coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दैलेखमा कस्ले मार्ला बाजी? यस्तो छ अंकगणित

दैलेख—आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ। अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा आफू जित्ने दाबी गर्दै वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, विवेकशील पार्टीलगायतका नौवटा दल घरदैलो अभियानमा जुटेका छन्।

दैलेखका चोक–चोकमा चुनावी चर्चा मात्र होइन खेतबारीमा व्यस्त भएका किसानसँग भोट माग्ने नेता खेतबारीमै पुगेका छन्। यसअघि २०७० सालको निर्वाचनको मतसँगै स्थानीय निर्वाचनमा दलहरुले पाएका मतलाई अंक गणितको रुपमा लिएका छन् भने नयाँ मतदाता पुरानो गणितका आधारमा निर्णायक बन्नसक्ने अड्कलबाजी दलको रहेको छ।

दैलेखका दुईवटा निर्वाचन क्षेत्रमा रहेका प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चारजना उम्मेदवार चुनिनुपर्ने छ। सोहीअनुसार वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्ना रणनीति अघि सारेका छन्। कूल एक लाख ३२ हजार ९९२ मतदाता रहेको दैलेख जिल्लामा निर्वाचन क्षेत्र नं १ मा ७० हजार १९० मतदाता रहेका छन्। जसमध्ये करिब तीन हजार ५०० मतदाता नयाँ थपिएका हुन्।

निर्वाचन क्षेत्र नं २ मा ६९ हजार ७ ५४ मतदाता रहेका छन्। उक्त संख्यामा करिब तीन हजार ५०० मतदाता नयाँ हुन्। दैलेखको निर्वाचन क्षेत्र नं १ मा २०६४ सालमा विजयी हुनुभएका नेपाली काँग्रेसका गणेशबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी स्थगित गरेर अहिले लोकतान्त्रिक गठबन्धनको प्रचार अभियानमा होमिएपछि लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको प्रतिस्पर्धा आमनेसामने हुने देखिएको छ।

राप्रपाबाट लोकतान्त्रिक गठबन्धनमा दीपककुमार शाही र वामगठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माबीच प्रतिस्पर्धा देखिएको छ। शर्मा एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ भने शाही यसअघि एमालेमै रहेर काम गरेका र स्थानीय चुनावमा टिकटको विवादका कारण राप्रपामा प्रवेश गरेका थिए।

वि.सं २०७० को आम निर्वाचन र स्थानीय चुनावको मत आंकलन गर्ने हो भने दैलेखमा वामगठबन्धन बलियो देखिएको छ। यसअघिको निर्वाचनमा एमालेबाट सभासद विजयी भएका अमरबहादुर थापा अहिले प्रदेश १ को (ख) मा चुनावी मैदानमा छन्। त्यतिबेला उहाँले १५ हजार ६७० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशबहादुर खड्काले ११ हजार ८९४ मत पाएका थिए। माओवादीका तेजबहादुर चन्दले सात हजार ४५ र राप्रपा नेपालले दुई हजार २०० मत प्राप्त गरेका थिए। स्थानीय चुनावको परिणामको आँकडा हेर्दा वामगबठन्धन करिब तीन हजार मतले अगाडि देखिन्छ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा पनि वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा देखिएको छ। वामगठबन्धनका राजबहादुर बुढा २०६४ सालको निर्वाचनमा पनि विजयी भएका थिए। उनले काँग्रेसका हिमबहादुर शाहीलाई पराजित गर्दै १६ हजार २९१ मत प्राप्त गरेका थिए।

यसपटक लोकतान्त्रिक गठबन्धनबाट शिवराज जोशी र वामगठबन्धनबाट राजबहादुर बुढाबीच प्रतिस्पर्धा देखिएको छ। आफू २०६४ सालमा निर्वाचित हुँदा जनताको मन जित्ने योजनासँगै दुल्लु अस्पताललाई २५ श्ययाको बनाउन नीतिगत निर्णय भएसँगै २०७० मा पनि एमालेबाट विजयी हुनुभएका संसद् लक्ष्मी पोखरेलको पालामा बनेको, मध्यपहाडी लोकमार्गलाई दैलेख सदरमुकाम हुँदै लिनुपर्नेमा मुख्य भूमिका निर्वाह गरेकाले यसपालि जित्ने बुढाको दाबी छ ।

उनका प्रतिस्पर्धी शिवराज जोशी २०५६ सालको निर्वाचनमा विजयी भएका थिए। आफू निर्वाचन हुँदै जनताको मन जित्ने काम गरेकाले पुनः चुनावमा पार्टीले टिकट दिएकाले आफूले जित्ने जोशीको दाबी छ।

विसं २०५६ को निर्वाचन विजयी भएपश्चात शिवराज जोशी काठमाडौंमै बस्दै आएको र जिल्लामा कार्यकर्ताको पीडा नसुनेको आरोप लाग्दै आएको छ।

वि.सं २०७० सालको मतको आंकलन गर्ने हो भने एमालेका लक्ष्मी पोखरेलले १५ हजार ६१९ मत प्राप्त गरेका थिए। काँग्रेसका हिमबहादुर शाहीले १३ हजार ९६ मत ल्याएका थिए।

माओवादीका थिरबहादुर कार्कीले सात हजार ५०० मत ल्याएका थिए। राप्रपाले पनि करिब दुई हजार ५०० मत ल्याएको थियो। यो मतको आंकलन गर्ने हो भने पनि वामगठबन्धनको अवस्था राम्रो देखिएको विश्लेषण गर्न सकिन्छ।

हरेक चुनावमा आफ्नो खेमा वा पक्षले टिकट नपाए अर्को खेमा वा पक्षले असहयोग गर्ने रोग यसपालिको चुनावमा देखिने हो, होइन त्यो त चुनावी नजितापछि मात्र विश्लेषण गर्न सकिनेछ।

ठूला आयोजना अहिले पनि नारामै

दैलेखमा लामो समयदेखि थाती रहेका ठूला विकासका योजना दलहरुका चुनावी नाराका रुपमा देखिएका छन् तर ती योजना अहिलेसम्म पूरा हुनसकेका छैनन्। तीन वर्षअघि तत्कालीन उद्योगमन्त्री आएर दैलेखको शिरिस्थानबाट पेट्रोलियम पदार्थको उत्खनन गर्ने भनेर गरेको उद्घोष अहिलेसम्म कार्यान्वयनको कुनै चरणमा पुगेको छैन्।

छ वर्षदेखि सञ्चालनमा आएको मध्यपहाडी राजमार्गको दैलेख सदरमुकाम खण्डको विवाद अझै टुँगिएको छैन। निकै सस्तो आयोजनाको रुपमा मानिएको माथिल्लो कर्णाली आयोजनाको निकास अझै निस्कन सकेको छैन् भने दैलेख–सुर्खेत सडकखण्ड दुई लेनको निर्माण गर्ने भनेर राजनीतिक दलका प्रतिबद्धतामा २०६४ सालदेखि निरन्तर लेखिँदै आएको छ तर सडकमा भएका खाल्डासमेत पुर्ने काम भएको छैन्।

नेपाली भाषाको पहिलो सिलालेखसँगै हजारौं सम्पदाको धनि जिल्ला भनिए पनि अहिलेसम्म कुनै पनि धार्मिक क्षेत्रको संरक्षणका लागि ठोस् योजना जिल्लामा आएको देखिदैन।

राकम कर्णालीमा निर्माण हुन थालेको नयाँ शहर आयोजना विगत पाँच वर्षदेखि अन्यौलमै छ। पुराना र बाँकी रहेका विकासे आयोजनाभन्दा अहिले दलहरुले नयाँ÷नयाँ योजना ल्याएर गाउँ अभियानमा होमिएका छन्।

स्थानीय निर्वाचनमा कसको कति वर्चश्व

दैलेखका ११ स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा एमाले र चार वटामा काँग्रेसले जित हात पारेको थियो। प्रदेश १ को (क) मा पर्ने डुगेश्वर, भगवतीमाई र गुराँस गाउँपालिकाको वामगठबन्धनको मत जोड्ने हो भने १० हजार ८४५ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको नौ हजार ९२३ मत देखिएको छ।

प्रदेश १ को (क) मा वामगठबन्धनबाट (माओवादी केन्द्र)का युवा नेता धर्मराज रेग्मी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण विसीबीच प्रतिस्पर्धा देखिएको छ।

निर्वाचन क्षेत्र नं १ को (ख) मा पर्ने नारायण नगरपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकाको वाम गठबन्धनको स्थानीय चुनावको मत जोड्ने हो भने १३ हजार ६५१ रहेको छ। लोकतान्त्रिक गठबन्धनको मत जोड्ने हो भने ११ हजार ३४६ मत देखिन्छ।

नेकपा (एमाले)बाट विसं २०७० मा संविधानसभा निर्वाचनमा विजयी भएका अमरबहादुर थापा यसपालि प्रदेश सरकारको मन्त्री बन्ने पक्का भएसँगै प्रदेशबाट चुनाव लडेका छन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका पुराना नेता जगतजंग थापा पनि आफू विजयी हुने ढुक्क भएको भन्दै प्रचारमा जुटेका छन्।

निर्वाचन क्षेत्र नं २

निर्वाचन क्षेत्र नं २ अन्तर्गत (क) मा पर्ने दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा वामगठबन्धनले १२ हजार ८८ मत ल्याएको देखिन्छ। लोकतान्त्रिक गठबन्धनबाट नौ हजार ५५७ मत देखिएको छ।

यो मतको आंकलनसँगै वामगठबन्धन धेरै भए पनि प्रतिस्पर्धा कडा देखिएको नेताले बताएका छन्। क्षेत्र नं २ को (क) बाट वामगठबन्धनका तर्फबाट युवा नेता सुशील खड्का र नेपाली काँग्रेसका मधुरविक्रम खनालबीच प्रतिस्पर्धा देखिएको छ।

नेपाल मजदुर किसान पार्टीका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका कारण पनि गठबन्धनको जित्ने आधार बलियो बनेको विश्लेषण समेत गरिएको छ। नेपाली काँग्रेसका मधुरविक्रम खनाल पनि प्रभावशाली नेता भएकाले प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

क्षेत्र नं २ को (ख) अन्तर्गत चामुण्डा विन्द्रासैनी नगरपालिका, आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिका जोडेर बनेको निर्वाचन क्षेत्रमा स्थानीय चुनावमा आएको मतपरिणाम हेर्ने हो भने वामगठबन्धनको मत १० हजार ९४७ पुग्छ भने लोकतान्त्रिक गठबन्धनको आठ हजार २२४ मत देखिन्छ। उक्त क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र जनमोर्चा नेपालको पनि राम्रै प्रभाव देखिएको छ।

क्षेत्र नं २ को (ख) बाट वामगठबन्धनबाट एमालेका राजबहादुर शाही र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दिक्पाल शाहीबीच प्रतिस्पर्धा देखिएको छ। एमालेका शाही पूर्व गाविस अध्यक्ष हु भने काँग्रेसका दिक्पाल शाही ठेकेदार हुन्।

यसअघि ७४ प्रतिशत मत खसेको थियो

निर्वाचन कार्यालय दैलेखको दिएको मतदाताको संख्या र स्थानीय निर्वाचनमा खसेको मतको विश्लेषण गर्ने हो भने स्थानीय निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो। जसको आधारमा विश्लेषण गर्ने हो भने नयाँ मतदाता र उपस्थित हुनबाँकी रहेका अन्य २६ प्रतिशत मतदाताको उपस्थिति पूर्ण भएमा अहिलेको आंकलनमा फरक पर्नसक्ने धेरै सम्भावना रहेको देखिन्छ।

प्रकाशित: १५ मंसिर २०७४ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App