७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल अमेरिकासँग पराजित

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेल खेल्नुअघि नेपाल अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ । च्याम्पियनसिपमा नेपालले बुधबार र शुक्रबार संयुक्त अरब इमिरेट्स(युएई)सँग अबुधाबीको शेख जायेद क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्नेछ। 

युएइविरुद्धको खेलअघि नेपालले अमेरिका र केन्यासँग युएइमै अभ्यास खेल खेल्ने योजना थियो । शुक्रबार नेपालले सुरुआतमा ब्याटिङ गरे पनि गतिलो स्कोर बनाउन सकेन । ३६.१ ओभर क्रिजमा टिकेको नेपालले ८९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। 

राष्ट्रिय टोलीका नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास खेल खेलेनन्। 

कप्तान र उपकप्तानले नखेलेपछि टोलीका सिनियर खेलाडी शरद् भेषावकरले नेपाली टोलीको कप्तानी गरेका थिए। ब्याट्सम्यानले गतिलो स्कोर गर्न नसकेको खेलमा स्पिनर वसन्त रेग्मीले २१ रन बनाए। 

वसन्तले बनाएको रन नेपाली खेलाडीले जोडेको व्यक्तिगत सर्वाधिक रन बन्यो। ओपनर दिलीप नाथले १६ र सागर पुनले ९ रन बनाए । यु–१९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले १२ रन, कुशल भुर्तेलले १० रन बनाए पनि अन्यले दोहोरो स्कोर जोड्न सकेनन् । शरद खाता खोल्न नसकेर जापिन पटेलको बलमा आउट भए। अमेरिकाका लागि जापिनले सर्वाधिक ४ विकेट लिए । उनले ४.३ ओभरमा ८ रन खर्चेका थिए । रोय सिल्भा र नोस्तुस केन्जिइले समान २ विकेट लिन सफल भए । 
नेपालले दिएको ९० रनको लक्ष्य अमेरिकाले २२.३ ओभरमा पूरा गरेको थियो । ओपनर सइद अब्दुल्लाले ४४ रनको योगदान गरेर अमेरिकालाई जितको नजिक पुर्‍याएका थिए। 

४० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका सइदलाई सागर पुनले आउट गरे । ओपनर सइद आउट हुँदा अमेरिकाले १६.३ ओभरमा ६४ रन बनाउँदै जितनजिक पुगेको थियो। 

अमेरिकाका लागि रोय सिल्भाले अविजित २५ र टिमिल पटेलले ७ रन बनाए। 
नेपालका लागि सागर पुन र सोमपाल कामीले समान २ विकेट लिए । सागरले ३ ओभरमा १७ रन र सोमपालले ८.३ ओभरमा ४७ रन खर्चेका थिए । अब नेपालले आइतबार केन्यासँग अर्को अभ्यास खेल खेल्नेछ। 

जारी च्याम्पियनसिपमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १२ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल अंकतालिकाको छैटौं स्थानमा छ भने ६ अंकका साथ युएई पुछारमा छ । शीर्ष दुई टोली २०१८ को विश्वकप छनोटलाई छानिने व्यवस्थाअनुसार नेपाल त्यसयबाट वञ्चित भइसकेको छ। 

यसै गरी शीर्ष टोलीले २०२० देखि २०२२ सम्मको अन्तर्राष्ट्रिय एकदिवसीय लिग पनि खेल्न पाउनेछ । तेस्रोदेखि पाँचौं स्थानसम्म आउने टोली च्याम्पियनसिपमै कायम रहनेछन् । नेपाल भने शीर्ष पाँचलाई छानिने सम्भावनाबाट पनि टाढिइसकेको छ । पुछारका तीन स्थानमा सीमित हुने पक्का भइसकेको नेपाल डिभिजन २ मा घटुवा भइसकेको छ। 

युएइसँग खेल्ने टोलीमा पारससहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, सागर पुन, मोहम्मद आरिफ शेष, करण केसी, सन्दीप लामिछाने,  यु १९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ र ललित भण्डारी छन् । कुशल र अनिल नेपाली टोलीसँगै युएइको भ्रमणमा छन्। 

राष्ट्रिय टोलीका नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास खेल खेलेनन् । कप्तान र उपकप्तानले नखेलेपछि टोलीका सिनियर खेलाडी शरद् भेषावकरले नेपाली टोलीको कप्तानी गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७४ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App