६ वैशाख २०८१ बिहीबार
अन्य

विवाह अघिपछिको स्वास्थ्य

विवाहको मौसम सुरु भइसकेको छ । कानुनी रुपमा अभिभावकको अनुमतिमा १८ वर्ष माथिका किशोरकिशोरीले विवाह गर्न पाउने भए पनि स्वास्थ्यको दृष्टिले २० वर्षपछि विवाह गर्नु तथा २५ वर्षको उमेरपछि मात्र गर्भधारण गर्नु बुद्धिमानी हुन्छ । तर विडम्बना, एकातिर नेपालका कतिपय भू–भागमा बालविवाहको चलन विद्यमान छ भने अर्कोतिर स्कुल, कलेजमा पढ्दापढ्दै देखासिकीमै लभ म्यारिज गर्ने किशोरकिशोरीको संख्या पनि कम छैन । विगत एक दसकदेखि विषयगत विशेषज्ञता पुर्याउँदै आउँदै क्रममा लेखकले अनुभूत गरेको अर्को पक्षको के हो भने विशेषतः ब्राह्मण जातिमा पढेलेखेकै भए पनि कलिलै उमेरमा विवाह गरिदिने (स्वस्थानी व्रतकथाको प्रभावले ?) चलन बढ्ता छ । अर्कोतिर तामाङ तथा पिछडिएका जातिका किशोरीको विवाह पनि छिट्टै गर्ने गरेको पाइएको छ । यो कुनै आक्षेप नभई अहिलेको वास्तविकता हो । सयमक्रमसँगै यो प्रथामा जति धेरै सुधार हुनुपर्ने हो, त्यति नहुनु दुःखद् पक्ष हो ।
अमेरिका, बेलायत लगायतका विकसित देशमा किशोरकिशोरी उमेरमै विवाहपूर्व नै यौनसम्पर्क राख्ने, यसका कारण अनिच्छित गर्भधारण गर्ने तथा गर्भपतन गर्नेहरुको संख्या उल्लेख्य छ । काठमाडौं उपत्यका तथा नेपालका सहरी क्षेत्रका टिनएनर्सहरुमा पनि यो विकृति बढ्ने क्रममा छ । यो समस्याले अझ बढी विकराल रुप लिनु अगाडि नै अभिभावक तथा सम्बन्धित पक्षले सजगता अपनाउनु राम्रो हुन्छ ।
तर नेपालको अहिलेको समस्या भनेको तुलनात्मक रुपमा किशोरीहरुको चाँडै विवाह हुनु हो । र, विवाहको एकाध महिनाभित्रै गर्भधारण गर्नु अर्को ठूलो समस्या हो । पछिल्लो तथ्यांकअनुसार नेपाली किशोरीहरुको औसतमा साढे १७ वर्ष पुगेपछि र किशोरहरुको साढे २१ वर्ष पुगेपछि विवाह गर्ने गरेको छ । किशोर र किशोरी विवाह बन्धनमा बाँधिनेमा मोटामोटी ४ वर्षको फरक छ । तर धेरैजसो नेपाली किशोरीले विवाहपछि मात्र यौनसम्पर्क कायम राख्ने र गर्भधारण गर्ने गरेको पाइए पनि नेपाली किशोरहरुले भने आफ्नो विवाहको एक वर्षअगाडि नै यौन सम्पर्कको अनुभव लिने गरेको पाइएको छ ।
यसरी नेपालमा कलिलै उमेरमा विवाह गर्नु वा हुनु, सानै उमेरमा गर्भधारण गर्नु, विवाहपूर्व तथा विवाहपश्चात् विवाहइतर यौनसम्बन्ध राख्नु, आकस्मिक परिवार नियोजनको ज्ञान नहुनु, परिवार नियोजनका साधनसम्बन्धी ज्ञान भए पनि यसको उपयोग गर्न अल्छी गर्नु र नेपालमा विद्यमान कानुनी रुपमा गर्भपतनको व्यवस्थाको ज्ञान नहुनु तथा यसको गलत उपयोग गर्नु अहिलेको चुनौती हो । यसै कारण कतिपयका दाम्पत्य जीवन धरापमा परिरहेको छ भने कतिपय महिलाको अनाहकमा ज्यान गइरहेको छ । यी सबै विषय विवाहसँग सम्बन्धित भएकाले विवाह बन्धनमा बाँधिन लागेकाहरुले यी विषयमा जानकारी राख्नु राम्रो हुन्छ ।          
किशोरकिशोरीका समस्या
कतिपय किशोरकिशोरी उमेर अनुसारको शारीरिक तथा मानसिक समस्याबाट प्रताडित भइरहेको हुनसक्छ । युवाहरुमा हस्तमैथुन, लिङ्गको आकार, यौन दुर्बलता, शीघ्र स्खलन, कण्डमबारे जिज्ञासा वा चिन्ता भइरहेको हुन्छ भने युवतीहरुमा महिनावारी गडबडी, तल्लो पेट दुख्ने समस्या, कुमारीत्व, मोटोपनाको समस्या भइरहेको हुनसक्छ । समग्रमा किशोरकिशोरीमा तीव्र यौनेच्छा, यौनरोग, गर्भधारणको समय, असुरक्षित यौनसम्पर्क, यौन दुव्र्यवहार, बलात्कार, हाडनाताको करणी, आकस्मिक परिवार नियोजन, अस्वस्थ्य गर्भपतन, कलिलै उमेरमा गर्भधारण, निःसन्तानबारे पनि उत्तिकै खुल्दुली हुन्छ ।
यसका अलावा भविष्यको लक्ष्य, व्यक्तित्व, प्रतिस्पर्धा, लक्ष्य प्राप्तिका विषयमा पनि चिन्तित भइरहेको हुनसक्छ । कतिपयमा नैराश्यता एवं मानसिक तनाव त छँदैछ, त्यसमाथि यौन साहित्य, पत्रपत्रिका, फिल्म, साइबर सेक्स, मोबाइल सेक्सको लत, धूमपान, मद्यपान, लागूपदार्थको लत हुनसक्छ । यही उमेरमै युवायुवतीहरुले पशुकरणी, मुख मैथुन गुदद्वार मैथुन, समलिङ्गीजस्ता पृथक यौन व्यवहारप्रति आशक्ति देखाउन सक्छन् । यसैबेला प्रेम, माया, ब्रेकअप, अन्तर्जातीय विवाह, कलिलै उमेरमा पारिवारिक बोझ, आर्थिक समस्या, जेनेरेसन ग्यापको समस्या व्यहोर्नु पर्ने हुनसक्छ ।
समयअगावै यौन सम्बन्ध
बाल्यावस्थाबाट किशोरावस्थामा पुग्ने सिलसिलामा केटामा १० देखि १४ वर्षमा तथा केटीमा १० देखि १३ वर्षमा विभिन्न शारीरिक परिवर्तनहरु देखापर्छ । यस क्रममा केटीमा ९ देखि ११ वर्षमा स्तन अंकुरण तथा वृद्धि, १२ देखि १३ वर्षमा मासिक स्राव सुरु हुन्छ । यस कार्यमा केटीमा इस्ट्रोजेन हर्मोन र केटामा टेस्टोस्टेरोन हर्मोनले महत्वपूर्ण भूमिका खेल्छ । यस क्रममा दुवैमा यौनाङ्ग वरिपरि तथा काखीमा रौं पलाउँछ भने केटामा अण्डकोषको वृद्धि हुन्छ । यौवन अवस्थामा शारीरिक परिवर्तनसँगै मानसिक एवं संवेगात्मक परिवर्तन पनि हुन्छ । अतः समयअगावै यौन सम्बन्ध स्थापित भएको खण्डमा यौनाङ्गको वृद्धि विकास तथा मासिक स्रावको सुरुवातसँगै गर्भ रहने सम्भावनाका साथै मनोसामाजिक समस्या पनि निम्तिन सक्छ । यस्तो अपरिपक्व अवस्थामा सामाजिक दबाबका कारण गरिने विवाहले पनि विशेषतः किशोरीको मनस्थितिमा नकारात्मक असर पु¥याउन सक्छ ।
सानै उमेरमा विवाहको परिणति
कलिलै उमेरमा नै बच्चा पाउनुको जटिलता आफ्नै ठाउँमा छ । गर्भपतन, रक्तअल्पता, गर्भ तथा प्रशवसम्बन्धी जटिलता, पाठेघरको मुखको क्यान्सरको जोखिमले समग्रमा मातृ तथा शिशु मृत्युदर बढ्न जान्छ । वैवाहिक बलात्कारका कारणले विवाहित बालिकाले वास्तविक यौन आनन्द प्राप्त गर्न सक्दैनन् । कालान्तरमा यौनप्रति नै नकारात्मक मानसिक असर पर्न जान्छ । अनिच्छित गर्भ, कलिलो उमेरका कारण अपरिपक्व स्त्री जननेन्द्रियमा पुग्न सक्ने चोट, यौनजन्य संक्रमणको जोखिमले बालिकाको जीवन नै अन्धकारमय हुनसक्छ ।
बालविवाह यसै कारण सिर्जिने कलिलो उमेरमै गर्भावस्थाको परिस्थितिको न्यूनीकरणका लागि बालिका शिक्षा, विद्यालयमा तथा किशोरकिशोरीमाझ यौन शिक्षा, सुरक्षित सेक्स, आकस्मिक गर्भ निरोध, गर्भपतनको कानुनी मान्यता, गर्भपतनको सेवाको उपलब्धताबारे यथेष्ट जनचेतना पैmलाउन सक्नु पर्छ । यस कार्यमा परिवार, समाज, नीतिनिर्माताको भूमिका महŒवपूर्ण छ ।
पहिलो यौन सम्पर्क
नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्छ भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भए पनि सहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्ने घटना बढ्न थालेको छ तर पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन । विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रुपमा पुरुष यौनसाथीले धोका दिने कारण किशोरीहरुले मानसिक एवं सामाजिक समस्या भोग्नुपर्ने हुन्छ ।
उचित यौन शिक्षा एवं प्रजनन् अङ्गको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौनसम्पर्क धेरैजसाको लागि त्यति सफल र सुखदायी हुँदैन । तुरुन्त यौनसम्पर्क राख्ने क्रममा शीघ्र स्खलन हुने तथा लिङ्ग उत्तेजित नहुने हुनसक्छ । विभिन्न आसनको उपयोग, योनीमार्ग तथा पुरुष लिङ्ग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौन कार्य कष्टप्रद हुन्छ । डर, त्रास, हतार, हतास एवं गोप्यताको अभाव तथा असुरक्षित वातावरणमा यौनसम्पर्क राख्नुपर्दा यौन सम्पर्क पूर्वको तयारीको खासै ध्यान जाँदैन । प्राक्क्रीडाका लागि यथेष्ट समय दिन नसक्ने हुनाले यौन कार्य एकतर्फी भई दुवै जनाले उत्तिकै मात्रामा यौन सन्तुष्टि पाउन कठिन हुन्छ । हतारमा कण्डम नै नलगाउने तथा सही तरिकाले कण्डम नलाउँदा फुट्ने डर हुन्छ । असुरक्षित यौनसम्बन्धका कारण हेपाटाइटिस बी, एचआइभी÷एड्स, भिरिङ्गी, धातुमेहजस्ता यौनजन्य संक्रमण सर्ने तथा अनिच्छित एवं अप्रत्याशित गर्भका परिणति त आफ्नो ठाउँमा छँदैछ ।
सुरक्षित चक्र र पिल्स चक्की
नेपालको पछिल्लो तथ्यांकअनुसार १९ वर्षमुनि विवाह गर्ने किशोर किशोरीहरुको संख्या मनग्गे छ । यसमा पनि किशोरको दाँजोमा ५ गुणा बढी किशोरीले बिहे गर्ने गरेको पाइयो । प्राकृतिक नियमअनुसार बिहे भएको दुई वर्ष भित्रमा करिब ८० प्रतिशत दम्पतीले बच्चा पाउने गरेको छ । यसैले पनि युवावस्थामै वा उमेर नपुगीकनै (प्रायः १३ देखि १९ वर्षभित्र) गर्भवती हुनेको संख्या पनि बढी नै छ ।
विवाहलगत्तै चाँडै गर्भ होला कि भन्ने विषयलाई लिएर नवदम्पतीहरु चिन्तित हुने गरेको छ । भर्खरै विवाह भएका तथा कतिपय दम्पतीलाई महिनावारी (मासिक स्राव) को कति औं दिनदेखि शारीरिक सम्पर्क भएमा गर्भ रहन सक्छ भन्ने ज्ञान नहुन सक्छ । केही वर्ष बच्चा नपाई यौन आनन्दको भरपूर मज्जा लिने चाहना भए पनि जानकारीको अभावमा पिरोलिने गरेको छ । नवदम्पतीका लागि सुरक्षित चक्र, कण्डम, पिल्स चक्की र आकस्मिक परिवार नियोजनको जानकारी सहायकसिद्ध हुन सक्छ ।
प्राकृतिक रुपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीहरुको लागि सुरक्षित चक्र एउटा राम्रो विकल्प हो । क्यालेन्डर विधि पनि भनिने यो विधि नियमित रुपमा महिनावारी हुने महिलामा मासिक स्रावको १२ औं देखि १६ औं दिनसम्म डिम्ब निस्कन्छ भन्ने सिद्धान्तमा आधारित छ । त्यसो त महिलापिच्छे महिनावारी चक्र फरक–फरक हुन सक्ने हुनाले डिम्ब निस्किने समय पनि फरक–फरक हुन सक्छ । अतः सुरक्षित चक्रको गलत तरिकाले हिसाब गरेमा, अनियमित तरिकाले यौन सम्पर्क राखेमा तथा असुरक्षित अवधिमा अन्य साधन नअपनाएमा गर्भ रहने सम्भावना हुन्छ ।
तर पनि नियमित रुपमा (प्रत्येक २८ दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं (२८–१० दिन) दिनदेखि अठारौं (२८–१० दिन) दिनमा यौन सम्पर्क रहे गर्भ रहन सक्छ । महिनावारी भएको एक हप्ताअघि वा पछि खुल्ला यौन सम्पर्क राख्दा पनि गर्भ रहँदैन भने अन्य बेला यौन सम्पर्कको क्रममा कण्डम (ढाल), फेमिडोम (महिला कण्डम), कमल चक्कीजस्ता अस्थायी साधनहरु अपनाउनु पर्छ । लामो समय गर्भ नचाहने दम्पतीले चिकित्सकको सल्लाहमा तीन महिने सुई वा कपर टी पनि लगाउन सकिन्छ ।
आकस्मिक गर्भ निरोध (इमर्जेन्सी कन्ट्रासेप्सन)
नेपालमा गरिएको एक सर्वेक्षणअनुसार करिब ६२ प्रतिशत युवक तथा २७ प्रतिशत युवतीले डेटिङका बेला यौनजन्य गतिविधि गर्ने गरेको र ४० प्रतिशत युवक तथा ९ प्रतिशत युवतीले डेटिङका बेला यौनसम्पर्क राख्ने गरेको तथ्यबाट पछिल्लो नेपाली पिँढी सेक्सका मामिलामा उदार हुन थालेको देखिन्छ ।
कतिपय नेपाली युवायुवतीले कण्डम प्रयोग गर्न झिँजो मान्ने तथा कतिपयका कण्डम अप्रत्याशित तवरले फुट्ने कारणले यसको परिणामस्वरुप सम्पर्कको केही दिनपछि पिसाब जाँचको क्रममा प्रेगनेन्सी पोजिटिभ देखियो भने पार्टनरबीच झगडा उत्पन्न हुन र सम्बन्ध बिग्रिन बेर लाग्दैन । त्यसैले पनि आकस्मिक गर्भ निरोधका विधिबारे थाहा पाउनु जरुरी छ । त्यसो त त्यही सर्वेक्षणमा पनि केवल २१ प्रतिशत युवक र १६ प्रतिशत युवतीलाई मात्र आकस्मिक चक्कीबारे ज्ञान रहेको तथ्यबाट पनि यस विषयमा टिनएजर्सलाई थप जानकारीको जरुरी रहेको महसुस गरिएको छ ।
कानुनी तवरले नेपालमा १२ हप्ता सम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवं सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौन सम्पर्क राख्नु अर्थात् सेफ सेक्सको व्यवहार अपनाउनु बुद्धिमानी हुन्छ । असुरक्षित यौन सम्पर्कको ५ दिनपछि अर्थात् आपतकालीन गर्भ निरोधका लागि उपयुक्त समय घर्किसकेपछि मात्र सल्लाह लिन आउने गरेको कारण सुरक्षित गर्भपतनको बाटो देखाई दिनुसिवाय अर्को विकल्प हुँदैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार असुरक्षित यौनसम्पर्कको ५ दिनसम्म पनि आकस्मिक परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ । यस अघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की मात्र पाइन्थ्यो । आजकल आपतकालीन गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । नेपालमा पनि इकोन नामक आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्कको १२० घण्टा (५ दिन) सम्म खान सकिन्छ । असुरक्षित यौन सम्पर्कपछि माथि उल्लेखित पिल्स चक्कीहरु खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ ।
विवाहइतर यौन सम्बन्धको समस्या
वैदेशिक रोजगार, तीव्र शहरीकरण, विकसित मुलुकको देखासिकीका कारण नेपालमा पनि विवाहपूर्व तथा विवाहपश्चात् आफ्नै श्रीमान वा श्रीमती बेगरका व्यक्तिसँग आपसी सहमतिमा यौनसम्बन्ध राख्ने घटना बढ्न थालेको छ । तुलनात्मक रुमपमा आर्थिक अवस्था राम्रो भएका, सहरी क्षेत्रका, वैदेशिक रोजगारीमा गएका, कार्यालयमा काम गरेका (विशेषतः रात्रि सिफ्ट गर्नुपर्ने), होटल एवं लामो रुटमा कार्यरत यातायात मजदुर वा उनका श्रीमतीले अर्को व्यक्तिसँग यौन सम्बन्ध राख्ने गरेको छ ।
व्यक्तिपिच्छे यौन चाहना वा यौन सन्तुष्टि फरक–फरक हुने कारणले आफ्नो यौन असन्तुष्टि वा व्यक्ति विशेषको अन्तरनिहीत समस्याको लक्षणको रुपमा विवाह इतरको समस्या उब्जिन्छ । त्यसैले सफल दाम्पत्य जीवनका बाबजुद पनि विवाहइतर यौन सम्बन्ध हुनसक्छ । तर यौन नैराश्यता, पार्टनरको यौन भावनाको कदर नगरिँदा, प्रेमिल वातावरण एवं प्राक्क्रीडामा समय नदिई केवल लैङ्गिक सम्पर्कमा मात्र केन्द्रित रहँदा, आफ्नो यौन चाहनालाई मात्र प्राथमिकता दिँदा, एकैजनाको यौन सम्बन्धलाई एकोहोरो (मोनोटोनस) मान्दा, पार्टनरबीच यथेष्ट यौन वार्तालाप नहुँदा विवाह इतरका समस्या सुरु हुन्छ ।
जे जति कारणले विवाहइतर सम्बन्ध स्थापित भए पनि यसका आ–आफ्नै स्वास्थ्य जोखिमहरु छन् । अनिच्छित गर्भ वा अप्रत्याशित गर्भाधान रहने तथा यौनजन्य संक्रमणहरु लाग्ने सम्भावना हुन्छ । कसैगरी विवाहइतर यौन सम्बन्धको घटना उजागर भयो वा जननेन्द्रिय विशेषमा कुनै चिनो रह्यो, यसको जानकारी आफ्नो वास्तविक पार्टनरलाई थाहा भयो भने यौन हिंसा, सम्बन्ध विच्छेद, हत्या, आत्महत्या लगायतका यौन अपराधका घटना हुन बेर लाग्दैन । यस क्रममा वास्तविक पार्टनर आवेशमा आई आफ्नै जीवनसाथीको यौन जननेन्द्रिय क्षतविक्षत पारिदिने, अङ्गभङ्ग गरिदिने, ज्यान लिने घटना यदाकदा सुनिँदै आएको छ ।
विवाह पूर्वका परामर्श र हेरचाह
सहरी क्षेत्रमा क्रमशः ढिला विवाह गर्ने प्रचलन बढ्दै गएको तथा मधुमेह, उच्च रक्तचापजस्ता समस्या बढ्ता हुने, मद्यपान एवं लागू पदार्थ सेवन गर्ने बानी तथा ग्रामीण भेगमा रक्त अल्पता, मुटुको समस्या (निदान नभएको) एवं धूमपान गर्ने चलन भएको कारणले भविष्यको गर्भलाई प्रतिकूल असर पार्न सक्छ । समयक्रमसँगै चिना जुराएर विवाह गर्ने होइन कि सम्भव भएसम्म यौनजन्य संक्रमण, भविष्यमा दम्पती बीचको वंशाणुअंश (क्रोमोजम) का कारण भावि सन्तानमा कुनै जन्मजात रोग पो निस्किन्छ कि जँचाउनु राम्रो हुन्छ । नातागोताभित्र वैवाहिक सम्बन्ध भएको खण्डमा वंशाणुगत तथा अन्य प्रकारका सम्भावित रोगहरु हुनसक्छ ।
विवाह बन्धनमा गाँसिनुपूर्व भविष्यमा आउन सक्ने कतिपय समस्याको जोखिमपूर्ण तŒवहरु पत्ता लगाउन विस्तृत रुपमा तिनीहरुको व्यक्तिगत, पारिवारिक एवं वंशाणुगत सोधपुछ गर्नुपर्ने हुन्छ । त्यहीअनुरुप आवश्यक जाँच पड्ताल गराउनु पर्ने हुन्छ । विवाहअगाडि किशोर वा किशोरीमा मधुमेह, उच्च रक्तचाप, छारेरोग जस्ता जीर्ण समस्याहरु हुँदैमा विवाह नै गर्न नहुने भन्ने होइन । यी समस्या औषधोपचारबाट निको वा नियन्त्रणमा राख्न सकिन्छ । बरु कतिपय औषधि गर्भ आएको खण्डमा बन्द गर्नुपर्ने, फेर्नुपर्ने तथा औषधिको मात्रा बढाउनु वा घटाउनु पर्ने हुनसक्छ ।
विवाह भैसकेको परिस्थितिमा विशेषतः किशोरी (महिला) लाई धुम्रपान, मद्यपान तथा लागूपदार्थको सेवन तत्काल बन्द गराउनुपर्छ । कतिपय वंशाणुगत रोगहरुको लागि विस्तृत रुपमा विशेष खालका जाँचहरु गरी जोखिम हुनसक्ने भए गर्भवती नहुन पनि सल्लाह दिनुपर्ने हुन्छ । विवाह भैसकेपछि पटक पटक गर्भ तुहिएका, विकलाङ्ग बच्चा पाइसकेका तथा बिहा भएको लामो समयसम्म पनि बच्चा पाउन नसकेका दम्पतीहरुमा गम्भीर तरिकाले अलि विस्तृत रुपमा जाँच पड्ताल गरी आवश्यक उपचार तथा सल्लाह सुझाव दिनुपर्छ ।

प्रकाशित: १५ मंसिर २०७४ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App