७ वैशाख २०८१ शुक्रबार
अर्थ

फोक्सिङटारमा बेलिब्रिज जडान तीव्र

खोटाङ–खोटाङ र पूर्वी सहर जोड्ने सुनकोसीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको हो। 

आर्थिक वर्ष ०५१/५२ मा निर्माण सुरु गरिएको एक सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायत सहर जाने सीधा बाटो खुल्ने जिल्ला समन्वय समिति खोटाङका बबी चाम्लिङले बताए। 

पानीको बहाव बढ्न थालेपछि गत जेठमा निकालिएको बेलिब्रिज पानीको बहाव घटेपछि केही दिन अघिदेखि पुनः राख्ने काम थालिएको हो । आगामी पुस पहिलो साताभित्र सञ्चालनमा ल्याउनेगरी बेलिब्रिज जडानको काम भइरहेको निर्माण व्यवसायीले बताएका छन्। 

दुधकोसीको जयराममा खोटाङ र ओखलढुंगा हुँदै सहरसँग जोड्ने पक्की पुल सञ्चालनमा आइसकेको छ । फोक्सिङटारमा भने पक्की पुल अभावमा वर्षौंदेखि बेलिब्रिज राख्ने गरिएको छ । ०७३ साल कात्तिकदेखि तीन वर्षभित्र पूरा गर्नेगरी ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति सुस्त भएको जिल्लाबासीको गुनासो छ। 

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि ६ महिनाका लागि खोटाङको दोस्रो द्वार खुल्ने छ । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको बेलिब्रिज जडान थालिएको हो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरेपछि सदरमुकाम दिक्तेलबाट गाईघाटसम्म सीधा यातायात सेवा सञ्चालन हुँदै आएको छ। 

फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सेवा सञ्चालन हुने गरेको छ । खोटाङ र भोजपुरलाई तराईसँग जोड्ने द्रुत मार्गकारुपमा उक्त बेलिब्रिज उपयोगी बनेको छ । फोक्सिङटारको बेलिब्रिजले भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–इन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट क्षेत्रीय सडक र गाईघाटलाई जोड्ने भएकाले उपयोगी बनेको हो। 

घुर्मी–कटारी हुँदै तराई झरिरहेका खोटाङबासी र लेगुवा–धनकुटा हुँदै तराई आउजाउ गर्ने भोजपुरका केही स्थानका स्थानीयका लागि यो ‘रुट’ छिटो र सहज बन्ने स्थानीयको भनाइ छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट पूर्वी सहर जानका लागि दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग हुँदै आएको छ। 

०७३ चैत २४ गतेसम्म पूरा गर्नेगरी ०६९ चैत २३ गते ठेक्का लागेको फोक्सिङटारको पुलको डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको हो । ‘सस्पेन्सन ब्रिज’ वा ‘आर्च’ डिजाइनको पुल बनाउने भन्ने अन्योलले ठेक्का लागेको दुई वर्षपछि ०७३ कात्तिकमा मात्र पुलको दोस्रो डिजाइन स्वीकृत भएको हो । डिजाइन स्वीकृतिमा भएको अन्योल र ठेकेदारको ढिलासुस्तीले पुल निर्माणले अपेक्षित गति लिन सकेको छैन।

प्रकाशित: १५ मंसिर २०७४ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App