८ वैशाख २०८१ शनिबार
समाज

सरकारी सवारी मर्मतमा मनपरी बिल

खोटाङ– खोटाङमा सरकारी बाईक मर्मतकाक्रममा मनपरी बिल बनाएर पेश गर्ने गरेको पाइएको छ। दिक्तेल, हलेसी र महुरेमा सञ्चालित वर्कशपमा कर्मचारीले सेतो प्लेटवाला मोटरबाईक मर्मतकाक्रममा बिल बढाएर बनाएर लैजाने गरेको पाइएको हो। अधिकांश कर्मचारीले सवारी साधन मर्मतकाक्रममा अस्वभाविकरुपमा बढि बिल चढाउन लगाउने गरेको वर्कशप सञ्चालकको भनाई छ। हाल हरेक वर्कशपमा निजीकोभन्दा बढि मात्रामा सरकारी बाईक मर्मतमा आउने गरेको छ । श्रोतका अनुशार सामान्य मर्मतदेखि मोबिल चेन्जकाक्रममा बिल बढाएर लैजानेमा वडा सचिवदेखि वडाध्यक्षसम्म छन् । उनीहरुले सञ्चालकले तोकेको दरभन्दा दोब्बर मात्राको बिल बनाउन लगाउने गरेका नाम नभन्ने शर्तमा एक वर्कशप सञ्चालकले बताए । ‘कर्मचारीले त बिल बढाइमाग्ने नै भए। कुनै–कुनै वडाध्यक्षले समेत बिल बढाउन लगाउँछन्,’ वर्कशप सञ्चालकले भने, ‘हुँदै नभएको खर्चको बिल नबनाऔँ भन्दा उनीहरु मान्दैनन्। बिल नबढाइदिए उल्टै रिसाउँछन् ।’

सवारी साधन मर्मतकाक्रममा हुने खर्चको विषयमा कतैबाट प्रश्न नउठ्ने भएकाले पनि सरकारी मोटरबाईक मर्मत गर्दा बिल बढाएर लैजाने गरेका हुन् । स्टेशनरी, छापाखाना, फोटोकपी सेन्टर, अडिट लगायतकाक्रममा बिल बढाउने गरेको जनगुनासो आइरहेकाबेलामा सरकारी बाईक मर्मतमा समेत बिल बढाउने गरेको गुनासो आएको हो । नागरिकले बुझाएको करबाट तलव खाने कर्मचारीले वर्कशप सञ्चालकसँग एउटा कारोबार गर्ने राज्यसँग बिल बढाएर अर्को कारोबार गर्ने गरेको भुक्तभोगीको गुनासो छ । ‘अनुगमन गर्ने हो भने सवारी साधन मर्मतकाक्रममा बिल बढाएको प्रशस्त भेटिन्छ,’ उनले भने, ‘अनाहकमा राज्यको ढुकुटी सक्नु राम्रो होईन, यसलाई रोक्नमा ध्यान पुग्नु पर्छ ।’ बढिजसो हलेसी, महुरे, दिक्तेलमा सञ्चालित वर्कशपमा मर्मतकाक्रममा बिल बढाउने क्रियाकलाप बढी हुने गरेको श्रोत बताउँछ ।

कतिपय सरकारी सवारी साधनको गलत प्रयोग भइरहेको समेत पाइएको छ । कार्यालयीय कामभन्दा व्यक्तीगत कामकाजमा वडा कार्यालयको बाईक प्रयोग भइरहेको स्थानीयको गुनासो छ । सरकारी बाईक वडाध्यक्ष र वडासचिव बाहेक अन्य व्यक्तीले समेत कुदाउने गरेको पाइएको छ।

प्रकाशित: १६ मंसिर २०७४ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App