coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

छैटौंपटक बाजी मार्न पौडेल मैदानमा

तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदातासँग आफूलाई मत माग्न घरदैलो अभियानमा सहभागी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल । तस्बिर : श्रीहरि

तनहुँ – २०४६ सालको परिवर्तनपछि भएका निर्वाचनमा नेपाली कांग्रेसका औलामा गन्न सकिने नेताहरूले मात्र लगातार विजय हासिल गर्दै आएका छन् । तिनैमा पर्छन्– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।  

अहिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले यसअघि साबिक तनहँु १ बाट २०४८ तथा तनहुँ २ बाट २०५१, २०५४, २०६४ र २०७० सालको निर्वाचनमा लगातार जित हात पारेका थिए । राजनीतिमार्फत निरन्तर समाजसेवामा लाग्दै आएका पौडेल यसपटक पनि चुनाव जित्नेमा आशावादी छन्।

‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना भएको र यो क्षेत्रको विकासका लागि पनि उहाँलाई जिताउनुपर्छ ।
सुरेशकुमार श्रेष्ठ, मतदाता,  व्यास–३ 

पौडेलसँग वाम गठबन्धनका साझा उम्मेदवार एवं एमाले नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ प्रतिस्पर्धामा छन् । एमाले र माओवादी केन्द्रको भोट आफूले पाउने भएकाले पौडेललाई चुनौती दिन सक्षम रहेको श्रेष्ठको दाबी छ । पौडेल पनि आफूले सिद्धान्त, निष्ठा र आदर्शको राजनीति गरेका कारण विजयी हुनेमा ढुक्कजस्तै देखिन्छन् । ‘तनहुँवासीले अहिलेसम्म पत्याएर मलाई विजयी गराउनुभयो, यसपालि पनि जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु,’ पौडेलले भने । 
तनहुँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीसहित पछिल्लो समय सेती जलविद्युत् आयोजना निमार्ण, गिरिजाप्रसाद कोइराला स्वाशप्रश्वास केन्द्र जस्ता ठूला आयोजना भिœयाउन पौडेलले सहयोग पुर्‍याएका छन् । ‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना भएको र यो क्षेत्रको विकासका लागि पनि उहाँलाई जिताउनुपर्छ,’ व्यास–३ का सुरेशकुमार श्रेष्ठले भने। 

निर्वाचन क्षेत्र नं १ मा पर्ने  व्यास नगरपालिकाका अधिकांश भूभाग क्यामिन, रिस्ती, पोखरीभञ्ज्याङ धरमपानी केशवटार, भानु नगरपालिकाको विभिन्न स्थान, देवघाट र आवुखैरेनी गाउँपालिकालगायत स्थानमा कांग्रेसको राम्रो पकड छ । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले भन्छन्, ‘पौडेल हेभिवेट उम्मेदवार हुन् । तनहुँको विकास निर्माणमा उहाँले धेरै काम गर्नुभएको छ ।’ 

तनहुँको विकासमा २०४८ र ५१ को समयलाई विकासको स्वर्णिम कालको रुपमासमेत लिने गरिएको छ । उक्त समयमा पौडेलले विकासकार्यकोे नेतृत्व लिएका थिए ।  कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पौडेलविरुद्घ उम्मेदवारी दर्ता गराए पनि निर्वाचन आयोगले रद्द गरिदिएको छ । यसबाट पौडेललाई सहज भएको विश्लेषकको भनाइ छ । यति हुँदाहुँदै पनि वाम गठबन्धनका उम्मेदवार श्रेष्ठको चुनौती सामना गर्न उनले मेहनत गर्नुपर्ने स्थिति छ । वाग्लेका अनुसार जिल्लामा वाम गठबन्धनपछि कांग्रेसमा गुटउपगुट न्यून हुँदै गएको छ। 

२०७० सालको निर्वाचनमा पौडेल र श्रेष्ठबीच नै प्रतिस्पर्धा भएको थियो । त्यसबेला पौडेल ६ हजार मतअन्तरले विजयी भएका थिए । स्थानीय तहलाई आधार मान्दा तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २८ हजार तिन सय ६१, एमालेले २२ हजार आठ सय ७५ र माओवादी केन्द्रले सात हजार एक सय ९७ मत प्राप्त गरेका थिए । संगठनात्मक हिसाबले तनहुँ १ मा नेपाली कांग्रेस बलियो भए पनि वाम गठवन्धन स्थानीय चुनावमा प्राप्त मतको हिसाबले १ हजार ७ सय ११ मतले अगाडि देखिन्छ ।  पौडेललाई नयाँ शक्ति, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायत दलले सहयोग गर्ने भएका छन्।  

प्रकाशित: १६ मंसिर २०७४ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App