८ वैशाख २०८१ शनिबार
राजनीति

बिरासत जोगाउने प्रतिस्पर्धा

बारा – प्रतिनिधिसभा र प्रेदशसभा निर्वाचनका लागि बारामा कांग्रेस, वाम गठबन्धन र फोरम–राजपा गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । वाम र फोरम–राजपा गठबन्धनका उम्मेदवार विगतमा आफूले पाएको भोट रोकेर चुनाव जित्ने रणनीतिमा लागेका छन् । कांग्रेसका उम्मेदवार वाम गठनबन्धन र फोरम–राजपा गठबन्धनको भोट तानेर जित्ने दाउमा छन्।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेसका चारै उम्मेदवार पूर्वसांसद तथा पटकपटक मन्त्री भएका जनतामाझ परिचित अनुहार हुन् भने फोरम–राजपा गठबन्धनका चार जना र वाम गठबन्धनका तीन जना नयाँ अनुहार छन्।

पहिलादेखि नै जित्दै आएको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका पुराना नेताहरुलाई चुनावमा फाइदा भइरहेको छ भने वाम र फोरम–राजपा गठबन्धनका नयाँ उम्मेदवारलाई केही कठिन भइरहेको बताइएको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र रहेको बारामा कांग्रेसले ३ र एमालेले तीन सिट जितेका थिए।

अहिले तीन लाख ४९ हजार हाराहारीमा मतदाता रहको बारामा ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको छ।

प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा रहेका कांग्रेसका दुई उम्मेदवार २०७० सालको निर्वाचनमा विजयी र एकजना समानुपातिक सांसद थिए भने वाम गठबन्धन र फोरम–राजपा गठबन्धनबाट उम्मेदवार बनेकाहरु अधिकांश नयाँ र यसअघि चुनाव नलडेका रहेका छन्।

२०७० सालको निर्वाचनमा एमालेबाट विजयी तीन उम्मेदवारमध्ये वाम गठबन्धनका कसैलाई पनि टिकट नदिएको एमाले बाराले जनाएको छ । त्यतिबेला क्षेत्र नम्बर ४ मा विजयी नेजमा खातुन र ६ मा विजयी पुरुषोत्तम पौडेल प्रतिनिधिसभामा चुनाव नलड्दा वाम गठबन्धनलाई घाटा हुने अनुमान छ।  

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार उमाकान्त चौधरी कांग्रेसका केन्द्रीय सदस्य हुन् । चौधरीसँग एमालेका अच्युत मैनाली र राजपा–फोरम गठबन्धनका रामकिशोर यादव मैदानमा छन्।

साबिक निर्वाचन क्षेत्र नं. ५ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी चौधरी २०५६ सालको संसदीय निर्वाचनमा पनि निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका थिए । पहिलाको निर्वाचन क्षेत्र नं. १ र ५ समावेश गरी अहिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ कायम गरिएको छ। 

एमालेका जिल्ला इन्चार्ज र वैकल्पिक केन्द्रीय सदस्यसमेत भइसकेका वामगठबन्धनका उम्मेदवार मैनाली नयाँ अनुुहार हुन्।

फोरम–राजपा गठबन्धनबाट चुनावी मैदानमा उत्रेका रामकिशोर यादव दास्रो संविधानसभा निर्वाचनमा फोरम गणतान्त्रिकबाट निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । यादव कांग्रेस उम्मेदवार रामअयोध्या यादवसँग पराजित भएका थिए। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा र फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका महासचिव रामसहाय यादव मैदानमा छन् । 
२०५१ सालको संसदीय निर्वाचन र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट विजयी भएका कांग्रेस नेता यादव र फोरम नेपालका महासचिव रामसहायबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । यादव विगत २०४८ सालदेखि निर्वाचन क्षेत्र नं. २ बाट राजनीति गर्दै आएका छन् । राजपा–फोरम गठबन्धनका रामसहाय यस क्षेत्रमा नयाँ अनुहार हुन् । 
वाम गठबन्धनबाट मैदानमा उत्रेका कुशवाहा पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । माओवादीबाट विजयी कुशवाहाले २०७० सालमा टिकट नपाएपछि पार्टी छाडेका थिए । माओवादी पार्टी छाडेर २०७० मा सद्भावनाबाट चुनाव लडेका कुशवाहा पराजित भएका थिए । कुशवाहा वाम गठबन्धनबाट उम्मेदवार बनेपछि पुराना नेताहरु असन्तुष्ट भएका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, वाम गठबन्धनबाट एमालेका नेता अध्यानन्द पाण्डे र राजपा–फोरम गठबन्धनबाट संघीय समाजवादी फोरमका बारा अध्यक्ष रामबाबुप्रसाद यादव चुनावी मैदानमा छन् । मन्त्री मन्सुर २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र ४ र २०७० क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । वाम गठबन्धनका पाण्डे र फोरम–राजपा गठबन्धनका यादव पहिलोपटक चुनाव लडेका हुन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसका लालबाबु सिंह र वाम गठबन्धनका देवनारायण चौधरी मैदानमा छन् । कांग्रेसका सिंह यसअघि समानुपातिक सांसद थिए भने वाम गठबन्धनका चौधरी एमाले बाराका उपाध्यक्ष हुन् । 
निर्वाचन क्षेत्र नं. १ मा पर्ने कचोर्वाका बासिन्दा रामसहाय यादवलाई २ नं. निर्वाचन क्षेत्रको कांग्रेस गढ भत्काउन चुनौती देखिएको छ भने कांग्रेस नेता यादवलाई असन्तुष्ट कांग्रेसी कार्यकर्तालाई फकाउन सके जित सहज हुने देखिएको छ । 
जिल्लाका ६ मध्ये पहिलो संविधानसभा निर्वाचनमा तीन स्थानमा विजय हासिल गरेका मधेसी दलले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एउटा पनि क्षेत्रमा विजयी हासिल गर्न सकेका थिएनन्। 

प्रदेशसभामा दोहोरो भिडन्त
८ वटा प्रदेशसभा सदस्यका लागि अधिकांश क्षेत्रमा दोहोरो भिडन्त हुने अनुमान छ । जिल्लाको उत्तरी भागमा पर्ने प्रदेशसभा १ (क) मा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारबीच भिडन्त हुने अनुमान छ । दक्षिणी भागमा पर्ने प्रदेशसभा १ (ख) मा फोरम–राजपा गठबन्धन र कांग्रेसका उम्मेदवारबीच भिडन्त हुने आकलन छ। 

प्रदेशसभा १ (क) मा कांग्रेस उम्मेदवार पेमासिद्धि लामा र वाम गठबन्धनका त्रिलोकी चौधरी मैदानमा छन् । निजगढ नगरपालिका, कोल्वी नगरपालिका र बारागढी गाउँपालिकाका ३ वटा वडा समावेश गरी कायम गरिएको प्रदेशसभा १ (क) मा ८० प्रतिशत हाराहारीमा कांग्रेस र वाम गठबन्धनका मतदाता छन्। 

वाम गठबन्धनका उम्मेदवार बलियो रहेको अनुमान गरिए पनि कांग्रेस उम्मेदवार लामा निजगढका बासिन्दा भएकाले उनको पल्लाभारी हुने दाबी कांग्रेस नेताहरुको छ।

वाम गठबन्धनमा निजगढबाट कुनै उम्मेदवार नभएपछि धेरै स्थानीय नेताकार्यकर्ता लामाका पक्षमा लागेको बताइएको छ । प्रदेशसभा निर्वाचन १ (ख) मा कांग्रेस र फोरम–राजपा गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा  छ । फोरम–राजपा गठबन्धनबाट राजपा उपाध्यक्ष सरोज यादव  र कांग्रेसका भागवत साह मैदानमा छन्।

मधेसी दल र कांग्रेसका कार्यकर्ता ८५ प्रतिशत हाराहारीमा रहेकाले यस क्षेत्रमा कांग्रेस र फोरम–राजपा गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान छ।

उपाध्यक्ष यादव २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । उतिबेलाका निर्वाचन क्षेत्र नम्बर १ का अधिकांश भाग मिलाएर हाल प्रदेश सभा १ (ख) कायम गरिएको छ। 

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा कांग्रेसका रामप्रवेश यादव र फोरम–राजपा गठबन्धनका श्रद्धाशंकर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिका समावेश गरी बनाइएको यस क्षेत्रमा कांग्रेस र राजपा–फोरम गठबन्धनका ८० प्रतिशतको हाराहारीमा मतदाता छन्।

प्रदेशसभा २ (ख) मा कांग्रेसका मणिभूषण यादव र राजपा–फोरम गठबन्धनका बच्चाप्रसाद यादव मैदानमा छन् । जिल्लाको दक्षिण भागमा पर्ने पचरौता नगरपालिका, सुवर्ण र देवताल गाउँपालिका समावेश गरी यो क्षेत्र कायम गरिएको छ। 

प्रदेशसभा ३ (क) मा कांग्रेसका रामानन्द यादव, वाम गठबन्धनका ज्वाला साह र भरतबहादुर खड्काबीच प्रतिस्पर्धा हुने अनुमान छ । वाम गठबन्धनको गढ रहेको ३ (क) मा प्रदेशसभा उम्मेदवारमा एमालेबाट बागी बनेका खड्काले भोट काट्ने सम्भावना छ। 

प्रदेशसभा ३ (ख) मा कांग्रेसका जिल्ला सभापति जयचन्द चौरसिया, वाम गठबन्धनका मोहम्मद समिउल्लाह र फोरम–राजपाका गठबन्धनका पारस साहबीच त्रिपक्षीय भिडन्त हुने अनुमान छ।

प्रदेशसभा ४ (क) मा वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, कांग्रेसका ओमकृष्ण कार्की र राजपा–फोरम गठबन्धनबाट घनश्याम गिरी मैदानमा छन् । वाम गठबन्धनको गढ मानिने ४ (क) मा विश्वकर्मारिुद्ध एमालेकै भरतबहादुर घले चुनाव लडेका छन्।

यस क्षेत्रमा जितपुरसिमरा उपमहानगरपालिका अमलेखगन्ज, पथलैया, सिमरा र जितपुर नगरपालिका समावेश छन् । प्रदेशसभा ४ (ख) मा कांग्रेसबाट विजय गुप्ता, वाम गठबन्धनबाट उमेश कुशवाहा र फोरम–राजपा गठबन्धनबाट राजपाका महामन्त्री जितेन्द्र सोनल मैदानमा छन् । 

प्रकाशित: १७ मंसिर २०७४ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App