coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

त्रिपक्षीय कडा प्रतिस्पर्धा

सुरेन्द्र पौडेल/भाषा शर्मा

काठमाडौं – प्रदेश नम्बर २ का ८ जिल्लामा मंसिर २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । यो प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला रहेका छन् । प्रत्यक्ष हुने निर्वाचनमार्फत दुई नम्बर प्रदेशबाट प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ जनाले प्रतिनिधित्व गर्नेछन् । प्रदेश नं.२ बाट प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न पार्टीका कुल ९६ उम्मेदवार विजयी हुनेछन् । प्रत्यक्ष निर्वाचनमार्फत प्रदेश २ का प्रत्येक जिल्लाबाट ४ जना विजयी उम्मेदवार प्रतिनिधिसभा र ८ जना प्रदेशसभामा जानेछन्। 

प्रदेश २ मा मुख्यतया लोकतान्त्रिक, वाम र राजपा–फोरम गरी तीनवटा गठबन्धन निर्वाचन प्रतिस्पर्धामा देखिन्छन् । यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खसेको मतले पनि यो प्रदेशमा यी तीनवटा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखाउँछ । लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी छन् भने वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरे भावर, जनजागरण पार्टी नेपाल, समाजवादी जनता पार्टी रहेका छन् । यस्तै राजपा–फोरम गठबन्धनमा मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल छन्। 

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेश २ मा रहेका कुल ९६ सिटमध्ये ४७ मा वाम गठबन्धन, ३१ वटामा राजपा–फोरम गठबन्धन र १८ वटामा लोकतान्त्रिक गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्दा प्रदेश २ मा लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनभन्दा वाम गठबन्धन केही बलियो देखिन्छ । प्रदेश २ मा रहेका प्रतिनिधिसभाका ३२ क्षेत्रमध्ये स्थानीय निर्वाचनमा १७ वटामा वाम गठबन्धनले अन्य दुई गठबन्धनको भन्दा बढी मत ल्याएको थियो । प्रदेश २ मा रहेका प्रतिनिधिसभाका आधाभन्दा बढी क्षेत्रमा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले सबैभन्दा बढी मत ल्याएको थियो । यस्तै प्रतिनिधिसभाका ३२ क्षेत्रमध्ये राजपा–फोरम गठबन्धनले ८ र लोकतान्त्रिक गठबन्धनले ७ वटा क्षेत्रमा सबैभन्दा बढी मत पाएका थिए। 

प्रदेश २ मा प्रदेशसभाका लागि ६४ वटा क्षेत्र रहेका छन् । अर्थात् प्रदेश २ को प्रदेशसभामा ६४ जना सदस्यको प्रतनिधित्व रहनेछ । गत स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्दा प्रदेश २ का ६४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये झन्डै आधा ३० वटामा वाम गठबन्धनका पक्षमा सबैभन्दा बढी मत खसेको थियो । यस्तै, प्रदेशसभाका ६४ क्षेत्रमध्ये २३ वटामा राजपा–फोरम गठबन्धन र ११ वटामा लोकतान्त्रिक गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । समग्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेश २ मा रहेका कुल ९६ क्षेत्रमध्ये ४७ मा वाम गठबन्धन, ३१ वटामा राजपा–फोरम गठबन्धन र १८ वटामा लोकतान्त्रिक गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत पाएका थिए । स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा प्रदेश २ का ८ वटै जिल्लामा वाम, लोकतान्त्रिक र राजपा–फोरम तीन गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

सप्तरी 

सप्तरीबाट प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ८ जना उम्मेदवारले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमार्फत सम्तरीबाट कुल १२ उम्मेदवार विजयी हुनेछन् । स्थानीय तह निर्वाचनमा यो जिल्लामा सबैभन्दा बढी मत लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा यहाँ लोकतान्त्रिक गठबन्धनले ८१ हजार ७ सय ४८, वाम गठबन्धनले ६३ हजार ४ सय ४० र राजपा–फोरम गठबन्धनले ८० हजार ३ सय ८९ मत प्राप्त गरेका थिए। 

स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार बनाउँदा सप्तरीमा तीन गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । सप्तरीका प्रतिनिधिसभाका चार क्षेत्रमध्ये गएको स्थानीय निर्वाचनमा २ र ३ मा लोकतान्त्रिक गठबन्धन, ४ मा वाम गठबन्धन र १ मा राजपा–फोरम गठबन्धनले बढी मत ल्याएका थिए । यस्तै, प्रदेशसभाका ८ क्षेत्रमध्ये ४ वटामा राजपा–फोरम गठबन्धन, २ वटामा लोकतान्त्रिक गठबन्धन र २ वटामा वाम गठबन्धनले बढी मत प्राप्त गरेका थिए। 

सप्तरी प्रतिनिधिसभा सदस्य क्षेत्र नं.१ मा राजपा–फोरम गठबन्धनले बढी मत ल्याएको थियो भने क्षेत्र नंं. २ र ३ मा लोकतान्त्रिक गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । यस्तै सप्तरी क्षेत्र नं.४ मा भने वाम गठबन्धनले सबैभन्दा बढी मत पाएको थियो । प्रदेशसभाअन्तर्गतको सप्तरी क्षेत्र नं.१ (क) मा वाम गठबन्धनले स्थानीय निर्वाचनमा बढी मत ल्याएको थियो भने १(ख) मा राजपा–फोरम गठबन्धनले। 

सप्तरी प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) मा लोकतान्त्रिक गठबन्धन र २(ख) मा राजपा–फोरमलाई बढी मत प्राप्त भएको देखिन्छ । क्षेत्र नं.३ (क) मा लोकतान्त्रिक गठबन्धनले बढी मत प्राप्त गरेको थियो भने ३ (ख) मा राजपा–फोरम गठबन्धनले अन्य दलको भन्दा बढी मत ल्याएको थियो । क्षेत्र नं.४ (क) मा वाम गठबन्धनलाई अन्य दलको तुलनामा बढी मत प्राप्त भएको थियो । यस्तै, क्षेत्र नं.४ (ख) मा भने राजपा–फोरमलाई बढी मत परेको थियो। 

समग्रमा गएको स्थानीय निर्वाचनमा सप्तरीमा रहेका प्रतिनिधिसभा तथा प्रदेशसभाका १२ क्षेत्रमध्ये ५ वटामा राजपा–फोरम गठबन्धन, ४ वटामा लोकतान्त्रिक गठबन्धन र ३ वटामा वाम गठबन्धनले बढी मत प्राप्त गरेका थिए। 

सिरहा

सिरहाबाट प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ८ जना उम्मेददार विजयी हुनेछन् । मंसिर २१ गते हुने निर्वाचनबाट कुल १२ जना उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् । गएको स्थानीय निर्वाचनमा सिरहामा सबैभन्दा बढी मत वाम गठबन्धनले प्राप्त गरेको थियो । यहाँ स्थानीय निर्वाचनमा वाम गठबन्धनले १ लाख १ हजार ६ सय ६९, राजपा–फोरम गठबन्धनले ६३ हजार ६ सय ९८ र लोकतान्त्रिक गठबन्धनले ६२ हजार ७ सय ६४ मत पाएका थिए। 

स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई आधार मान्दा सिरहामा लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनभन्दा वाम गठबन्धन निकै मजबुत देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी कुल १२ क्षेत्र रहेको सिरहामा गएको स्थानीय निर्वाचनमा दुई क्षेत्रबाहेक सबैमा वाम गठबन्धनले बढी मत प्राप्त गरेको देखिन्छ । सिरहाका ४ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये चारवटैमा वाम गठबन्धनले बढी मत प्राप्त गरेका थिए गत स्थानीय निर्वाचनमा । ८ वटा प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनले एक÷एक क्षेत्रमा बढी मत ल्याएका थिए भने बाँकी ६ वटामा वाम गठबन्धनले बढी मत प्राप्त गरेको देखिन्छ। 

सिरहा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा वाम गठबन्धनले बढी मत प्राप्त गरेको थियो भने १ (ख) मा लोकतान्त्रिक गठबन्धनले । क्षेत्र नं.२ (क) र (ख) दुवैमा वाम गठबन्धनले गत स्थानीय निर्वाचनमा बढी मत ल्याएको थियो । यस्तै क्षेत्र नं.३ को (क) र (ख) मा पनि वाम गठबन्धनले नै स्थानीय निर्वाचनमा बढी मत प्राप्त गरेको थियो । क्षेत्र नं. ४ (क) मा पनि वाम गठबन्धनले नै बढी मत पाएको थियो । क्षेत्र नं.४ (ख) मा भने राजपा–फोरम गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनको मतलाई आधार मान्दा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि यो जिल्लामा वाम, लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। 

धनुषा

प्रत्यक्ष निर्वाचनमार्फत धनुषाबाट प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट कुल १२ जना उम्मेदवार धनुषाबाट विजयी हुनेछन् । गएको स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाउँदा धनुषामा सबैभन्दा मजबुत वाम गठबन्धन देखिएको छ । गत स्थानीय निर्वाचनमा धनुषामा सबैभन्दा बढी मत वाम गठबन्धनले पाएको थियो । यो जिल्लामा वाम गठबन्धनले ८६ हजार ९ सय १८, लोकतान्त्रिक गठबन्धनले ८० हजार ५ सय २१ र राजपा–फोरम गठबन्धनले ६० हजार २ सय १६ मत प्राप्त गरेका थिए। 

प्रतिनिधिसभाका चार क्षेत्रमध्ये गत स्थानीय निर्वाचनमा ३ वटामा वाम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धनले सबैभन्दा बढी मत पाएका थिए । यस्तै, प्रतिनिधिसभाका ८ क्षेत्रमध्ये स्थानीय निर्वाचनमा राजपा–फोरमले २ र लोकतान्त्रिक गठबन्धनले एक क्षेत्रमा बढी मात्र प्राप्त गरेका छन्,। बाँकी ५ प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनलाई बढी मत झरेको थियो। 

धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१, २ र ४ मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले बढी मत प्राप्त गरेको थियो । क्षेत्र नं.३ मा भने लोकतान्त्रिक गठबन्धनले बढी मत पाएको थियो । यसैगरी धनुषा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) र (ख) दुवै क्षेत्रमा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको पक्षमा बढी मत खसेको थियो । क्षेत्र नं. २ (ख) मा पनि वाम गठबन्धनले नै बढी मत पाएको थियो भने २ (क) मा भने लोकतान्त्रिक गठबन्धनको पक्षमा बढी मत झरेको थियो। 

धनुषा प्रदेशसभा निर्वाचन क्षेत्र नं.३ (क) वाम गठबन्धन र ३(ख) मा राजपा–फोरम गठबन्धनले बढी मत पाएका थिए । राजपा–फोरम गठबन्धनको पक्षमा गएको क्षेत्र नं.४ (क) मा स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत खसेको थियो । यस्तै क्षेत्र नं.४ (ख) भने वाम गठबन्धनले अन्य गठबन्धनको तुलनामा स्थानीय तह निर्वाचनमा बढी मत ल्याएको देखिन्छ । स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि यहाँ तीन गठबन्धनबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

महोत्तरी

महोत्तरीबाट प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमार्फत महोत्तरीबाट कुल १२ जना उम्मेदवार विजयी हुनेछन् । गएको स्थानीय निर्वाचनमा खसेको मतलाई आधार बनाउँदा महोत्तरीमा सबैभन्दा बलियो राजपा–फोरम गठबन्धन देखिएको छ । स्थानीय निर्वाचनमा यो जिल्लामा सबैभन्दा बढी मत राजपा–फोरम गठबन्धनले पाएको थियो। 

महोत्तरीमा गत स्थानीय निर्वाचनमा राजपा–फोरम गठबन्धनले ६७ हजार ५ सय ९४, वाम गठबन्धनले ५६ हजार १८ र लोकतान्त्रिक गठबन्धनले ५२ हजार ३ सय ६६ मत पाएका थिए । महोत्तरीमा प्रतिनिधिसभाका लागि रहेका ४ क्षेत्रमध्ये स्थानीय तह निर्वाचनमा ३ वटा क्षेत्रमा राजपा–फोरम गठबन्धन र एक क्षेत्रमा वाम गठबन्धनले बढी मत प्राप्त गरेका थिए । यस्तै प्रदेशसभाका लागि रहेका ८ क्षेत्रमा वाम गठबन्धनले २, लोकतान्त्रिक गठबन्धनले एक र बाँकी ५ क्षेत्रमा राजपा–फोरम गठबन्धने सबैभन्दा धेरै मत पाएका थिए । समग्रमा महोत्तरीमा रहेका १२ क्षेत्रमध्ये ८ वटामा राजपा–फोरम गठबन्धन, ३ वटामा वाम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धन मजबुत देखिन्छन्। 

महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा वाम गठबन्धन लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनभन्दा बलियो देखिन्छ । यो क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । महोत्तरी प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) र (ख) मा पनि गएको स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले नै बढी मत पाएको थियो। 

महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा राजपा–फोरम गठबन्धन बलियो देखिन्छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा सबैभन्दा बढी मत राजपा–फोरम गठबन्धनले पाएको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) र (ख) दुवैमा पनि गएको स्थानीय तह निर्वाचनमा राजपा–फोरम गठबन्धनले नै बढी मत पाएको थियो । यस्तै महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ मा पनि राजपा–फोरम गठबन्धन नै बलियो देखिएको छ । गएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा राजपा–फोरमले अन्य दुई गठबन्धनको तुलनामा बढी मत पाएको थियो भने क्षेत्र नं.३ (क) र (ख)मा पनि राजपा–फोरम गठबन्धनले नै बढी मत पाएको थियो। 

महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ मा स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत राजपा–फोरमको पक्षमा खसेको थियो । क्षेत्र नं.४ (क) मा राजपा–फोरम र ४(ख) मा लोकतान्त्रिक गठबन्धनले बढी मत पाएका थिए ।

सर्लाही

प्रत्यक्ष हुने निर्वाचनमार्फत सर्लाहीबाट प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमार्फत सर्लाहीबाट कुल १२ उम्मेदवार विजयी हुनेछन् । स्थानीय तह निर्वाचनमा सर्लाहीमा खसेको मतलाई आधार मान्दा यहाँ वाम गठबन्धन लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनभन्दा मजबुत देखिन्छ । गएको स्थानीय तह निर्वाचनमा सर्लाहीमा सबैभन्दा बढी मत वाम गठबन्धनका पक्षमा खसेको थियो । स्थानीय निर्वाचनमा सर्लाहीमा वाम गठबन्धनले एक लाख ९ सय ७८, लोकतान्त्रिक गठबन्धनले ७३ हजार ८ सय ९० र राजपा–फोरम गठबन्धनले ६७ हजार ७ सय ११ मत पाएका थिए । यो मतलाई हेर्दा यहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा तीन गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

सर्लाहीमा रहेका प्रतिनिधिसभाका ४ वटा क्षेत्रमध्ये २ वटामा वाम गठबन्धन, एक÷एक वटामा लोकतान्त्रिक र राजपा–फोरमले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए । यस्तै सर्लाहीमा रहेका प्रदेशसभाका ८ क्षेत्रमध्ये ४ वटामा वाम गठबन्धन र ४ वटामा राजपा–फोरम गठबन्धनले स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएका थिए । समग्रमा सर्लाहीका १२ निर्वाचन क्षेत्रमा ६ वटामा वाम गठबन्धन, ५ वटामा राजपा–फोरम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धन मजबुत देखिन्छ । गएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं.१ मा सबैभन्दा बढी मत वाम गठबन्धनले प्राप्त गरेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) र (ख) मा पनि सबैभन्दा बढी मत वाम गठबन्धनका पक्षमा खसेको थियो । प्रदेश निर्वाचन क्षेत्र नं.२ मा राजपा–फोरम गठबन्धन बलियो देखिन्छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा सबैभन्दा बढी मत राजपा–फोरम गठबन्धनले प्राप्त गरेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) र (ख) दुवैमा स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत राजपा–फोरमका पक्षमा खसेको थियो। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ मा अन्य दुई गठबन्धनको तुलनामा वाम गठबन्धन केही मजबुत देखिन्छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा सबैभन्दा बढी मत वाम गठबन्धनले ल्याएको थियो । यसै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने प्रदेशसभा निर्वाचन (क) पनि वाम गठबन्धनले नै बढी मत पाएको थियो । क्षेत्र नं. ३ (ख) मा भने राजपा–फोरम गठबन्धनले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत पाएको थियो । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ मा स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत लोकतान्त्रिक गठबन्धनले पाएको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं.४ (क) मा वाम गठबन्धन र ४(ख) मा राजपा–फोरम गठबन्धनले बढी मत स्थानीय तह निर्वाचनमा ल्याएका थिए । 

रौतहट

प्रत्यक्ष हुने निर्वाचनमार्फत रौतहटबाट प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमार्फत रौतहटबाट कुल १२ जना उम्मेदवार विजयी हुनेछन् । स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्दा रौतहटमा वाम गठबन्धन अन्य दुई गठबन्धनभन्दा बलियो देखिन्छ । यो जिल्लामा स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत वाम गठबन्धनले पाएको थियो । यहाँ वाम गठबन्धनले ९९ हजार ३ सय ७१, लोकतान्त्रिक गठबन्धनले ७८ हजार ४ सय ६२ र राजपा–फोरम गठबन्धनले ५८ हजार ४ सय ६५ मत स्थानीय तह निर्वाचनमा प्राप्त गरेका थिए। 

रौतहटमा प्रतिनिधिसभाका लागि ४ क्षेत्रमध्ये स्थानीय तह निर्वाचनमा दुईवटा क्षेत्रमा वाम र एक÷एक क्षेत्रमा लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनले बढी मत ल्याएका थिए । वाम गठबन्धनले क्षेत्र नं.३ र ४ मा सबैभन्दा बढी मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले क्षेत्र नं.२ र राजपा–फोरम गठबन्धनले क्षेत्र नं.१ मा बढी मत पाएका थिए । यस्तै प्रदेशसभाका ८ वटा क्षेत्रमध्ये वाम गठबन्धनले ६ वटामा र लोकतान्त्रिक र राजपा–फोरम गठबन्धनले एक÷एक क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए। 

रौतहट प्रतिनिधिसभा क्षेत्र नं. १ मा राजपा–फोरम गठबन्धनले स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको थियो । क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन (क) मा पनि राजपा–फोरमले नै बढी मत पाएको थियो । क्षेत्र नं.(ख) मा भने वाम गठबन्धनले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा सबैभन्दा बढी मत स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको थियो । रौतहट निर्वाचन क्षेत्र नं.२ (क) मा पनि लोकतान्त्रिक गठबन्धनले बढी मत पाएको थियो भने क्षेत्र नं.२ (ख) मा वाम गठबन्धनले अन्यको भन्दा बढी मत ल्याएको थियो। 

रौतहट प्रधिनिभिसभा निर्वाचन क्षेत्र नं.३ मा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले सबैभन्दा बढी मत पाएको थियो । यो क्षेत्रका प्रदेशसभा निर्वाचन (क) र (ख) मा पनि वाम गठबन्धनले नै बढी मत प्राप्त गरेको थियो । यसैगरी रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ र यसअन्र्तगत पर्ने प्रदेशसभा निर्वाचन (क) र (ख) सबैमा वाम गठबन्धनले अन्य दुई गठबन्धनको भन्दा बढी मत पाएको थियो । समग्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कुल १२ क्षेत्र रहेका रौतहटमा ८ वटामा वाम गठबन्धन र २÷२ वटा लोकतान्त्रिक र राजपा–फोरम गठबन्धन बलियो देखिन्छन्। 

बारा 

प्रत्यक्ष हुने निर्वाचनमार्फत बाराबाट पनि प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमार्फत बाराबाट कुल १२ जना उम्मेदवार विजयी हुनेछन् । गएको स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई आधार मान्दा बारामा सबैभन्दा बलियो वाम गठबन्धन देखिएको छ । स्थानीय निर्वाचनमा वाम गठबन्धनले बारामा अन्य गठबन्धनको भन्दा बढी मत प्राप्त गरेको थियो । बारामा वाम गठबन्धनले ९१ हजार ५ सय ८७, लोकतान्त्रिक गठबन्धनले ७४ हजार ८ सय ६ र राजपा–फोरम गठबन्धनले ६७ हजार ५ सय ८८ मत गत स्थानीय तह निर्वाचनमा पाएका थिए। 

बारामा रहेका ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले सबैभन्दा बढी मत पाएको थियो भने एउटामा राजपा–फोरम गठबन्धनले । यस्तै ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा राजपा–फोरम गठबन्धन, ३ वटामा वाम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । समग्रमा कुल १२ निर्वाचन क्षेत्रमध्ये ६ वटामा वाम गठबन्धन, ५ वटामा राजपा–फोरम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धनले बढी मत पाएका थिए। 

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत वाम गठबन्धनले प्राप्त गरेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा पनि वाम गठबन्धनले नै बढी मत पाएको थियो । क्षेत्र नं.१ (ख) मा भने राजपा–फोरम गठबन्धनले बढी मत ल्याएको थियो । स्थानीय तह निर्वाचनमा बारा प्रतिनिधिसभा क्षेत्र नं.२ मा वाम र लोकतान्त्रिक गठबन्धनको भन्दा राजपा–फोरम गठबन्धनले बढी मत प्राप्त गरेको थियो । यो क्षेत्रका प्रदेशसभा निर्वाचन (क) र (ख) दुवै पनि राजपा–फोरमले नै अन्य दुई गठबन्धनको भन्दा बढी मत पाएको देखिन्छ। 

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ मा स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत वाम गठबन्धनले प्राप्त गरेको थियो । यो क्षेत्रको प्रदेशसभा निर्वाचन (क) मा पनि वाम गठबन्धनले नै बढी मत प्राप्त गरेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं.३ (ख) मा भने लोकतान्त्रिक गठबन्धनले स्थानीय निर्वाचनमा धेरै मत पाएको थियो । यस्तै, बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ मा स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा बढी मत खसेको थियो । यो क्षेत्रमा पर्ने प्रदेशसभा निर्वाचन (क) मा वाम गठबन्धन र (ख) मा राजपा–फोरमले बढी मत पाएका थिए। 

पर्सा

प्रत्यक्ष निर्वाचनमार्फत पर्साबाट प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमार्फत पर्साबाट कुल १२ जना उम्मेदवार विजयी बन्नेछन् । गएको स्थानीय तह निर्वाचनमा पर्सामा खसेको मतलाई आधार मान्दा यहाँ त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा यो जिल्लामा सबैभन्दा बढी मत लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा पर्सामा लोकतान्त्रिक गठबन्धनले कुल ५८ हजार ९ सय २६, राजपा–फोरम गठबन्धनले ५७ हजार २ सय ५६ र वाम गठबन्धनले ५३ हजार ६० मत प्राप्त गरेका थिए। 

पर्सामा रहेका प्रतिनिधिसभाका ४ वटा क्षेत्रमध्ये गएको तह स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले २, वाम र राजापा गठबन्धनले एक÷एक क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए । यस्तै प्रदेशसभाका लागि रहेका ८ वटा क्षेत्रमध्ये ४ वटामा लोकतान्त्रिक गठबन्धन, दुई÷दुई वटामा वाम र राजपा–फोरम गठबन्धनले बढी मत पाएका थिए । समग्रमा पर्सामा रहेका १२ वटा निर्वाचन क्षेत्रमध्ये ६ वटामा लोकतान्त्रिक गठबन्धन र ३÷३ वटामा वाम र राजपा–फोरम गठबन्धन मजबुत देखिन्छन्। 

पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राजपा–फोरम गठबन्धन बलियो देखिन्छ । गएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा सबैभन्दा बढी मत राजपा–फोरमले प्राप्त गरेको थियो । क्षेत्र नं.१ (क) मा पनि राजपा–फोरमले नै बढी मत ल्याएको थियो भने १ (ख) मा लोकतान्त्रिक गठबन्धनले अन्य दुई गठबन्धनको भन्दा बढी मत पाएको थियो । पर्सा प्रतिनिधिसभा क्षेत्र नं.२ मा गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत लोकतान्त्रिक गठबन्धनको पक्षमा खसेको थियो । यो क्षेत्रमा पर्ने प्रदेशसभा निर्वाचन (क) र (ख) पनि स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै सबैभन्दा बढी मत प्राप्त गरेको देखिन्छ । 

पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ मा वाम र राजपा–फोरम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । यो क्षेत्रमा गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको थियो । यसै क्षेत्रमा पर्ने प्रदेसभा निर्वाचन (क) मा भने स्थानीय निर्वाचनमा वाम गठबन्धनले बढी मत पाएको थियो । क्षेत्र नं.३ (ख) मा पनि लोकतान्त्रिक गठबन्धनको पक्षमा स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत खसेको थियो । यस्तै पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ मा स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत वाम गठबन्धनको पक्षमा खसेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ (क) मा पनि वाम गठबन्धनले नै बढी मत पाएको थियो भने क्षेत्र नं.४ (ख) मा राजपा–फोरम गठबन्धनले । 

 

प्रकाशित: १६ मंसिर २०७४ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App