coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई चारवटा बम पड्कदैमा चुनाव रोकिन्न : ओली

गाईघाट– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । 

गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, 'अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई(चारवटा बम पड्कदैमा रोकिन्न ।'

निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी दिए । 

अध्यक्ष ओलीले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र नेकपा माओवादी केन्द्रले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी गरे। 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले विगतमा नेपाली काँग्रेसले पटकपटक बहुमतको सरकार सञ्चालन गरेपनि मुलुकलाई स्थिर राजनीति दिन नसकेको कारण अब देशमा वाम गठबन्धनको स्थिर सरकार आवश्यक रहेको जिकिर गरे । 

पूर्व–पश्चिम राजमार्ग छ लेन बनाउने, पूर्व–पश्चिम रेल्वे सञ्चालन गर्ने, उद्योगधन्दा सञ्चालन र युवा स्वरोजगारमार्फत वामपन्थी सरकारले मुलुकमा विकासको कायापलट गर्ने उनको दाबी थियो । अध्यक्ष ओलीले भने, 'एकचोटी वाम गठबन्धनलाई जिताएर दुई वर्ष हेर्नुस्, विकास कसरी हुन्छ, हामीले गरेर देखाइदिन्छौँ।'

सो चुनावीसभालाई वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ का उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेश सभाका उम्मेदवार रामबहादुर थापा, विमल कार्की, नारायण बुर्जालगायतले सम्बोधन गरेका थिए। 

यस्तै संयुक्त वाम गठबन्धनले मोरङको उर्लावारीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धनको जित आवश्यक रहेको बताए।

नेपाली काँग्रेसले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै उनले अब देश विकासको जिम्मा वाम गठबन्धनको रहेको बताए।
सभालाई सम्बोधन गर्दै नेकपा ९माओवादी केन्द्र० का नेता लीलामणि पोख्रेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने र त्यो सरकारले देशलाई नयाँ दिशामा लैजाने बताए।

प्रकाशित: १६ मंसिर २०७४ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App