गोर्खा–अंग्रेज युद्धको २५० वर्ष

सिन्धुलीगढीमा पृथ्वी हारेका भए....

शनिबार, १६ मङि्सर २०७४, १० : ०६ नागरिक

दिनेशराज पन्त 
नेपालको इतिहास अध्ययन गर्दा सिन्धुलीगढीको प्रसंग कुनै न कुनै रूपमा आइरहन्छ। प्राचीनकालदेखि नै सिन्धुली नेपाल खाल्डो प्रवेश गर्ने र बाहिरिने बाटोका रूपमा प्रयोग भएको देखिन्छ।

कतिपय व्यक्तिहरू तत्कालीन सिम्रौनगढबाट नेपाल खाल्डो आउँदा सिन्धुलीकै बाटो हुँदै आएका थिए । तिरौतहरू यही बाटोबाट नेपाल खाल्डो प्रवेश गरेको वर्णन पाइन्छ । वि.सं. १३८१ मा गयासुद्दिन तुगलकले लखेटेपछि हरसिंहदेव सिन्धुलीबाटै नेपाल खाल्डोतर्फ अघि बढ्दा बाटोमै बितेका थिए। 

नेपाललाई आश्रित राज्य वा ‘बफर स्टेट’ बनाएर राख्न अंग्रेजका लागि व्यावहारिक पनि थिएन । त्यसबेला कान्तिपुरमा जयप्रकाशलाई आश्रित बनाउँदा भादगाउँमा राजा रणजित मल्ल र पाटनमा राजा तेजनरसिंह मल्ललाई पनि बनाउनुपथ्र्यो । त्यति मात्र होइन, नेपालभरका ५२ भन्दा बढी राज्यमा आश्रित राजा राख्नुपथ्र्यो । 

सामरिक र रणनीतिक हिसाबले उत्कृष्ट भएकै कारण मल्लकालमा पनि सिन्धुली महत्त्वपूर्ण गढी थियो भन्ने प्रमाण भेटिएका छन् । मल्ल राजाहरूले सिन्धुली किल्लालाई कब्जामा लिँदा गौरव मान्थे भन्ने प्रताप मल्लका छोरा पार्थिवेन्द्र मल्लको शिलालेखबाट बुझ्न सकिन्छ । शिलालेखमा पार्थीवेन्द्र मल्लले सिन्धुली किल्लालाई दुर्गम र महत्त्ववपूर्ण भनी उल्लेख गरेका छन्। 

पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ गते नुवाकोट विजय गरेर नेपालको पुनःएकीकरण शिलान्यास गरे । एकीकरणका लागि उनले अत्यन्त परिश्रमपूर्वक काम गरे । वि.सं. १८०१ असोज १५ मा नुवाकोट जितेका उनले त्यहाँबाट जम्मा साढे सात कोस टाढाको काठमाडौं २५ वर्षको निरन्तर परिश्रमपश्चात् वि.सं. १८२५ असोज १३ मा मात्र जित्न सफल भए । वि.सं. १८१४ जेठ १९ मा कीर्तिपुर आएर हार खाएका उनले तेस्रो लडाइँमा वि.सं. १८२२ चैत ३ गते मात्र कीर्तिपुर विजय गरे। 

पृथ्वीनारायणको राज्य विस्तार, एकीकरण वा पुनर्एकीकरण जे भनिए पनि त्यो एकदमै परिश्रमका साथ सम्पन्न भएको थियो । उनले पहिलोपटक सिंगो राज्य जितेको मकवानपुर हो । राज्यको अंशका रूपमा भने नुवाकोट जितेका थिए । नुवाकोट त्यसबेला काठमाडौं राज्यअन्तर्गत थियो। 

मकवानपुर जित्नुमा पृथ्वीनारायणको सैन्य शक्तिभन्दा मकवानपुरका सेनाको विलासी जीवनले बढी भूमिका खेलेको देखिन्छ । त्यसै कारण हुनुपर्छ, पृथ्वीनारायणले पछि आफ्नो दिव्योपदेशमा समेत सैन्य बलका सदस्यलाई विलासी हुन दिन नहुने उल्लेख गर्दै भनेका छन् :

सिपाही र भैभारदारलाई धन कमाउन नदिनू, 
किनभने शौखमा पस्यो भन्या, लड्नमार्न मर्नमार्न सकैनन्। 
मकवानपुरका राजाहरूको भारतका मुगल शासकहरूसँग सम्पर्क थियो । तराईको भू–भाग भएकाले कृषि र वन उत्पादन राम्रो हुन्थ्यो । धन–सम्पत्ति भएकाले मकवानपुरका सेना गोर्खालीको तुलनामा विलासी थिए । उनीहरूमा पहाडीको जस्तो रणकौशल थिएन । त्यसको फाइदा पृथ्वीनारायणले उठाए । भागेर गएका पृथ्वीनारायणका जेठान एवं मकवानपुरका तात्कालिक राजा दिग्बन्धन सेन भने परिवारको मायाले उनको कब्जामा आएका थिए। 

गोर्खालीले मकवानपुरमा कब्जा गरेपछि बंगालका राज्यच्युत नवाब मिर कासिमले त्यस क्षेत्रमा आँखा लगाए । राज्यच्युत उनलाई पहाडी भू–भाग नियन्त्रण गरी अंग्रेजसँग लड्न सकिन्छ भन्ने लागेको थियो । उनले अर्मेनियाबाट आएका लडाकु ग्रे गुरीलाई गुरगिन खाँ बनाई वि.सं. १८१९ पुसमा गोर्खाली फौजसँग लड्न पठाए । जबकि त्यसै वर्ष भदौमा मात्र पृथ्वीनारायण शाहले मकवानपुर जितेका थिए। 

मिर कासिमको फौजलाई गोर्खाली फौजले जित्यो । त्यसबेला मुसलमान सेनालाई पृथ्वीनारायणले हराउन नसकेका भए एकीकरण अभियान त सफल हुन्थेन नै, नेपाल अहिलेको रूपमा नरहन सक्थ्यो। 

मकवानपुर विजयपछि पृथ्वीनारायणले क्रमशः उपत्यका आसपास र उपत्यकाका क्षेत्र जित्दै गए । वि.सं. १८२४ सम्म पुग्दा त उनी उपत्यकाको पाटनसम्म जित्ने अवस्थामा पुगिसकेका थिए । उपत्यका विजयपूर्वको एउटा रोचक तथ्य वि.सं. १८१४ मा काठमाडौंका राजा जयप्रकाश मल्लले पृथ्वीनारायणलाई लेखिदिएको धर्मपत्र पनि हो । त्यो नेपालीमा लेखिएको छ । त्यसमा विक्रम संवत् प्रयोग भएको छ । धर्मपत्रमा नालदुम अर्थात् अहिलेको नगरकोट आसपासको क्षेत्र ‘काठमाडौं राज्यले प्रयोग गर्न पाओस्, पाटनचाहिँ गोर्खाले खाओस्’ भनेर लेखिएको छ । नालदुम त्यसबेला उपत्यकाको पूर्वतर्फबाट तिब्बत जाने एउटा नाका थियो। 

त्यो सन्धि खासै चलेन । सायद पृथ्वीनारायण र जयप्रकाश दुवैले त्यसलाई फाइदाकारी देखेनन् । वि.सं. १८२४ मा जयप्रकाशका दूत भारतको पटना पुगेर अंगे्रजसँग सहयोग मागे । जयप्रकाशको सहयोगार्थ किनलकको नेतृत्वमा इस्ट इन्डिया कम्पनीको फौज नेपालतर्फ अघि बढ्यो।

त्यसबेला मकवानपुर राज्य क्षेत्रमा अहिलेका बारा, पर्सा, जनकपुरलगायत पर्थे । पृथ्वीनारायणले किनलकको सेनालाई ती क्षेत्रबाट सुरुसुरु आउन दिए । उनले दिव्योपदेशमै भनेका छन्, ‘जाई कटक नगर्नु, झिकी कटक गर्नू ।’ किनलकको फौजसँग लड्न पनि उनले त्यही नीति अवलम्बन गरेको देखिन्छ । उनलाई मैदानमा लड्ने आफ्नो सामथ्र्य छैन भन्ने थाहा थियो । त्यसले उनी मैदानतर्फ लड्न गएनन्। 

गोर्खाली फौज सिन्धुलीमै अंग्रेज सेनालाई ढुकेर बस्यो । पृथ्वीनारायणले वंशराज पाँडे, वंशु गुरुङलगायतको नेतृत्वमा सिन्धुली क्षेत्रमा आफ्ना सेना खटाएका थिए । किनलक नेतृत्वको कम्पनी फौज पहाडी भू–भाग र बनोटबारे उत्ति जानकार थिएन । हुन त उनीहरूसँग आधुनिक हतियार थिए । तर, पहाडी भू–भागमा लड्ने रणनीतिमा भने कमजोर देखिए । 
गोर्खाली फौजले तरबार, भाला, धनुकाँडले नै लडे । ढुंगा र घँुएत्रोजस्ता हतियार पनि प्रयोग भए । सबैभन्दा रोचक के छ भने, गोर्खाली फौजले अरिंगाल र बछ्युँका गोलालाई समेत हतियारको रूपमा प्रयोग गरे । उनीहरूले कम्पनी फौजका सेनालाई अरिंगाल र बछ्युँका गोला एवं सिस्नो र अल्लो घारीतर्फ धकेलेर प्राकृतिक धरापमा समेत पारेको बखान भेटिएका छन् । अन्ततः वि.सं. १८२४ असोज १५ गते कम्पनी फौजले गोर्खालीसँग हार मानी सिन्धुलीबाट फर्कियो । 
पृथ्वीनारायणले सिन्धुलीमा अंग्रेजमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा अहिले विजय उत्सव मनाउन थालिएको रहेछ । त्यो एकदमै स्तुत्य कुरा हो । इतिहास भनेकै गौरव गर्ने कुरा हो । कतिपयले इतिहासमा हाम्रो राज्य यहाँसम्म पुगेको थियो, त्यो फिर्ता ल्याउनुपर्छ समेत भनिरहेका छन् । त्यो सबै बसवास र असम्भव कुरा हो । गइसकेका राज्य फिर्ता हुँदैनन् । त्यसमाथि हामीले गौरव भने गर्न सक्छौँ।

सिन्धुलीगढीका हकमा भने जसले विजय दिवस मनाउन थाले, उनीहरूले एकदमै राम्रो काम गरेका हुन् । त्यति हुँदाहुँदै पनि कमजोरी देखिएको छ । हाम्रो शास्त्रमा कुनै काम गर्दा सही मितिमा सही तरिकाले गरिएन भने त्यसको फल प्राप्त हुँदैन भन्ने उल्लेख छ । धार्मिक कार्यमा शर्मणः भन्नुपर्ने ठाउँमा शर्मणस्यः भनियो भने फल प्राप्त हुँदैन भनेर शास्त्रले भन्छ । सिन्धुलीगढीको हकमा पनि त्यही लागू हुन जान्छ। 

अहिले सिन्धुलीगढीमा कात्तिक २४ गते विजयोत्सव मनाउन थालिएको छ, त्यसलाई रोक्नुपर्छ । त्यसलाई अर्को वर्षदेखि रोकेर असोज १५ गते नै मनाउनुपर्छ । किनकि असोज १५ गतेकै दिन विजय प्राप्त भएको हो, कात्तिक २४ गते होइन । मैले २०६७ सालमा प्रकाशित मेरो पुस्तक ‘महामण्डलदेखि काँगडासम्म’मा नै असोज १५ गते विजय प्राप्त भएको कुरा लेखिसकेको छु। 

त्यसबेला सिन्धुलीगढीमा गोर्खाली सेनाले पराजय भोगेको भए के हुने थियो भनेर विचरण गर्दा हामीले उसबेलाको भू–राजनीतिक र सामरिक अवस्थाको मूल्यांकन गर्नुपर्ने हुन्छ । त्यस दिन कम्पनी सेना पराजित भएर फर्कनुको सट्टा उपत्यका पस्न पाएको भए, जयप्रकाश मल्ल वि.सं. १८२५ सम्म पनि काठमाडौंका राजा हुन पाउने थिएनन् होला । नेपालको अहिले रूप रहने त कल्पनै गर्न सकिँदैनथ्यो। 

पृथ्वीनारायणले कम्पनी फौजसँग सिन्धुलीमा हारेका भए नेपालको एकीकरण हुने थिएन । पृथ्वीनारायण त खत्तम हुन्थे नै, अहिलेजस्तो नेपाल भन्ने देशै रहँदैनथ्यो । यता, जयप्रकाश मल्ल पनि राजाकै रूपमा रहने सम्भावना कम हुन्थ्यो । नेपाल खाल्डोमा किनलकको सेना पसेको भए फर्केर जानेवाला थिएन। 

किनलक नेपालबाट फर्कन चाहँदैन थिए भन्ने सिन्धुलीगढीमा हारेपछि पनि उनी बारा, पर्सा क्षेत्रमा तीन–चार वर्ष बसेको कुराले पुष्टि गर्छ । उनले त्यहाँ कब्जा जमाएर बसेका थिए । पृथ्वीनारायण शाहले भने केही गरेनन्, ‘खाए खाइराखोस्’ भनेर छाडिदिए। 

पछि त्यहाँ औलोको प्रकोप भयो, आम्दानी पनि धेरै भएन । इस्ट इन्डिया कम्पनीको क्षेत्रबाट सन्न्यासीले उपद्रव मच्चाएर नेपालतर्फ लुक्ने गर्थे । पृथ्वीनारायणले तिनलाई म धपाइदिन्छु भनेर कूटनीतिक पहल गरेपछि मात्र किनलक फिर्ता भएका हुन् । यसले कम्पनी फौजले नेपाललाई कब्जा गरेको भए कुनै पनि हालतमा फिर्ता जाने थिएन भन्ने देखाउँछ । 
त्यसबेला अंग्रेज नेपाललाई आफ्नो बनाउन चाहिरहेकै थिए । त्यसका लागि उनीहरूलाई दुईवटा मुख्य कुराले प्रेरित गरेको थियो– शीत प्रदेशको खोजी र भोटसँगको व्यापार । यी दुवै स्वार्थ पूरा गर्न उनीहरू नेपाल पसेका भए हटाउन सकिँदैनथ्यो। 

प्राचीन कालमा नेपाल विशाल थियो । बीचमा टुक्रिएर स–साना राज्यमा बाँडिएको नेपाललाई पृथ्वीनारायणको पालामा एकीकरण अभियान थालिएको थियो । त्यसबखत मिर कासिमको सेनासँग वा इस्ट इन्डिया कम्पनीसँग हारेको भए पनि नेपालको यो रूप रहने नै थिएन। 

अंग्रेजले सिन्धुलीगढीमा जितेर उपत्यका पसेको भए के हुन्थ्यो ? भन्ने प्रसंगमा अर्को सम्भावना भनेको जयप्रकाश मल्लले आश्रित राज्य चलाउन पाउँथे होला । तर, अंग्रेजले त्यसरी सीधै आश्रित राज्य राख्ने सम्भावना पनि कमै देखिन्छ । किनकि जयप्रकाश मल्ल आफैँ वीरचेत भएका राजा थिए। 

उनले आफ्नो राज्यलाई बाह्य आक्रमणबाट बचाउन नै बाहिरबाट नगरकोटी सेना झिकाएका थिए । धर्ममा विश्वास गर्ने हुँदाहुँदै सेना विस्तारका लागि उनले मन्दिरमा गाडिएका सम्पत्ति समेत खोतलेर प्रयोग गरे । उनी अधर्मी भएर त्यस्तो गरेका होइनन्, सायद अरुलाई जितेपछि फेरि झिकेको सम्पत्ति दोब्बर–तेब्बर राखेर भए पनि पापमोचन गर्ने उद्देश्यसाथ निकालेका थिए । त्यसले गर्दा वीरचेत भएका मल्ललाई अंग्रेजले आश्रित राजा बनाइराख्न सक्थे भन्ने देखिँदैन ।
नेपाललाई आश्रित राज्य वा ‘बफर स्टेट’ बनाएर राख्न अंग्रेजका लागि व्यावहारिक पनि थिएन । त्यसबेला कान्तिपुरमा जयप्रकाशलाई आश्रित बनाउँदा भादगाउँमा राजा रणजित मल्ल र पाटनमा राजा तेजनरसिंह मल्ललाई पनि बनाउनुपथ्र्यो । त्यति मात्र होइन, नेपालभरका ५२ भन्दा बढी राज्यमा आश्रित राजा राख्नुपथ्र्यो। 

अंग्रेजले नेपाललाई खनिज, खेतीयोग्य जमिनभन्दा पनि सामरिक हिसाबले आफ्नो कब्जामा पार्न खोजेका थिए । त्यसका लागि उनीहरूलाई आफ्नो बृहत् कम्पनी राज्यमा गाभ्दा नै फाइदा पुग्थ्यो । उच्च पहाडी स्थानमा रहेको नेपाललाई आफ्नो बनाउँदा उनीहरू सामरिक रूपमा थप शक्तिशाली हुने थिए। 

त्यसबेला अंग्रेजहरू भर्खरै भारतमा आएका थिए । वि.सं. १८१४ मा बंगालबाट पसेका अंग्रेजले वि.सं. १८२४ मै नेपाल आक्रमण गरेका थिए । त्यति छोटो समयमा नेपाल आइपुग्दा उनीहरूमा यो भू–भागलाई गाभ्ने नै मनसाय प्रबल थियो भन्न सकिन्छ । 

किनलक ‘न्यारेटिभ्स्’
सिन्धुलीगढी युद्ध अभियानको नेतृत्व गरेका इस्ट इन्डिया कम्पनी सेनाका कमान्डर किनलकले लेखेको डायरी उनले सम्झेका कुराको टिपोट हो । उनले अलिकति आफूलाई जोगाएर लेखेका छन् । तर, यो महŒवपूर्ण लेखोट हो । उनले आफूलाई बचाएर लेखे पनि हामीले धेरै कुरा त्यसबाट पाउन सक्याैँ । 

सरसर्ती पढ्दा किनलकको ‘न्यारेटिभ्स्’मा हुँदै नभएका कुरा भएको जस्तो लागेको छैन । उनले डायरीमा यहाँको प्रकृति र खनिज पदार्थ लगायतको वर्णन गरे पनि त्यसैका लागि युद्ध भने गरिएको थिएन। 

युद्धको मुख्य मक्सद नै रणनीतिक र सामरिक थियो । तर, जमिन र खनिजको लोभ छँदै थिएन भन्न त मिल्दैन । वि.सं. १४०६ मै बंगालका सुल्तान सम्सुद्दिन इलियासले नेपालका मठ–मन्दिरमा समेत सुन टल्केको देखेर आक्रमण गरेका थिए । तर, ती सबै सुनका जलप मात्र थिए। 

किनलकले नेपालको सामरिक महत्त्व बुझेर नै आक्रमण गरेका हुन् । यहाँको जग्गा र खनिज भनेको उनका लागि पनि ‘सेकेन्डरी’ कुरा थियो । पछि भएको नेपाल–अंग्रेज युद्ध पनि सामरिक कारण नै भएको हो । त्यसबेला उनीहरूले तिब्बतसँग व्यापारका लागि कुमाउलगायत पहाडी भू–भागको बाटो खोजेका थिए।

सिन्धुलीगढीमै अंग्रेजको जित भएको भए उनीहरू थप शक्तिशाली हुने थिए । विश्व विजेताजस्तो बनिरहेको बेलायती साम्राज्यको बखान थप बढ्थ्यो । जंगबहादुरको पालामा अंग्रेज रेजिडेन्सीमा सर्जनका रूपमा आएका डेनियल राइटले लेखेको पुस्तकमा ‘हामी केही लाख पाउन्ड र केही हजार सेना खर्च गरेर नेपाललाई जित्न सक्छौँ, तर नेपाललाई किन जित्ने ?’ भन्ने भाव छ । हुन त त्यसबेला नेपाल उनीहरूअनुकूल भएकाले पनि हो । प्रतिकूल भएको भए त सिध्याउने लक्ष्य हुन्थ्यो होला। 

सिन्धुलीगढी युद्धकै कारण नेपालको कूटनीतिक इतिहासमा पनि प्रभाव परेको छ । त्यहाँ हारेको भए त ‘नरहे बाँस, नबजे बासुरी’ हुन्थ्यो । तर, त्यस जितले अंग्रेजी शक्तिलाई गोर्खालीसँग सकिँदैन भन्ने भाव उत्पन्न गराइदियो । स्वयं पृथ्वीनारायण पनि किनलकको सेनालाई लखेट्न गएनन्, मेरो बल पुग्दैन भनेर। 

उनले वि.सं. १८२७ मा अंग्रेजकै लक्ष्यअनुसार शाह आलमबाट परवानापत्र लिए । अंग्रेजको कब्जाबाट तराईलाई मुक्त गर्न कोलकातामा दूत राख्ने र दीनानाथ उपाध्यायलाई पठाउने काम गरे । त्यसमा पनि सिन्धुलीमा भएको अंग्रेजसँगको युद्धको कुनै न कुनै योगदान छ । यी सबै दृष्टिकोणबाट विचार गर्दा नेपाल आजको जस्तो स्वतन्त्र मुलुक रहनुमा सिन्धुलीगढी युद्धको महत्त्वपूर्ण योगदान देखिन्छ।

(विष्णु पोखरेलसँगको कुराकानीमा आधारित ।)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad