८ वैशाख २०८१ शनिबार
अन्य

अकल्पनीय

आनन्दराम आचार्यले सम्पत्तिप्रति बढ्ता मोह राखेन । त्यसैले जीवनका ५० वसन्त कटिसक्दा पनि उसलाई सम्पत्तिले पत्याएन । घरवरिपरि दुई रोपनीजति खेत र माथि लेकमा दुई हलजतिको बारी थियो । सकिनसकी लेकको बारीमा मकै, कोदो, फापर र आलुको खेती गर्ने गथ्र्यो आनन्दराम। 

आतेपाते आनन्दरामको आम्दानीको मुख्य पेसा थियो । एकदिन ऊ र छविराज पनेरु आनन्दरामकै एउटा जजमानको घरमूलीको वार्षिकी गरेर आएका थिए । गाउँ काटेर जंगल आउनेबित्तिकै छविराजले खल्तीबाट दक्षिणा झिक्यो । गन्यो र भन्यो, ‘यस्ता मख्खीचुसकहाँ के पढ्नु ? तिम्रा जजमान ज्यादै लोभी रैछन् दाजु ! मेरा कुुनै जजमानले पनि यति थोरै दक्षिणा दिँदैनन् । पोहोर दुर्गे थापाको किरियामा हजारैहजारको बिटो दिएका थिए । रङ्गे थापा आजभोलि लोभी भएको छ । त्यो म¥यो भने मेरो घर निकै उज्यालो हुन्छ।’

‘थुक्क निचमति ! तलाईंचैँ काल आउँदैन ?’ आनन्दरामको मनले भन्यो । तर प्रकटमा केही भनेन । त्यो दिनबाट आनन्दरामलाई जजमानी पेसा नै छाड्न मन लागेको थियो । तर जीवन घिसार्ने कुनै विकल्प नभेटेपछि ऊ सोही पेसामा घस्रिन बाध्य भएको थियो। 

आनन्दरामका २०–२५ घर जजमान थिए । तिनै जजमानबाट आनन्दरामको घरमा वर्षको एक–दुई मुरी चामल भित्रिन्थ्यो । साथमा केही हजार रुपयाँ पनि । जति आउँथ्यो, त्यसैमा चित्त बुझाउँथ्यो । उसले अरू पुरेतले जसरी मरिहत्ते गरेन, धनसम्पत्तिमा आशक्ति राखेन । लालायित भएन । खासमा उसले आदर्शकै जीवन बाँच्यो।

आनन्दरामले सम्पत्ति जोड्न सकेन । पैतृक खेतीपातीमा दुई हात जमिन थपिएन । गतिलो लुगा किनेर भिर्न सकेन । यदाकदा जजमानको काजकिरियामा दानमा आएका थर्ड–क्लास जातका ह्वार्लाङ्गे कुर्ता–सुरुवाल भिरेर ऊ कुदिरह्यो, जीवनको निम्छरो बाटोमा । उसको जिउमा सधैँ एउटा रङको कुर्ता र अर्को रङको सुरुवाल हुन्थ्यो । सम्पत्तिकै कारण आनन्दराम ‘आनन्द’ हराएको ‘राम’ मात्रै भएको थियो  । तर, सम्पत्तिका लागि आनन्दरामले कहिल्यै इमान बेचेन।

उमेरले रजत जयन्ती मनाउँदा पनि कुनै कृपालु सन्तानेश्वरले आनन्दराम र शकुन्तलालाई सन्तानको कृपा गरेनन् । निराश–निराश आनन्दराम सन्तान प्राप्तिको कल्पनामा डुबिरह्यो । उसकै जजमान कुरा काट्थे, ‘अपुत्रो पुरेतले पढेको कार्जेको फल पनि पाइँदैन रे ।’ यस्ता कुरा सुन्दा शकुन्तला शरमले पानीपानी हुन्थिन्। 

३० तिर पुग्दा उसले सन्तानको मुख देख्न पायो । पहिले छोरी, त्यसपछि छोरा । आफू स्कुल गएर पढ्न नपाएकाले आनन्दरामले पढाइको महत्त्व बुझेको थियो । छोरीलाई टाढा पठाएर पढाउन अनुकूल भएन । छोरीको सानैमा बिहे भयो । छोरालाई भने सकिनसकी पढ्न पठायो।

आनन्दराम सधैँ गीता पाठ गथ्र्यो । घरबाहिरको खाटमा बसेर एक दिन आनन्दराम श्रीमद्भगवत् गीताको मोटो किताब पल्टाएर हेर्दै थियो । गीताको अठारौँ अध्यायमा कृष्ण अर्जुनलाई भन्दै थिए– 
‘सर्वधर्मान्परित्यज्य मामेकं शरणम् व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच ।।६६।।’
उसले नेपालीमा लेखिएको भाषाटीका पनि पढ्यो, ‘सबै धर्म परित्याग गरी यावत कर्मबाट सन्न्यास लिएर मेरो शरणमा पर । म तिमीलाई सम्पूर्ण पापबाट मुक्त गराउनेछु । तिमी कति पनि शोक र दुःख नमान।’

आनन्दरामकी श्रीमती शकुन्तला डालामा मकै बोकेर बिस्कुन सुकाउन आँगनमा आइन् । आनन्दरामले गीता वाचन रोक्यो । शकुन्तलाले भनिन्, ‘अब यसरी हुँदैन हजुर । तपाईंले जति गीता पाठ गरे पनि भगवान् कहिल्यै हाम्रा दाहिना भएनन् । के धर्मकर्म गर्नु ? गाउँमा ठग्न नपाएपछि चार सालअघि सहर पसेको पद्मलालले काठमाडौंमा तीन–चार ठाउँमा घडेरी जोडिसक्यो रे ! घर ठड्याइसक्यो रे ! ऊ जे काम पनि गर्छ रे ! तपाईंचैँ दुई–चार जजमानको मुख हेरेर गाउँमै बसिराख्नु।’ 

शकुन्तलाको व्यंग्योक्तिले आनन्दराम आहत भयो । एकछिनपछि अलि गाह्रो गरी बोल्यो, ‘मरेर क्यै लानु छैन शकुन्तला ! राजामहाराजाहरू पनि गए । धनपतिहरू पनि गए । केही लगेको देखिनँ । कि तिमीले देख्यौ ? सम्पत्तिको लोभमा पर्नु भनेको जिउँदै नर्कमा जानु हो । कृष्णले ‘सबै कर्म त्यागेर मेरो शरणमा आऊ’ भन्नुभएको छ । काम गर्नु हाम्रो कर्तव्य हो । फलको आस राखेर काम गर्नु हुँदैन।’ 

शकुन्तलाले अलि झोक्किएर भनिन्, ‘जानु क्या उनकै शरणमा । कृष्णकै कुराको पछि लाग्ने हो भने माखो पनि मर्दैन । तपाईंले अभैm चेत्नुभएको छैन है ! हामी सम्पत्तिमा कमजोर भएकै कारण आफन्तले पनि हेप्न लागे । यो गाउँबाट अन्तै जानुपर्छ अब । बरु डाँडै काटेर गयो, टन्टै साफ । जे खाए नि, जे लाए नि, कसैले देख्दैन । जसरी कमाए पनि भयो ।’
आनन्दराम गीताको अर्को श्लोकमा जान सकेन । केहीबेर गम खायो । भन्यो, ‘तिमीले ठिकै भनेकी छ्यौ शकुन्तला । छोरी गरिब घरमा परेकी छे । उसलाई अलिअलि सहयोग गर्नुपर्नेछ । कान्छाको बिहे गाउँमै गरिदिएर गाउँ छाड्न पाए एउटा लन्ठा सकिन्थ्यो । नयाँ ठाउँमा बिहे गर्न गाह्रो हुन्छ, शकुन्तला ! कान्छो राम्रै पढ्छ । लायक पनि छ । जसले नि केटी दिहाल्लान्।’

शकुन्तलाले भनिन्, ‘अँ, तपाईंको कुरा पनि ठीकै हो है, कान्छाको बिहेचैँ गरिहाल्नुपर्छ । छोरीलाई घरमा भाको धेरथोर जेथो दिएर जाउँला । अनि, छोराले मनपराएकी केटी छे कि ! एकचोटि उसलाई सोध्नुपर्छ । हामी एकातिर खोजौँला, उसले अन्तै कल्पेको होला ।’ आनन्दरामले निधार खुम्च्याएर भन्यो, ‘ठीकै छ, केटीको कुरा चलाऊँ न त । छोरालाई पनि केही भनेको छैन, उसको विचार के छ !’ आनन्दरामलाई श्रीमतीको प्रस्ताव राम्रै लाग्यो। 

दुवैले छोरालाई सोध्ने विचार गरे । आनन्दरामले गीताका पढ्न बाँकी श्लोक वाचन गरेर सक्यो र किताब थैलोमा बेरेर थन्क्यायो । शकुन्तला मकैको बिस्कुन सुकाएर भात–भान्सामा लागिन्।

सुवर्ण एसएलसी सकेर बसेको थियो । केटो राम्रो थियो, इमानदार उत्तिकै । मनमा सहर पस्ने सपना बोकेर बसेको थियो । ऊ ‘सहरसपना’को पोखरीमा तैरिरहेको थियो । सँगैका दामली एसएलसीपछि नै सहर छिरेर पढ्न लागेका थिए । कसैले सानोतिनो जागिर पनि खाइसकेका थिए । उसलाई भविष्यको चिन्ता लाग्न थालेको थियो।   

आनन्दराम छोरा सुत्ने कोठामा पस्यो । सुवर्ण ओछ्यानमै कोल्टिएर पुस्तक पढ्दै थियो । एक्कासि कोठामा बा पसेको देखेर ऊ झस्कियो, केही भनेन । शंकालु आँखाले बालाई हे¥यो । आनन्दरामले सोध्यो, ‘तँ के गरेर बसेको छस् हँ ? किताब हेरेजस्तो गरी हाम्रा आँखा छलेको त हैन ? मेरा कुरा सुन् केटा । अब यो गाउँमा धेरै दिन बसिँदैन । टिक्न गाह्रो भयो । हामीले तेरो बिहे गरिदिएर सबैजना सहर पस्ने विचार गरेका छौँ, तँ के भन्छस् ?’

सुवर्णले सोभैm बाको अनुहारमा हेर्न सकेन । तलतिर मुन्टो लगायो । आनन्दरामले फेरि सोध्यो, ‘तैँले मनपराएकी कुनै केटी छे केटा ?’ सुवर्णले मुन्टो हल्यायो । अर्थ लाग्यो– कुनै केटी उसको लभ–लिस्टमा छैन।

आनन्दराम पोखरेल फणिन्द्र चौलागाईंकहाँ कन्यार्थी भएर जाने भयो । उसकी छोरी अनन्ता कक्षा दश फेल भएर बसेकी थिई । फणिन्द्रको रवाफ बेग्लै थियो । ऊ गाउँमै आपूmलाई निकै ‘ठूलोबडो’ सम्झन्थ्यो । आर्थिक हिसाबले यी दुईमा आनका तान अन्तर भए पनि आफ्नै जजमान भएकाले फणिन्द्रकी छोरी माग्ने आँट गरेको थियो ।
आनन्दराम बिहानै सुवर्णलाई लिएर फणिन्द्रकहाँ पुग्यो । फणिन्द्र फलैँचामा बसेर चिया सुक्र्याउँदै थियो । अचानक एकाबिहानै आँगनमा आनन्दराम पुरेतलाई देख्यो । सेतो र गोलो चस्मा फुकालेर अचम्म मान्दै सोध्यो, ‘बाजे, एकाबिहानै के कामले आउनुभो ?’

आनन्दराम ‘खासै केही काम छैन’ भनेको जस्तो भावमा उभियो फणिन्द्रले उसलाई गुन्द्रीमा बस्न संकेत ग¥यो । गुन्द्रीमा बसेपछि आनन्दरामले टाउको कन्यायो । कुरो उप्काउनै गाह्रो भएको थियो । अनुहारमा चिट्चिट् पसिना आयो । कन्यार्थी भएर आएको कुरा बल्लबल्ल भन्न सक्यो आनन्दरामले। 

फणिन्द्र चौलागाईंले राताराता आँखा पारेर भन्यो, ‘ए बाजे ! पुरेत भएँ भन्दैमा मेरी छोरीमाथि आँखा लगाउने ? आफ्नो हैसियत तिमीले बिर्सियौ ? तिमी मसँग ठट्टा गर्न आएका ? आइन्दा यो कुरा लिएर मेरोमा नआउनु । जसको दुई रोपनी खेत छैन, मेरी छोरी माग्न आउने ? यो कुरा अरूले कसैले थाह पाए भने के भन्लान् हँ ?’

आनन्दराम बोलेन, नाजवाफ भयो । फणिन्द्रले हैसियतको जुन कुरा गरेको  थियो, ठीकै गरेको थियो । हो, आनन्दरामसँग सम्पत्तिका हिसाबले कुनै हैसियत थिएन । सहरमा फणिन्द्रको घर थियो । दुई–चारवटा घडेरी थिए । फणिन्द्र सम्पत्तिले पुरिएको थियो। 

आनन्दरामले थप केही भनिरहनु आवश्यक ठानेन । भन्नका लागि बाँकी कुरा पनि थिएन । फणिन्द्रले आनन्दरामलाई तीर हानिसकेको थियो । आनन्दराम डालीमा बसेको चरो हो र फणिन्द्रले ताकेर तीर हानेको थियो । तीर लागेर आनन्दराम फœयाक्फœयाक् परेको थियो। 

डिलमाथि निस्किएको घामलाई हेर्‍यो आनन्दरामले । तिरष्कृत वचन पचाएर बसिरहनु पनि उचित ठानेन । आनन्दराम उठ्यो । छोरालाई आँखैले ‘उठ्’ भन्यो । आफैँसित कुरा गरेझैँ बोल्यो, ‘ओ हो, घाम पनि माथि पो आइसकेछ।’ 
आनन्दराम हिँड्यो । पछिपछि सुवर्ण । सुवर्णले पनि आपूm हेपिएको महसुस ग¥यो । उसको आँखामा बदलाको भाव स्पष्टै पढ्न सकिन्थ्यो । फणिन्द्रकी श्रीमती गोठको धन्दा गर्दै थिई । फणिन्द्रले ‘चिया खाएर जानु’ समेत भनेन । बाटोमा आनन्दरामलाई सम्पत्तिको भूतले तर्साइरह्यो । कुन जंगल, कुन खेत र कुन गाउँ, उसलाई यादै भएन । छोरासँग पनि बोलेन। मुटुमाथि बडेमानको ढुंगाले थिचेको अनुभव गर्‍यो। 

अन्ततः पुरेत आनन्दराम काठमाडौं पस्यो । ढिलोचाँडो पस्नेवाला नै थियो । फणिन्द्रको वचनको ‘गोली’ले ऊ मर्माहत भयो, गाउँमा बस्न मनै लागेन । सहर छिर्नेबित्तिकै आनन्दराम पद्मलालको सम्पर्कमा आयो । उसकै रायसल्लाहमा चल्ने भयो।  

पद्मलालले भन्यो, ‘के काम गर्नुहुन्छ त बाजे ? गाउँ छाडेर आई नै हाल्नुभएछ ।’ 
आनन्दरामले भन्यो, ‘भाइले खोजिदिएको काम गर्न म नाइँ भन्दिनँ ।’ 

आनन्दरामलाई इमानसाथ सम्पत्ति कमाउनु थियो । र, देखाउनु थियो, फणिन्द्र चौलागाईंलाई । 
पद्मलाल आनन्दरामलाई गाडीमा लिएर हिँड्न लाग्यो । निजी कारमा डुल्न पाउँदा आनन्दराम खुसी नै भएको थियो । ऊ कामको खोजीमा पनि थियो । काम पाइने आशाले उसको पछुवा हुनु उसको बाध्यता भयो।  

पद्मलालको बाहिर देखिने पेसा जग्गा दलाली थियो । नदेखिने गरी ऊ वैध–अवैध सबै धन्दा गथ्र्यो । उसको सम्पर्कमा सबैखाले मानिस थिए– अस्पतालका डाक्टरदेखि रोड विभागका इन्जिनियरसम्म, राजगुरुदेखि फुटपाथे ज्योतिषसम्म, ठुल्ठूला व्यापारिक घरानादेखि खुद्रा विक्रेतासम्म, ठूला दलका ठूला नेतादेखि भुरेटाकुरेका भाङ्ग्रे कार्यकर्तासम्म।
पद्मलालको औपचारिक पढाइ भनेको पाँचै कक्षा मात्रै थियो । तर उसको रोबरवाफ भने बडेबडे विश्वविद्यालयका बडाबडा प्रा.डा.को भन्दा ज्यादा देखिन्थ्यो । सहरको केन्द्रभागमै घर थियो उसको । गाडी किनिसकेको थियो । छोराहरू काममा लागेका थिए । पद्मलालको खटनपटन र हैकम देखेर आनन्दराम छक्कै परेको थियो । पद्मलालको प्रगति आनन्दरामलाई अकल्पनीय लाग्यो। 

एकदिन पद्मलाल गाडीमा आनन्दरामलाई लिएर कतै जाँदै थियो । पद्मलालको मोबाइलमा घन्टी बजेको बज्यै गथ्र्यो । कतिपय फोन ऊ उठाउँदैनथ्यो । नाम र नम्बर हेरेर मात्रै फोन रिसिभ गथ्र्यो।

पद्मलालले फोन उठायो । बोल्यो, ‘हजुर एसपी सा’प, त्यो जग्गा हजुरलाई हुन्छ होला । चारकुना मिलेको छ । चौडा बाटोको निकास छ । चारकोठे घर बनाईकन निकै जमिन बाँकी बस्छ । त्यसमा हजुरलाई तरकारी–सरकारी लगाउन हुन्छ । के भनिबक्या ! वर–बगैँचा सबै पुग्छ हजुर । अनि रत्न डिआइजी सा’पलाई जग्गा खोज्दै छु । राम्रो जग्गा भेटेपछि क्वाटरमै भेट्न आउँछ रे भन्दिबक्सेला ।’ रिटायर्ड एसपीले फोनबाटै आपूmलाई र रिटायर्ड डिआइजीलाई जग्गा कन्फर्म गर्‍यो। 

पद्मलालले फोन डायल ग¥यो । चार–पाँच घन्टीमा फोन सिरिभ भयो । आवाज आयो, ‘अँ गुरु, नमस्कार ! आरामै हनुहुन्छ ? यता कहिले आउनुहुन्छ ? हजुरको फाइल अगाडि बढाउन भनेको छु । दशाग्रह के बिग्रेर हो, आँटेको काम त्यति अगि बढेको छैन । एकचोटि गुरुलाई भेटेरै कुरा गर्नुछ । ग्रहशान्ति गर्ने विचारमा छु । मेरो मिसेसले पनि हजुरलाई नै भन्नु भनेकी छिन्।’

उताको बेलिविस्तार सुनेपछि पद्मलालले भन्यो, ‘हुन्छ सचिवज्यू । म आजै हजुरलाई भेट्छु । मन्त्रालयमा भेट्न अलि अनुकूल नहोला !’ 

सचिव बोल्यो, ‘बेल्का घरमै आउनुस् न । मिसेससित पनि भेट हुन्छ । अरू काम–कुरो पनि पक्का गरौँला ।’ 
लगत्तै अर्को फोन आयो । सोध्यो, ‘कता लुकाउनुभएको छ  ? पुलिसले सुराकी छोडेको हुन्छ, थाह छ कि छैन ? छाला मात्रै छ कि हाडखोर पनि छन् ? आजको दिन जसरी पनि पुलिसबाट माल जोगाउनु होला ।’ पद्मलालले फोनमा गरेको यो कुराकानी सुनेर आनन्दराम आत्तियो । पद्मलालको चुलिएको सम्पत्तिको गुह्य कुरा पनि थाह पायो । अर्को अकल्पनीय कुराको सङ्केत पायो आनन्दरामले। 

आनन्दरामले परिवारलाई साँघुरो डेरामा लगेर थन्क्याएको थियो । शकुन्तला एकदमै नियास्रिएकी थिइन् । पहाडमा रेखापाखो चहारेकी शकुन्तलालाई सहर पिँजडा भएको थियो । अर्थात् उनी ‘पिँजडाको सुगा’ भएकी थिइन् । 
सुवर्ण पनि खुसी थिएन । पढाइ छुट्न लागेकामा उसलाई नराम्रो लागेको थियो । उसले भनिरहन्थ्यो, ‘बा, म क्याम्पस भर्ना हुन्छु।’

आनन्दरामलाई छोराको प्रस्ताव राम्रै लाग्यो । आनन्दरामले भन्यो, ‘जा न त जा, भर्ना हो । जसरीतसरी धानुँला नि !’ सुवर्णले पढाइ रोेकेन । ऊ क्याम्पस भर्ना भयो। 

आनन्दरामको मनको घाउ बिछट्टै दुखिरहेको थियो । उसलाई फणिन्द्रको वचनले दुखाएको थियो । उसलाई काठमाडौंमा एउटा घर बनाउनु थियो र कसैलाई लगाएरै भए पनि यो कुरा फणिन्द्रको कानमा पुर्‍याउनु थियो। 

आनन्दरामले जानेको पुरानु एउटै सीप थियो– जजमानी गर्ने । सुरुमा उसले काठमाडौंमा जजमान पाएन । अन्य काममा उसले आफ्नो भविष्य देखेको थिएन । पद्मलालको चकचकीमा उभिन पनि सकेन । आनन्दरामले पद्मलाललाई ‘जे पनि नगर्न’ घुमाउरो तरिकाले सल्लाह पनि दियो । तर, पद्मलाल सम्पत्तिको रास्तामा निकै अघि बढिसकेको थियो।

एकदिन आनन्दरामलाई इख्याएर पद्मलालले भन्यो, ‘तिमीले मलाई अर्ति–उपदेश दिनुपर्दैन । के गर्ने, के नगर्ने मलाई थाह छ । कस्ताकस्ता काम मैले फत्ते गरिसकेँ । पुलिसले समातिहाले पनि माथिको पावर लगाएर फुत्किहाल्छु नि ! तिमी डरले थुर्थुर हुन्छौ । तिम्रो भाग्य नै छैन बाजे । भगवान्ले किन तिमीलाई कमाउनेतिर लगाउँथे ! गति लिन त मति पनि हुनुपर्छ ।’
पद्मपुराणले आनन्दराम अघायो । अर्को दिनबाटै पद्मलालको साथ छाडिदियो।

आनन्दराम फेरि भौँतारिन थाल्यो, बिहानै मन्दिर मन्दिर चहार्न थाल्यो । उसलाई गाउँ छाडेर आएकामा पछुतो पनि लाग्यो।

समयले छिटै आनन्दरामको जीवनमा अकल्पनीय वहार ल्याइदियो । सानोसानो झिल्काले पनि अँध्यारो जीवनमा उज्यालो छर्दै छर्दै ल्यायो । उमेरले ६० तिर धकेल्दै लग्दा सुवर्ण आनन्दरामको सारथि बन्यो । एक दिन सुवर्णले भन्यो, ‘बुवा, अब तपाईंले केही पीर गर्नुपर्दैन । मैले राम्रै काम पाएको छु।’ 

छोराले यति भन्दा पनि आनन्दरामको अनुहारमा गाढा खुसी देखियो । आनन्दरामले भन्यो, ‘बाबु, अब तेरै भरोसा छ । जागिर खाँदा पढाइ बिग्रेला । पढाइ नरोक्नू है!’

बाआमाको भरोसा बन्न पाएकोमा सुवर्ण निकै हर्षित भएको थियो । शकुन्तलाको चाउरिएको अनुहार निकै उज्यालो भएको थियो । बेलाबेला फणिन्द्र चौलागाईंको दुव्र्यवहार सम्झिरहन्थ्यो । उसलाई भन्न मन लागेको थियो, ‘फणिन्द्रजी ! तपाईं मात्रै के फूर्ति लगाउनुहुन्छ ! अब मेरो पनि सहरमा एउटा घर हुन्छ।’

सहर पसेको पाँच वर्षमा सुवर्णले बजारशास्त्रमा स्नातक सक्यो । उसलाई राम्रो ठाउँबाट कामका लागि अफर आउन थाल्यो । तर उसले सुुरुकै काम छाडेन । धेरै कारणले उसका लागि पुरानै अफिस अनुकूल थियो । ऊ निजी बैंकको माथ्लै अधिकृत भइसकेको थियो।

सुवर्ण अफिसबाट दिउँसो कोठामा आयो । बाहिर सडकमा अफिसकै गाडी थियो । सुवर्णले भन्यो, ‘बुवा, आज घुम्न जाने है !’ आनन्दराम छक्क प¥यो । भन्यो, ‘मलाई मात्रै लान्छस् कि आमालाई पनि घुमाउँछस् ?’ सुवर्णले भन्यो, ‘बाआमा दुवैलाई लान्छु नि ! तपाईंहरूलाई घुमाएर अफिसमा पुग्नु छ।’ 

उनीहरु गाडीमा बसे । आधुनिक गाडीको आरामदायी सिटमा बस्दा आनन्दरामलाई आफ्ना दुःखका दिन सकिएजस्तो लाग्यो । उसले पद्मलालको अवैध धन्दा सम्झियो । ऊ झस्कियो । आफैँसँग कुरा गर्‍यो, ‘सुवर्णले पद्मको जस्तो नराम्रो काम त गरेको छैन होला !’ 

सुवर्ण आएर अगाडिको सिटमा बस्यो । गाडी मूल सडकमा निस्केर पूर्वतिर लाग्यो । आनन्दरामको मनमा कुरा खेलिरहेको थियो । सोच्यो, ‘यसले आज हामीलाई कता घुमाउन लाने होला ?’

१५–२० मिनेट गुडेपछि गाडी नीलो गेटबाट भित्र छि¥यो । सुवर्णले भन्यो, ‘बा र आमा ओर्लनुस् त ।’ शकुन्तला झसंग भइन् । उनी लामो तन्द्रामा थिइन् । गाउँमा बसेकी एक्ली छोरीको अनुहार आँखामा झलझली देखिरहेकी थिइन् । हिँड्ने बेला छोरी आएर डाँकै छाडी रोएकी थिई । आनन्दराम भने उही फणिन्द्र चौलागाईंको तुच्छ वचन सम्झिरहेको थियो । 
सबैजना गाडीबाट ओर्लिए । वरपरका घरका कौसीमा केही मानिस उनीहरूलाई हेरिरहेका थिए । सुवर्णले बाआमालाई अघि लगायो । भन्यो, ‘बा, यो घर आफ्नै मान्छेको हो । घरको मान्छे भेटेपछि तपाईंले थाह पाउनुहुन्छ।’ 

आनन्दराम दुविधामा प¥यो । शकुन्तला अन्योलमा परिन् । आनन्दरामले सोच्यो, ‘को रैछ आफ्नो मान्छे ? यतातिर आफ्ना मान्छेको घर भएको कुरा थाहै थिएन ।’ शकुन्तलाले सोचिन्, ‘यसले हामीलाई आज कसकोमा ल्यायो ? नयाँ ठाउँमा घुमाउला भनेको त कसको घरमा पो ल्याउँछ ।’ बाआमा टोलाएको देखेर सुवर्णले भन्यो, ‘अब माथि जाऊँ न ।’ आनन्दराम र शकुन्तला एकछिन फेरि अलमलिए। 

आनन्दराम भर्‍याङ चढ्न लाग्यो । भर्‍याङ चढ्दै गर्दा शकुन्तलाले सोचिन्, ‘हाम्रो पनि यस्तै चिटिक्क परेको स–सानो घर भएको भए, घरबेटीको कचकच त सुन्नुपर्ने थिएन । यस्तै घरमा एउटी बुहारी भिœयाउन पाए झन् कस्तो हुन्थ्यो होला !’ 
भ¥याङ चढिसकेपछि आनन्दरामले भन्यो, ‘कसको घरमा ल्याइसे ए कान्छा ?’ सुवर्णले भएभरको खुसी अनुहारमा थुपारेर भन्यो, ‘बुवा ! यो घर हाम्रै हो ।’

आनन्दरामले एकदिन दिउँसो सुत्दा यस्तै सपना देखेको थियो । र, फणिन्द्रलाई भनेको थियो, ‘के फूर्ति लगाउँछौ ? सहरमा हाम्रो पनि घर छ । अब त तिम्री छोरी दिन आए पनि मेरो छोराले बिहे गर्दैन।’

आनन्दरामलाई पत्याउनै गाह्रो भएको थियो । उता शकुन्तला छक्क परेकी थिइन् । ‘नपत्याए हेर्नुस् है त !’ सुवर्णभित्र पस्यो । तुरुन्तै बाहिर आयो । अकल्पनीय ! सुवर्णसँगै टाँसिएर भर्भराउँदी एउटी सुन्दरी उभिएकी थिई । त्यो अरू कोही नभएर फणिन्द्र चौलागाईंकी छोरी अनन्ता थिई। 

आनन्दरामले पुलुक्क हेर्‍यो । उसलाई रिँगटा लाग्यो । ठूलै भैँचालाले घर हल्लाएजस्तो भयो । आनन्दराम भुइँमा ढल्यो । सुवर्णले ‘बुवा !’ भनेर हात मात्रै समात्न भ्याएको थियो । आनन्दरामले अन्तिम सास फुस्सै वायुमण्डलमा हुत्याइदियो । एउटा इमानको अवसानपछि नाटकमा कालो पर्दा लाग्यो। 

प्रकाशित: १६ मंसिर २०७४ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App