coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

परिणाम उल्ट्याउने होडमा दलहरु

काठमाडौं – प्रतिनिधि र प्रदेश निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरु सक्रिय रहेका बेला काठमाडौंको चुनावी प्रतिस्पर्धी फरक र रोचक देखिएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका आधा दर्जन निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव जोगाउने र परिणाम उल्ट्याउने होडमा दलहरु जुटेका छन्। 

पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, प्रभावशाली नेताहरुका साथै तीनपटक उही नेताहरु आमनेसामने हुँदा काठमाडौंका एक, दुई, चार, पाँच, आठ र नौ निर्वाचन क्षेत्रको चुनावी प्रतिस्पर्धा र परिणाम अन्य क्षेत्रको तुलनामा चासो र चर्चाको विषय बन्न पुगेको छ । पहिलो र दोस्रो संविधानसभामा ठूलो मतान्तरसहित काठमाडौं–१ मा कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएका थिए । सिंहले पहिलो संविधानसभामा एमाले नेता प्रदीप नेपाल र दोस्रोमा माओवादी केन्द्रकी रेणु दाहाललाई पराजित गरेका थिए। 

कांग्रेसका लागि सबैभन्दा सुरक्षित क्षेत्रका रूपमा हेरिएको त्यहाँ रवीन्द्र मिश्रको उम्मेदवारीले निर्वाचन परिणामका विषयमा चासो बढाएको छ । पार्टी महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता सिंहसँग वाम गठबन्धनबाट अनिल शर्मा प्रतिस्पर्धामा छन्।  

एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीका कारण काठमाडौं–२ को परिणामप्रति चासो बढ्दै गएको छ । २०६४ को संविधानसभा निर्वाचनबाहेक त्यस क्षेत्रको निर्वाचन परिणाम नेपालको पक्षमा पर्दै आएको छ । तत्कालीन माओवादी नेता झक्कु सुवेदीसँग २०६४ मा पराजित भएका तत्कालीन एमाले महासचिव नेपालले २०७० दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेतृ प्रतिमा गौतमलाई हराएका थिए । रौतहट र काठमाडौंमा निर्वाचित नेता नेपालले काठमाडौं छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेस नेता दीपक कुइँकेलले परिणाम आफ्नो पक्षमा ल्याएका थिए । यसपटक कुइँकेललाई नै कांग्रेसले नेता नेपालसँग प्रतिस्पर्धामा उतारेको छ । उपनिर्वाचनमा पार्टीले हात पारेको सफलतालाई जोगाउने धुनमा कांग्रेस छ भने एमाले विगतलाई निरन्तरता दिँदै नेता नेपालको पक्षमा परिणाम पार्न सक्रिय छ।  

काठमाडौं–४ दुई युवा नेता गगनकुमार थापा र राजन भट्टराईको प्रतिस्पर्धाले रोचक बन्न पुगेको छ । कांग्रेस र एमालेबाट मैदानमा खडा भएका दुवैलाई पार्टीभित्र सम्भावना बोकेका नेताका रुपमा हेर्ने गरिएको छ । २०७० दोस्रो संविधानसभा निर्वाचनमा एमालेका निर्मल कुइँकेल, एकीकृत माओवादीका नन्दकिशोर पुनलाई पराजित गर्दै थापा संविधानसभामा पुगेका थिए । ठूलो मतान्तरसहित परिणाम आफ्नो पक्षमा पारेका थापा अहिले पनि त्यसलाई निरन्तरता दिने दाउमा छन् भने वाम गठबन्धनको बलमा भट्टराई २०७० को परिणाम उल्ट्याउने रणनीतिमा छन् । दुवै नेताका लागि आसन्न निर्वाचन परिणामले पार्टी र राष्ट्रिय राजनीतिमा समेत अर्थ राख्नेछ।  

एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता प्रकाशशरण महतको उम्मेदवारीका कारण काठमाडौं–५ को निर्वाचनमा सबैको चासो रहेको छ । ओखलढुंगाका पोखरेल र नुवाकोटका महत आमनेसामने भएका हुन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेस नेता नरहरि आचार्यसँग पराजित पोखरेल यसपटक परिणाम उल्ट्याउने राणनीतिमा छन् । आचार्य अस्वस्थ भएपछि काठमाडौं–५बाट उम्मेदवारी दिएका महत पनि पार्टीको जितलाई निरन्तरता दिने पक्षमा छन्।

काठमाडौंको क्षेत्र नम्बर ८ र ९मा पछिल्ला तीन निर्वाचनमा पुरानै अनुहारबीच प्रतिस्पर्धा भइरहेको छ । एक दशकदेखि प्रतिस्पर्धामा रहेका काठमाडौं–८ बाट नवीन्द्रराज जोशी र जीवनराम श्रेष्ठ तथा काठमाडौं–९ बाट ध्यानगोविन्द रन्जित र कृष्णगोपाल श्रेष्ठ आसन्न निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन्।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा एमालेका जीवनरामलाई पछि पार्दै कांग्रेस नेता जोशी र एमालेका कृष्णगोपाल श्रेष्ठलाई उछिन्दै ध्यानगोविन्द रन्जितले परिणाम आफ्नो पक्षमा पारेका थिए । जोशी र रन्जित विगतलाई निरन्तरता दिँदै ह्याट्रिक गर्ने रणनीतिमा छन् भने एमाले नेताद्वय श्रेष्ठ परिणाम उल्ट्याउँदै आफ्नो पक्षमा पार्ने तयारीमा छन्। 

प्रकाशित: १७ मंसिर २०७४ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App