८ वैशाख २०८१ शनिबार
समाज

एक एम्बुलेन्स् चालकको अनुभव

खोटाङ– ‘सीप सिके’ कुनै न कुनैबेला काम लाग्छ। त्यस्तै भयो खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका नारायण सुयललाई। रोजगारीका सिलसिलामा मलेसिया पुग्दा ड्यूटी गर्दै बचेको समयमा सिकेको ड्राईभिङ सीप गाउँमा आएपछि उनलाई रोजीरोटीको गतिलो माध्यम बनेको छ । हाल उनी आफ्नै गाउँमा खोटाङ सेवा समाज युकेले बुईपा स्वास्थ्यचौकीलाई प्रदान गरेको स १ झ ४९५ एम्वुलेन्स चालककारुपमा कार्यरत छन् । खोटाङ सेवा समाज यूकेको पहलमा खोटाङलाई गत चैत्र २६ गते प्राप्त ७ वटा एम्बूलेन्समध्ये बुईपा स्वास्थ्यचौकीलाई प्रदान गरिएको एम्बूलेन्स सुयल चलाउँछन् । बिशेषगरी विजयखर्क, राजापानी, बुईपा, अर्खौले, नुनथला रुटमा एम्वुलेन्स चलाउने गरेको उनले बताए।

मलेसियाबाट फर्केपछि काठमाडौंमा केही समय ड्राइभिङ सेन्टरमा थप तालिम लिएर साउदीअरब पुगेका उनी २०७१ मंसिरमा घर फर्किएका हुन् । मलेसिया र काठमाडौंमा सिकेको ड्राइभिङ सीपका आधारमा सुयलले गत जेठ पहिलो साता सवारी चालक अनुमती पत्र पाए। त्यही सवारी चालक अनुमतीपत्रका आधारमा उनले एम्बूलेन्स चलाउने अवशर पाएका हुन् । एम्बूलेन्स चलाएवापत मासिक २५ हजार आउने गरेको सुयलले बताए।

रोजगारीका सिलसिलामा मलेसिया र साउदीअरब पुगीसकेका सुयललाई अझै पनि बिदेशको चक्करले छाडेको थिएन । २०७२ सालमा कोरिया जाने तयारी पनि गरे । तर, भाषा परीक्षामा अनुत्तिर्ण भएपछि कोरिया जाने उनको सपना अधुरै रह्यो । त्यसपछि गाउँमा आएर किराना पसल, व्रोईलर फर्म र बुईपाको पञ्चदोबाटोमा मासु पसल सञ्चालन सुरु गरेका सुयलले गत भदौ १६ गतेदेखि एम्बूलेन्स चलाउने काम पाएका हुन् । ‘मलेसियामा पनि ड्राइभिङ सिकियो, आएर काठमाडौंमा पनि सिकियो,’ सुयलले भने, ‘लाइसेन्स हात परेको तीन महिना नबित्दै एम्बूलेन्स चलाउने काम मिल्यो । आम्दानी राम्रै छ।’

कुमारी सुयलसँग २०६० साल बैशाख ७ गते विवाह बन्धनमा बाँधिएका सुयल पैसाका लागि मलेसिया पुगे, साउदीअरब पुगे । जहाँ पुगे पनि पैसाको अभाव कम भएन । गाउँमै आएर एम्बूलेन्स चलाउन थालेपछि बिरामीलाई ओसार–पसार गर्नेक्रममा १ हजारदेखि बढिमा ३ हजार खर्च हुन्छ। त्यस बाहेकका तलव बचत हुन्छ। त्यही तलवबाट परिवारको गर्जो टरिरहेको सुयल बताउँछन् । ‘एक छोरी, एक छोरा पढाउन र घरगृहस्थी चलाउन समस्या छैन,’ सुयलले भने, ‘बिदेशमा भोगेका दुःखलाई स्वदेशमा पुण्यको काम सम्झेर बिर्सने गरेको छु।’

अस्पताल जानेक्रममा बाटोमा कैयौं बिरामी र आफन्तको रुवाबासी हुन्छ । एम्बूलेन्समा रुँदै अस्पताल गएका बिरामी र उसका आफन्त निको भएर हाँस्दै घर फर्कँदा सबैभन्दा आनन्द महसुस हुने गरेको सुयलले बताए । ‘अस्पताल जानेक्रममा रोईरहेको विरामी र बिरामीका आफन्तको ओठमा हाँसो देख्दा स्वर्गीय आनन्द महसुस हुन्छ,’ उनले भने, ‘कतिले फोन गरेर धन्यवाद दिन्छन्, कतिले भगवानको उपमा दिन्छन् । त्यसैले पनि यो पेशामा सन्तुष्ट छु।’

सवारी चालक त्यसमा पनि एम्बूलेन्स चालकको काम सहज छैन । बिरामीलाई अस्पताल पुर्‍याउनेक्रममा जुनसुकै बेला, जुनसुकै अवस्थामा तयार रहनु पर्छ । भनेको बेला खाने, सुत्ने, नुहाइधुवाई गर्ने फुर्सद पाईन्न । आफन्तसँग भेटघाट, श्रीमती, छोराछोरीसँग बसिरहने समय हुन्न । कतिपय अवस्थामा चाडपर्वको परबाह हुँदैन । ‘दशैं, तिहार भनेर हुँदैन । अस्ती फुलपातीका दिन समेत बिरामी लिएर अस्पताल जानु पर्‍यो,’ उनले भने, ‘तर, बिरामीको जीवन बचाउन पाउँदाको पल भन्दा मेरो लागि ठूलो केही हुन्न ।’ केही समयअघि आगलागीमा घाईते भएका हलेसी तुवाचुङ नगपालिका–११ राजापानीका दुईजनालाई रातको १२ बजे दिक्तेल पुर्‍याए। मंसिर ९ गते बुईपाकी गर्भवती महिला शर्मिला राईलाई रातारात जिल्ला अस्पताल दिक्तेल, घुर्मी हुँदै ओखलढुंगा पुर्‍याएको सुयलले बताए। नवजात शिशु जोगाउन नसकिए पनि शर्मिलाको ज्यान बचेको थियो।

प्रकाशित: १६ मंसिर २०७४ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App