फ बहस चलाउनुपर्छ । कानुनको परिपालना र कार्यान्वयनमा निर्मम ढंगले प्रतिबद्ध हुनुपर्छ ता कि अनावश्यक भनसुन र अवैध लेनदेन दुरुत्साहित होओस् । तब मात्र राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण हुने बाटो बन्द होला। 

राष्ट्र निर्माणको कुनै सजिलो सूत्र छैन र हुँदैन पनि । केवल खाँचो हुन्छ— काँधमा जिम्मेवारी, हृदयमा इमानदारी र दिमागमा राष्ट्र विकासको स्पष्ट खाका एवं सोच । तब मात्र सम्भव छ, स्मार्ट सिटी र स्मार्ट राष्ट्र निर्माण । यसका लागि पहिलो सर्त हो, माथि छलफल गरिएजस्तो योग्यता, क्षमता र स्पष्ट सोच भएको स्मार्ट राजनीतिक परिपाटी । राजनीति स्मार्ट भएपछि शासन, सिटी, संरचना र सेवा प्रवाह स्मार्ट नहुने कुरै भएन । चेतना भया।

प्रकाशित: १७ मंसिर २०७४ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App