८ वैशाख २०८१ शनिबार
राजनीति

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

डोटी– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

‘संविधान सभाले लोकतान्त्रिक संविधान जारी गरेको उहाँ(कम्यूनिष्ट)हरुलाई चित्त नबुझेको रहेछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले संविधानको ब्यवस्थालाई परिवर्तन गर्दै कम्युनिष्ट अधिनायकत्वका लागि बामगठबन्धन गरेका हुन् ।’ 

कम्युनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने प्रधानन्त्री देउवाले टिप्पणी गरे । ‘कम्युनिष्ट शासन राणाशासनभन्दा पनि भयानक हुन्छ । साँच्चिकै आइहाले जनताले फेरि अर्को संघर्ष गर्नुपर्ने हुन्छ,’ उनले भने । अर्को संघर्ष गर्न नपर्ने ब्यवस्था स्थापनाका लागि यसपटकको निर्वाचनमा कांग्रेस जित्नुपर्ने उनले बताए । 

नेपाली जनता सचेत र लोकतन्त्रप्रेमी रहेकाले अहिले लोकतन्त्रको जीत हुनेमा आफु बिश्वस्त रहेको उनले प्रष्ट्याए । ‘जनता लोकतन्त्र चाहन्छन् । बिगतका आन्दोलनले देखाइसक्यो,’ उनले भने, ‘त्यसैले लोकतन्त्रका लागि २००७ सालदेखि संघर्ष गरेको नेपाली कांग्रेसलाई जिताउनेमा म ढुक्क छु ।’ अब चुनावपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । 
 

दुर्गम गाउँमा पहिलोपल्ट प्रधानमन्त्री 
बोगटान र सायल डोटीका सबैभन्दा दुर्गम क्षेत्र हुन् । बोगटान जिल्लाको दक्षिणी क्षेत्रमा पर्छ भने सायल उत्तरमा । दुबै ठाउँमा शुक्रबार पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा पुग्दा स्थानीयले भव्य स्वागत गरे । 
फलफूल र नगदेबालीको भण्डारको रुपमा रहेको बोगटानमा स्थानीयले प्रधानमन्त्री देउवालाई सुन्तला र अदुवाको माला लगाएर स्वागत गरेका थिए । सायल क्षेत्रमा पनि बाजागाजाका साथ भव्य स्वागत गर्दैगर्दा प्रधानमन्त्री देउवाले भावुक भएर सभामा प्रस्तुत भएका थिए । 

डोटीलाई आफ्नो दोस्रो घर भएको बताएका देउवाले डोटीसँग भावनात्मक र रगतको सम्बन्ध रहेको बताएका थिए । ‘बोगटानमा मेरो मावली पर्छ,’ बोगटानको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,‘त्यसैले रगत र भावना दुबैको सम्बन्ध छ ।’ 

सुदूरपश्चिमको चेलो भएर देशको नेतृत्व गर्न पाउनु आफ्नो मात्रै नभई समग्र सुदूरपश्चिमको गौरवको बिषय रहेको पनि उनले बताए । ‘अझै यो गौरवलाई कायम राख्नुस् । कांग्रेसलाई भोट दिए भोली डोटीबाट पनि देशको नेतृत्व उदाउनेछ,’ उनले भने । 

सुदूरपश्चिमको सबै बिकासको जिम्मा आफ्नो काँधमा लिन तयार रहेको प्रधानमन्त्री देउवाले बताए । ‘सबैखाले चाहिने बिकास र तपाईले चाहेको बिकास मलाई भन्नुस,’ उनले भने,‘त्यसको जिम्मा म लिन्छु ।’ 

लामो समयदेखि चर्चामा रहेको सहजपुर–बोगटान–दिपायल सडक छिट्टै तयार भएर सिद्धराज ओझाको नामबाट नामाकरण गरिने प्रधानमन्त्री देउवाले बताए । धनगढी–दिपायल फाष्ट ट्रयाकलाई बझाङ जोड्ने, पश्चिम सेती र पञ्चेश्वर आयोजनाको निर्माणमा पनि आफू जुटिरहेको उनले बताए । 

सभामा डोटीबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एबं कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफू मन्त्री रहदै गर्दा डोटीका तत्काल आबश्यक सबै सडक अघि बढ्ने दाबी गरे । ती सडकहरुको निर्माण सम्पन्न भए २५–३० वर्ष थप सडक योजना आबश्यक नै नपर्ने उनले बताए । 

प्रकाशित: १५ मंसिर २०७४ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App