coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोकिएन विस्फोट शृंखला

काठमाडौं – प्रदेश नम्बर २ र काठमाडौं उपत्यकाका तीन जिल्लाकेन्द्रित विस्फोटका घटना बढेसँगै शनिबार बिदाको दिन पनि गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा प्रबन्ध चुस्त बनाएको दाबी ग¥यो । मन्त्रालयका अधिकारीले ‘नयाँ सुरक्षा रणनीति अपनाएकाले अब बम नपड्कने’ दाबी गरे।  

मन्त्रालयले यस्तो दाबी गरे पनि शनिबार मात्रै ललितपुर, जनकपुर, कपिलबस्तु, इटहरीलगायत स्थानमा विस्फोट भयो । दोस्रो चरणको मतदान दिन जति नजिकिँदै आउँदा हिंसात्मक घटना पनि बढिरहेका छन्।

‘छिटफुट रुपमा भइरहेका हिंसात्मक घटना अब रोकिने छन्,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दवाडीले भने, ‘सुरक्षा जाँच र स्थल सुरक्षा नयाँ रणनीति बनाएर सुरक्षाकर्मी परिचालन बढाइसकेका छौं।’

गृहले पटक–पटक सुरक्षा अवस्था चुस्त बनाएको, सुरक्षा रणनीतिमा सुधार गरेको दाबी गरे पनि व्यवहारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन । विस्फोटक पदार्थ बोकेर हिँडेका केही पक्राउ पनि परेका छन्। 

शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत रहेका दुवाडीले ‘तीनवटै सुरक्षा संगठनलाई नयाँ रणनीति अनुसार परिचालन गरेको दाबी गरेको केही घन्टामै शनिबार ललितपुर, जनकपुरलगायत स्थानमा विस्फोट भयो। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादीसहित करिब तीन लाख सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएको गृह मन्त्रालयको दाबी छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ८ सयभन्दा बढी मानिस पक्राउ परेका छन् । तर विस्फोेटक्रम रोकिएको छन्।

कात्तिक २४ बाट उम्मेदवार केन्द्रित आक्रमणको घटनाले तिव्रता पाए पनि पहिलो चरणको मतदानको दिन कुनै अप्रिय घटना भएन । मतदानको दिन सुरक्षा प्रबन्ध चुस्त देखियो । तर दोस्रो चरणको चुनावी प्रचारक्रम तातेसँगै  चुनावी सभा, शीर्ष दलका नेता र उम्मेदवारकेन्द्रित आक्रमणका घटना जारी छन्।

कात्तिक २४ यता ५० भन्दा बढी विस्फोटका घटना भएका छन् । दोस्रो चरणको चुनाव सुरक्षामा खटेका म्यादी प्रहरी विनोद चौधरीको विस्फोटमा परी ज्यान गएको छ । त्यस्तै बुधबार शक्तिशाली एम्बुस विस्फोटमा परेर उदयपुर क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसँगै घाइते भएकी निरा कटुवालले एउटा खुट्टा गुमाइन्।

गृह अधिकारीको रटान भने उस्तै छ । घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मधेसमा जयकृष्ण गोइत समूहको संलग्नता देखिए पनि गृहका अधिकारी उनीहरूको नाम लिन अझै हिच्किचाउँछन् । विस्फोटका घटनामा कसको संलग्नता छ भन्ने जिज्ञासामा गृह प्रवक्ता दवाडीले कसैको नाम लिन चाहेनन् । उनले ‘कसले ग¥यो र किन ग¥यो भन्ने विषय अनुसन्धान क्रममा छ’ मात्रै भने। 

प्रतिनिधिसभा र प्रदेशसभा पहिलो चरणको निर्वाचन हुनुअघि केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सुरक्षा रणनीतिमा सुधार गर्ने निर्णय गरेको थियो । गृहले पहिलो चरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा हिंसात्मक घटना बढी हुने र आतंक फैलाउन २ नम्बर प्रदेश र राजधानीलक्षित घटना हुने निष्कर्ष निकाल्दै सुरक्षा अवस्था चुस्त बनाउने निर्णय गरेको थियो।

चन्द र मधेसकेन्द्रित केही भूमिगत समूहसँगै आपराधिक समूहले विस्फोटका घटना बढाउने निष्कर्ष निकाल्दै सुरक्षा समितिले प्रदेश २ सँग सीमा जोडिएका जिल्लामा भारतीय सीमा सुरक्षा बलसँगको सहकार्यमा संयुक्त गस्ती र चेकपोस्ट बढाउने, सेनाको गस्ती बढाउने तथा राजधानी प्रवेश गर्ने नाकामा जाँच बढाउने निर्णय गरेको थियो । त्यसैअनुसार उपत्यकाका विभिन्न क्षेत्रमा छापा मार्ने र आकस्मिक जाँच गर्ने क्रम बढाइएको थियो। 

गृहले उपत्यकाको सुरक्षा अवस्था विश्लेषण गर्दै उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रलाई जोखिममा राखेको थियो । उसले काठमाडौंका निर्वाचन क्षेत्र १०, ७, ६, ३ र २ तथा ललितपुरको  १ लाई सुरक्षा चुनौतीको सूचीमा राखेको थियो।

सोही अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी १० हजार बढी सुरक्षा जनशक्ति परिचालन गरी छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र धादिङ र मकवानपुरबाट उपत्यका प्रवेश गर्ने १६ नाकामा सुरक्षा जाँच बढाएको थियो । 

नाकामा कडाइ गर्दा विस्फोटक पदार्थ बोकेर राजधानी पस्दै गरेका केही मानिस पक्राउ परे । तर विस्फोटको क्रम भने रोकिएको छैन । ३ जिल्लामध्ये ललितपुरमा विस्फोटका घटना बढी भएका छन्।

प्रहरीले ललितपुरको आस्राङ, कालेश्वर, गिम्दी, ठूलो दुर्लुङ, सानो दुर्लुङ, प्युटार, माल्टामा निर्वाचन विरोधी समूह रहेको भन्दै सुरक्षा सतर्कता बढाएको दाबी गरेको थियो । काठमाडौं जोरपाटीको नयाँबस्ती, कपन, असनलगायत भित्री सहरी क्षेत्र, पाटन, भक्तपुर, ललितपुरको दक्षिणी भेग र कीर्तिपुरको केही क्षेत्र सुरक्षा दृष्टिले अन्य क्षेत्रभन्दा संवेदनशील रहेको गृहको विश्लेषण थियो। 

सोही आधारमा गृहले सुरक्षा सतर्कता बढाएको दाबी गरिरहे पनि एक साताभित्रमा ललितपुरको लगनखेल र चापागाउँमा बम विस्फोट भएका छन् । घटनामा संलग्न कोही पक्राउ परेका छैनन्। 

शनिबार चापागाउँको ताहाखेल बसपार्कमा भइरहेको कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम विस्फोट भएको थियो । भक्तपुरको बालकोट र ललितपुरको जाउलाखेलमा बम विस्फोट भएको थियो।  

काठमाडौंमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकन्ठस्थित निजी निवासनजिकै सकेट बम पड्कियो भने ललितपुर र काठमाडौंको सिमाना युएन पार्कमा पनि बम विस्फोट भयो। 

सानोठिमीस्थित कांग्रेसको सम्पर्क कार्यालयको कम्पाउन्डबाहिर पनि शनिबा बम फेलापर्‍यो । शीर्ष नेतालक्षित आक्रमण
दोस्रो चरणको निर्वाचन प्रचारप्रसार अन्तिम चरणमा पुग्दा प्रदेश नम्बर २ मा पनि हिंसात्मक गतिविधि बढ्दै छन्। निर्वाचनमा सहभागी दलका शीर्ष नेतालाई लक्षित गरेर बम हान्ने र उम्मेदवार लक्षित गरी गोली हान्ने घटना भएका छन्। 
हिंसात्मक घटना बढेपछि निर्वाचन आयोगका आयुक्तद्वय इला शर्मा र सुधीरकुमार शाह प्रदेश नम्बर २ को सुरक्षा अवस्था बुझ्न पुगेका छन् । उनीहरूले सुरक्षा अवस्था बलियो रहेको दाबी गरिरहेका छन् । तर बम पड्कने क्रम रोकिएको छैन।

उपेन्द्र यादवलाई लक्षित गरेर शनिबार नगराइन र हनुमाननगरको बीचमा बम प्रहार भयो । विस्फोट हुनुअघि नै उनको गाडी पार गरिसकेकाले कुनै क्षति भएन । यसअघि बिहीबार संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजलाल यादवलाई लक्षित गरेर २ राउन्ड गोली प्रहार भएको थियो । तर उनी जोगिए।
सुनसरीको इटहरी  उपमहानगरपालिका भलादमी टोलमा शनिबार नेपाल महिला संघको सभालाई लक्षित गरेर बम विस्फोट भयो । पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ को बाटोमा शुक्रबार बेवारिसे अवस्थामा एयर गन फेलापरेको थियो। 

प्रदेश नम्बर २ बाहेक निर्वाचन हुने अन्य जिल्लामा समेत विस्फोटका घटना रोकिएका छैन । कपिलबस्तुको मायादेवी गाउँपालिका, पकडीमा शनिबार पुष्पकमल दाहालले सम्बोधन गर्ने सभालाई लक्षित गरी बम विस्फोट भयो।

पिलबस्तुमै शुक्रबार बेलुका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार दिनेश जयसवालको बाणगंगा नगरपालिका, कोरिया चोकस्थित घरमा पनि बम विस्फोट भयो।

सल्यानको श्रीनगरमा शनिबार सुतली बम फेलापरेको छ । कैलालीको बर्तगोडिया गाउँपालिका–२, मोहन्यालको बाटोमा खाल्डो खनेर राखेको सुतली बम फेलापरेको छ। 

प्रकाशित: १७ मंसिर २०७४ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App