जीवन यात्रा

पञ्चकन्याका आधार पुरुष

शुक्रबार, १५ मङि्सर २०७४, १५ : ५९ विश्वमणि पोखरेल

यतिबेला प्रेमबहादुर श्रेष्ठलाई सडक बीचमा उभ्याइदिने हो भने कसैले पनि चिन्दैन तर पञ्चकन्या गु्रपका अध्यक्ष भन्यो भने तलदेखि माथिसम्म हेर्छन् । किन त ? कुरा स्पष्ट छ, कम्पनीले ७० वर्षको दौरानमा जुन उचाइ हासिल गरेको छ, त्यो उचाइ जति विष्मयकारी छ उति नै रोचक पनि ।
कम्पनी अध्यक्षका हैसियतमा पाटन कृष्णगल्लीस्थित ग्रुपको कर्पोरेट अफिसमा उनी प्रत्येक दिन आउँछन् । सामान्य जानकारी, सोधीखोजीपछि साँझपख घर झम्सिखेल फर्कन्छन् । ८७ वर्षमा पनि कर्मशील श्रेष्ठको जीवनमा अनेक रोचक मोड छन् । इलामबाट करिव ७० वर्षअघि सुरु भएको व्यापारिक यात्रा झापा, काठमाडौँ हुँदै पश्चिमको रुपन्देहीमा उद्यम स्थापना भएपछि पनि रोकिएको छैन, अझ अगाडि बढिरहेको छ । देश–विदेशमा विदेशमा फैलिएको उद्यम, व्यापार सम्हाल्नेमा अहिले छोराहरू मात्र होइन नाति पुस्तासमेत आइसकेको छ । तापनि उनी चुप लागेर बस्न सक्तैनन् । ‘छोराहरू चुप लागेर बस्नु भन्छन् तर यो मन मान्दैन,’ श्रेष्ठ भन्छन्, ‘अफिस आएन भने, काम गरेन भने त म बिरामी पो हुन्छु ! काम नगर्दा मलाई बिराम लाग्छ ।’
आलुबाट यात्रा
इलाममा त्यसबेलाको चल्तीको व्यापार आलुको खरिद–बिक्रीबाट उनको व्यापारिक यात्रा सुरु भएको थियो । अहिले ५/६ अर्बको वार्षिक कारोबार पुगेको छ । ‘सुरुमा त शून्यबाटै थालियो,’ एउटा सन्तुष्टि झल्काउँदै श्रेष्ठ बताउँछन् । शून्यबाट सुरु गरेको व्यापार यात्रा फलाम, प्लास्टिकका पाइप लगायतका दर्जन उद्यम व्यापारपछि पछिल्लो समय जलविद्युतमा हात हालेको छ पञ्चकन्या ग्रुपले । इलाममै दुई वटा जलविद्युत आयोजना छन् । माई जलविद्युत कम्पनीको नाममा गृह जिल्लाबाट १८ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

एक समयको चल्तीको आलु–व्यापारबाट व्यवसायमा छिरेका प्रेमबहादुर श्रेष्ठको पञ्चकन्या ग्रुपले यतिबेला वार्षिक ६ अर्बको व्यापार गर्ने गरेको छ । पञ्चकन्या ग्रुपका आधार पुरुष प्रेमको संघर्षको दास्तान ।


सात सालको जनक्रान्तिको पछिको खुला समाजमा उनी व्यापारमा लागेका हुन् । जहानिया राणा शासनको अन्त्य भएपछिको खुला वातावण एकातिर थियो, त्यहाँ जागिर लगायतका अवसरहरू थिए । अर्कोतर्फ पिता तेजबहादुर श्रेष्ठको २००६ सालमा निधन भएपछिको घरको जेठो छोराको हैसियतले अभिभावकत्वको रिक्तता भर्नु थियो । आमा, साना ४ जना भाइ  र २ दिदीबहिनीको परिवारको अभिभारा काँघमा थियो । यस्तो अवस्थामा सामान्य लेखपढ गरेका प्रेमबहादुरले जागिर नखाने, कृषिकर्म पनि नगर्ने बरु व्यापारमै लाग्ने अठोट गरे । त्यही अठोटले उनलाई नेपालकै पौरखी व्यवसायीमा उभ्यायो ।
जागिर नखाएर व्यापार
बुबाको देहावसान पछि ठूलो परिवार कसरी धान्ने भन्ने चिन्ता थियो किशोर प्रेमबहादुरमा । त्यतिबेला उनी १७ वर्षका थिए । बाबु बितेको अर्को वर्ष नेपालमा प्रजातन्त्र आयो । इलाम सदरमुकाम त्यसबेलाको पूर्वको एउटा प्रशासनिक केन्द्र थियो । इलामकै राम्रो बस्दोबस्त भएका स्थानीय बासिन्दा प्रेमलाई त्यहाँका कर्मचारीले जागिर खान प्रस्ताव राखेका थिए । ‘राणा शासन अन्त्य भएपछि इलाममा रहेका पहिलेका कर्मचारी हट्दै गए र त्यहाँ नयाँ कर्मचारी भर्ना गर्ने लहर चल्यो,’ प्रेम सम्झन्छन्, ‘मलाई पनि एक जना सुब्बा थरका सुब्बाले जागिर खाउँ भनेका थिए । मैले एक दिन सोचेर मात्र जवाफ दिन्छु भनेर फर्किएँ । राति घरमा एक्लै सोचेर जागिर नखाने निर्णय लिएँ ।’ जागिर खाएको अवस्थामा बढीमा सुब्बासम्म त हुने हो, त्यो पनि सोर्स फोर्स लगाएर मात्र भन्ने लागेपछि उनले व्यापार नै ठीक भएको ठहर्याए । ‘त्यसबेला मुखमा आएको जागिर नखाएकोमा धेरैले गाली गरेको सम्झना आउँछ उनलाई ।
‘पढाइ नभएको मानिसले जागिर खानु उचित थिएन,’ उनले विगत सम्झँदै भने, ‘त्यस्तै पढाइकै कारण शिक्षण पेसामा जान सकिने अवस्था पनि थिएन । मैले सामान्य लेखपढे गरेँ । घरमै अंग्रेजी र हिसाब सिकेँ । त्यसबेला स्कुल थिएनन्, पढ्ने माहोल थिएन । बुबा सेनाबाट अवकाशप्राप्त जमदार हुनुहुन्थ्यो । मलाई सेनामा जान मन थिएन । व्यापार गर्न पढाइ चाहिँदैन भन्ने लागेर नै त्यता लागेँ ।’
व्यापारको जग
इलाममा त्यसबेला आलु प्रशस्त फल्थ्यो । त्यहाँका आलु पारि सिलगढी र तल झापामा राम्रो बिक्री हुन्थ्यो । यो देखेका प्रेमले थौरै पुँजीमा यही व्यापार गर्न तम्सिए । तर आलुले उनलाई नाफा होइन, उल्टै घाटा पार्यो । प्रेमले अथ्र्याउँदै भने, ‘आलु कुहियो, राम्रो भाउ आएन अनि उल्टै घाटा लाग्यो ।’ आलुमा घाटा खाए पनि उनले हरेस भने खाएनन् । उनी व्यापारका सम्भावना खोज्दै त्यसबेला औलो लाग्ने झापा झरे । झापाको शनिश्चरेमा आएर उनले धान–चामलको होलसेल प्यापार गरे । अनुभवका कमीका कारण त्यसमा पनि उनले घाटा बेहोर्नुपर्यो । यो २०१० साल तिरको कुरा हो । घाटा बढेपछि उनी फिक्कल नै फिर्नुपर्यो ।
फिक्कलमा भने उनले किराना र कपडाको व्यापार सुरु गरे । २०१२ सालमा उनको विवाह शनिश्चरेकी नीलकुमारी श्रेष्ठसँग भयो । ‘म आफैँले रोजेँ’ प्रेम भन्छन्, ‘अरुका कुरा पनि आएका थिए, आफूभन्दा पढेलेखेकी केटी विवाह गर्न भएन, मलाई भद्र, साधारण श्रीमती चाहिएको थियो, उनमा त्यस्तो लक्षण भेट्टाएँ ।’ फिक्कलमा किनारा र कपडाको व्यापार चलाउन उनले भारतका दार्जिलिङ लगायतका स्थान चहार्नु पथ्र्यो । फिक्कलबाट घोडा चढेर दार्जिलिङको सीमासम्म गयो, सुकेपोखरीमा घोडा राख्यो, त्यहाँबाट ट्याक्सी (जीप) चढेर दार्जिलिङ पुग्यो, किनमेल गरेर फर्किने उनको दैनिकी थियो । फिक्कलबाट बिहान हिँडेर बेलुकी सामान लिएर फर्कन्थे उनी । यसरी उनले व्यापार जेनतेन थेगिरहेका थिए ।
झोँकमा राजनीति, झोँकमै त्याग
किराना र कपडाको व्यापार चलिरहेकै थियो, आलु र धानचामलमा जस्तो नोक्सानी पनि थिएन । भर्खर विवाह गरेका प्रेमबहादुरको घरजम पनि चल्दै थियो । त्यसै बेला २०१५ सालको संसदीय निर्वाचनको माहोल थियो । एक जना छिमेकीले भाषणमा प्रेमबहादुरलाई लक्षित गर्दै भने, ‘त्यो जीरा–मरिच बेच्नेले के राजनीति गर्छ ?’ यसपछि त उनलाई थामिसक्नु भएन । उनको ईख बढेर आयो र लागे राजनीतिमा । त्यसबेलाको राजनीतिमा नेपाली कांग्रेस, गोरखा परिषद्, प्रजापरिषद् लगायतका दलहरू थिए । उनले कांग्रेस रोजे । कांग्रेसमा लागेपछि चलिराखेको किराना र कपडा पसल रेखदेख गर्न मानिस राखे र लागे सक्रिय राजनीतिमा । त्यस क्षेत्रबाट कांग्रेसका कृष्णबहादुर भट्टराई निर्वाचित भए । कांग्रेस विजयी भएपछि त्यही उत्साहमा उनी काठमाडौं आए ।  ‘कांग्रेसको नेतृत्वको सरकार बन्ने र बिपी प्रधानमन्त्री हुने सपथ ग्रहण दरबारमा थियो,’ प्रेमले सम्झँदै भने, ‘म पनि त्यो कार्यक्रममा गएको थिएँ ।’ चुनावकै क्रममा बिपीलाई इलाममा भेट्दा प्रभावित भएका प्रेम कांग्रेस सरकार गठन भएपछिका केही महिना काठमाडौंमै बसे ।
काठमाडौैकै बसाइमा उनले सानोतिनो व्यापार गरे । सरकारबाट लाइसेन्स लिएर तेस्रो विश्वबाट विभिन्न सामान मगाउने, चिनी आयात गर्ने काम उनले गरे । काठमाडौं बसाइका क्रममा कांग्रेसमा खाद्यमन्त्री प्रेमराज आङदम्बेलाई भेट्न जाँदा नमीठो अनुभव भोगे । ‘प्रेमराज आङदम्बेकोमा म भेटन गएको थिएँ, मैले चिट पठाएपछि केहीबेर पर्खनु भनियो, म पर्खिएर बसिराखेको थिएँ,’ प्रेमले बेलिबिस्तार लगाउँदै भने, ‘तत्काल एक जना मारवाडी व्यापारी आएर चिट पठाए । उनले तुरन्तै भेट पाए । म भने निकै समयदेखि कुरिरहेको थिएँ । त्यो दृश्य मैले सहन सकिनँ । त्यही बेला मैले मनमनै कसम खाएँ, अब म राजनीति गर्दिनँ । त्यसपछि मन्त्रीलाई नभेटी त्यहाँबाट हिँडे ।’
यसैबीच राजा महेन्द्रले २०१७ साल पुस १ गते शासन हातमा लिए । प्रशासनले कांग्रेसका सक्रिय सबैलाई वारेन्ट जारी गर्यो । इलाममा कांग्रेसका सक्रिय नेताको परिचय कमाएका प्रेम त्यहाँ बस्न सक्ने स्थिति थिएन । उनी रातारात निर्वासित भए । अन्य कांग्रेसीहरूजस्तो उनी एउटै ठाउँमा भने बसेनन् । पार्टीसँगको नाता तोडिसकेको भए पनि पञ्चायतलाई त्यो कुरा थाहा थिएन । इलामबाट राजनीतिक मान्यताका कारण भागेका उनी भारतका दार्जिलिङ, खर्साङ, सिलिगुडीमा ८÷९ महिना बिताएपछि उनी नेपाल फर्किए ।
पछि प्रशासनले उनलाई केरकार ग¥यो । उनले स्पष्ट भनिदिए, ‘मेरो अब कांग्रेससँग केही पनि नातो छैन ।’ प्रशासनले पनि पत्यायो ।
काठले मालामाल
जे कुराको व्यापार हुन्छ, त्यसैलाई प्रयास गर्ने उनको बानी थियो । त्यसबखत काठको किनबेच निकै हुन्थ्यो । सागरमल मार्वाहीसँग साझेदारीमा उनले काठ किनबेच गर्न थाले । ‘त्यसबेला जंगलमा आगो लगाएर रुख सुकाउने पछि रुख काट्ने र जंगललाई जमिन बनाउने अभियान चलेको थियो,’ प्रेमले त्यस बखतका घटना क्रम सम्झिए, ‘राति जंगलमा घाम लागेजस्तै उज्यालो हुने गरी आगो लगाइन्थ्यो । पूरै जंगलै सखाप पार्ने काम भएको देख्दा भने आँसु नै आउँथ्यो, भोलिका लागि किन नसोचेको होलाजस्तो लाग्थ्यो ।’
यो २०२०/२०२१ सालको कुरा हो ।
काठको व्यापार पछि उनले एक्लैले सुरु गरे । ‘राजस्थानदेखिका मानिस काठको काम गर्छन् भने हामी किन नगर्ने भनेर मैले हात हालेँ,’ उनले भने, ‘काठको कामले हामीलाई राम्रो फाइदा भयो । त्यसबेला भाइहरू शेरबहादुर, अम्बरबहादुर, विष्णुबहादुर सबै आफैँ काम गर्न सक्ने भइसकेका थियौँ । पार्टनरसिप पनि टुट्यो ।’
धाएरै लाइसेन्स
काठको कारोबारबाट राम्रो आम्दानी गरेका प्रेमबहादुरलाई सडक खुलिसकेको झापामा धानचामल मिल राख्ने रहर जाग्यो । उनले हिसाब गरे– धानचामल कारोबारमा राम्रो मुनाफा छ । कारण, पूर्वपश्चिम राजमार्ग खुलेपछि काँकडभिट्टा हुँदै भारतको सिलगुडी चामल निर्यात हुन्थ्यो तर चामल मिल भने राजमार्ग छेउमा थिएनन् । भद्रपुरका मिलहरू, बिर्तामोड आएर त्यहाँबाट पूर्व काँकडभिट्टा हुँदै सिलिगुडी जान्थे । ‘राजमार्ग छेउमा मिल खुल्यो भने ढुवानी भाडा एक मन (४० केजी) को २ रुपैयाँमा बेच्दा पनि धेरै हुन्छ भन्ने लाग्यो,’ उनको चामलमिल यात्रा खुलाउँदै भने, ‘त्यसबेला नेपालबाट चामल गएन भने सिलगुडीमा भोकमरी लाग्छ भन्थे ।’
प्रेमले रहर र हिसाब गरेजस्तो सजिलो गरी मिल खोल्न सकिने अवस्था थिएन । त्यसबेला अहिलेजस्तो कम्पनी दर्ता गरेर उद्योग खोल्न पाइँदैनथ्यो । पंचायती व्यवस्थामा केन्द्रबाट लाइसेन्स लिनेले मात्र उद्योग खोल्न सक्थे । पंचायतका पहुँचवालाको सिफारिसमा लाइसेन्स पाइन्थ्यो । यही विश्वासमा उनी पूर्वमा कहलिएका पञ्च भूपालमान सिंह कार्कीलाई भेट्न पुगे । कार्कीको सोझो पहुँच दरबारमा थियो । भूपालले उनलाई गन्दा पनि गनेनन्, उल्टो रुखो व्यवहार गरे ।
भूपालमानको व्यवहारबाट उनी विचलित भने भएनन् । उनले सोझै काठमाडौं जाने र लाइसेन्स लिने मनसाय बनाए । त्यसबेला पाटनमा उद्योग विभाग थियो । उनी सोझै विभागमा पुगेर अधिकृतहरूसँग लाइसेन्सको कुरा गरे । ‘त्यसै लाइसेन्स पाइन्छ ?’ त्यहाँका कर्मचारी भन्थे, ‘लाइसेन्स लिन त सोर्स चाहिन्छ ।’ सोर्स चाहिने भएपछि प्रेमले विभागका डाइरेक्टरलाई भेट्न चाहे तर ‘माथि’को पहुँच नभएका प्रेमलाई कसले पो टेथ्र्यो र !
कैयौँ दिनसम्म उद्योग विभागका निर्देशकले भेट गर्नै दिएनन् । तेस्रो दिन पनि उनी विभाग निर्देशक भेट्न पाटन पुगे । त्यस बेला लाइसेन्स लिने र पाएको लाइसेन्स मारवाडीहरुलाई बेच्ने चलन थियो । त्यसैले कसैले पनि ‘नेपाली’ले उद्योग चलाउला भन्ने विश्वास गर्दैनथे । प्रेमले ती निर्देशकलाई विश्वस्त पार्दै भने, ‘म कसैलाई पनि लाइसेन्स बेच्दिनँ । मेरो कारखानामा परिवारका सदस्यबाहेक अरु कसैलाई साझेदार बनाउँदिनँ । एक वर्षभित्र मिल तयार गरेर तपाईंकै हातबाट उद्घाटन गराउनेछु ।’
प्रेमले जुन तरिकाले आफ्नो कुरा राखे, त्यसबाट निर्देशक खुसी भए । उनले अधिकृतहरूलाई बोलाएर लाइसेन्स दिनू भन्ने आदेश दिए । कुनै हालतमा लाइसेन्स दिन नमिल्ने भनिरहेका अधिकृतहरू निर्देशककै आदेश आएपछि निरुत्तर भए । उनी लाइसेन्स लिएर झापा फर्किए र बिर्तामोडमा जग्गा किनेर मिल राख्ने योजना बनाए । २०३१ सालमा पञ्चकन्या मिलको नाममा स्थापित मिलले सुरूका ७÷८ वर्ष राम्रो मुनाफा कमायो । ‘त्यसबेला नेपालको चामल भारतका केरलासम्म निर्यात हुन्थ्यो,’ प्रेमले भने, ‘पछि धान नै पाउन छाड्यो । हामी मिल बन्द गर्न बाध्य भयौँ ।’
काठपछि फलाम
उनलाई पछि फलामले आकर्षित ग¥यो । ठूलो परिणाममा जंगल फडानी भएपछि अब निर्माणको काममा फलामे रडहरूको माग बढ्छ भन्ने उनलाई लाग्यो । ‘काठ सकियो अब घर बनाउन रड चाहिन्छ,’ उनलाई लाग्यो । त्यसैले उनले रोलिङ मिल स्थापना गर्ने सोच बनाए । त्यसबेला नेपालमा इन्द्रभक्त श्रेष्ठ र मणिहर्ष ज्योतिले यो क्षेत्रमा हात हालिसकेका थिए । ज्योतिको मिल वीरगंज र इन्द्रभक्तको विराटनगरमा चालू भइसकेका थिए । त्यसैले प्रेमबहादुरले पश्चिम नेपाल रोजे । ‘ठूलो पूँजी र लगानी भएका इन्द्रभक्त र मणिहर्षसँग प्रतिस्पर्धा गर्न सहज थिएन,’ प्रेमबहादुरले भने, ‘त्यसैले रोलिङ मिल नभएको पश्चिमलाई राजेँ ।’
२०३८ सालमा पञ्चकन्या स्टिलको नाममा फलामे रड लगायत उत्पादन सुरु भयो । त्यस बेला पनि पहुँचबाटै लाइसेन्स लिनुपर्ने अवस्थाको अन्त्य भइसकेको थिएन तर प्रेमले उद्यम, व्यापारमा राम्रै हैसियत बनाइसकेका थिए भने दरबारमा राम्रो प्रभाव भएका परिवारकी छोरीलाई जेठी बुहारीका रुपमा भित्र्याइसकेका थिए । यो पहुँचले पनि पछिका दिनमा उनलाई काम लाग्यो ।
रोलिङ मिल स्थापना हुञ्जेल छोराहरू पढेर आइसकेका थिए । उनका तीन छोरा धु्रव, प्रदीप र बद्रीले उद्यम, व्यापार सम्हाल्न थाले । ‘छोराहरूले पहिलेदेखिका उद्योगलाई अगाडि बढाउँदै छन्, बिस्तार गर्दैछन् । यसमा मलाई सन्तोष लागेको छ,’ प्रेम भन्छन्, ‘उनीहरूले हाइड्रोमा लगानी गरेका छन्, इलाममा माइखोला हाइड्रोले उत्पादन नै थालिसक्यो । यस्तो देख्दा सन्तोष लाग्दोरहेछ ।’
सफलतासूत्र
धेरै आरोह, अवरोह र दुःखकष्टका खप्दै अगाडि बढेका प्रेमबहादुर आफ्नो सफलता पछाडि इमान्दार प्रयत्न, लगातारको लगाव, पारिवारिक सहयोग मूल कारक देख्छन् । ‘मैले कहिल्यै पनि दुई नम्बरी काम गरिनँ, न त उतारचढाव र कठिनाइमा विचलित भएँ,’ उनी भन्छन्, ‘आफ्नो काममा लागिरहेँ, नोक्सान हुँदा पनि हरेश खाइनँ किनभने मलाई थाहा थियो, सधैँ यस्तो हुँदैन । इमान्दारी र लगानशीलता मेरा आधार हुन् ।’
उनलाई लाग्छ, उद्यम–व्यापारमा गुडविलको ठूलो महŒव हुन्छ । एक पटक गुडविल चुक्यो भने त्यसले कम्पनीको इमेज भत्काउँछ ।
‘तगदीर भन्ने कुरा पनि हुन्छ,’ प्रेमको निष्कर्ष छ, ‘राम्रो सोचेर काम गर्दा भगवानले पनि साथ दिन्छन् ।’
उनको जीवनमा एक जना योगीका वचनले ठूलो प्रभाव पारेको छ । एक जना योगीले भनेका थिए, ‘पहाडमा तगदिर ढुंगाले थिचेको हुन्छ र  तराईमा तगदीर पातपतिङ्गरले छोपेको भए पनि त्यसलाई हावाले उडाइदिन्छ ।’ प्रेमले ती वाक्य सम्झँदै भने, ‘योगीका कुरामा विश्वास भएर नै मेलै इलामबाट झापा, झापाबाट काठमाडौं हुँदै ठूलो ठाउँमा विस्तार हुँदै अगाडि बढेको हुँ । ठूलो ठाउँमा तगदिर पनि ठूलै खुल्छ ।’
हिराको टुक्रा हो देश  
नेपाललाई हिराको टुक्राजस्तो देश ठान्छन् उनी । ‘राम्रो बाटो र साधन हुने हो भने दिनभर तराईमा काम गरेर राति हिमालको काखमा बास बस्छु भन्न मिल्ने देश छ हाम्रो,’ उनी भावुक हुँदै भन्छन्, ‘अब राजनीति सुधारिँदै गएको जस्तो छ । राजनीति सुध्रियो भने देश ह्वात्तै माथि उक्लन्छ ।’
नेपालीले आफ्नो देश चिन्न नसकेकोमा चिन्तित छन् उनी । ‘यहाँ सम्भावनाको कुनै कमी छैन,’ प्रेम भन्छन्, ‘उत्तर र दक्षिणका २ अर्ब जनसंख्याको १ प्रतिशत मात्र अर्थात् २ करोड पर्यटक मात्र यहाँ ल्याउन सकियो भने त्यो अथाह हुन्छ हाम्रा लागि ।’
पञ्चकन्या ग्रुप
पञ्चकन्या ग्रुप नामका पछाडि इलाम फारपोकस्थित पञ्चकन्या मन्दिर र पञ्चकन्या देवीको कथा जोड्छन्, प्रेम । ‘पञ्चकन्या हाम्रा इष्टदेवी हुन्,’ उनी भन्छन्, ‘बाउबाजेका पालादेखि मान्दै आएकी देवीको नाममा मैले व्यापार र उद्यम विस्तार गरेँ ।’
गु्रपले भदौ १५ गते प्रेमबहादुरको जन्म दिन र पञ्चकन्या गु्रपको स्थापना दिवश मनाउने गरेको छ ।  
पारिवारिक जालो
प्रेमबहादुरकी पत्नी नीलकुमारी श्रेष्ठ अझै हिँडडुल गरिरहेकी छन् । प्रेमका तीन छोरा र एक छोरी छिन् । जेठा धु्रव र बुहारी किरण, माहिला प्रदीप र उषाकिरण तथा कान्छा बद्री र रोहिणिले पञ्चकन्यालाई उचाइमा पुर्याएका छन् । छोरी सावित्री र ज्वाइँ सन्तोषमान प्रधान आ–आफ्नो काममा संलग्न छन् । छोराछोरी दुवै तर्फबाट ७ जना नाति र ३ जना नातिनी छन् ।
प्रेम आफैँ गु्रपका अध्यक्ष हुन् । जेठा छोरा ध्रुव गु्रप उपाध्याक्षको जिम्मेवारीमा छन् । प्रदीप प्रबन्ध निर्देशकको भूमिकामा छन् । कान्छा बद्री भने भारतको दिल्लीमा उद्यम, व्यापारमा चलाउँदैछन् । गु्रपमा बद्री निर्देशकको भूमिकामा छन् । दुई नाति उज्जन, उद्दिम गु्रपको निर्देशकको जिम्मेवारीमा छन् ।
‘छोराहरूका आआफनै घर छन्, उनीहरूको बेग्लाबेग्लै चुल्हा छन्’ प्रेमबहादुर भन्छन् ‘ उद्यम, व्यापारमा उनीहरू एउटै घर पंचकन्यामा रमाएका  छन्, उनीहबीच अंशवण्डा भएको छैन ।’               
दैनिक एक पेग
८७ वर्षका प्रेम झम्सिखेलस्थित निवासको कम्पाउण्डमै घुमफिर गर्ने, योग गर्ने तथा साधारण खानपिन गर्न रुचाउँछन् । राति सुत्नेबेला अक्सर एक पेग लिन्छन् । ‘अरु मदिरा त म खान्नँ,’ प्रेम भन्छन्, ‘सधैँजसो राति एक पेग ब्ल्याक लेबल लिने गरेको छु ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad