coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आजैको क्याबिनेटबाट आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने सहमति

सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई-मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई गर्ने भएको छ। सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो।

प्रधानमन्त्री हुनुअघि सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धनले तीन बुँदे सहमति गरेको थियो। सहमति बुँदा नम्बर दुईलाई आजैको क्याबिनेटबाट निर्णय गराउने सहमति भएको वार्तामा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

सहमतिको बुँदा नम्बर दुईमा 'आन्दोलनको क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्दै सहीद घोषणा गर्ने, पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने। अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइते भएकाहरुलाई सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने। गिरफ्तार गरिएकाहरुलाई विना शर्त रिहाइ गर्ने र लगाइएका मुद्धाहरु सरकारले खारेज तथा फिर्ता लिने' उल्लेख थियो।

सोही बुँदामा आन्दोलनका क्रममा तराई मधेसमा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुबारे सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने सहमति पनि भएको थियो। यी कुराहरु पनि क्रमिकरुपले गर्दै जाने सहमति भएको झाले बताए। 'संघीय गठबन्धन पनि अब सत्ता पक्ष भएकाले सहमति भएका बुँदाहरुमा क्रमिकरुपले छलफल अगाडि बढाउँदै जाने सहमति भएको छ,' झाले नागरिकन्युजसँग भने, 'संविधान संसोधनको विषयमा पनि कार्यदल बनाएर आन्तरिक तयारी गर्ने सहमति भएको छ।'

आन्दोलनबारे छानबिन र संविधान संसोधन प्रक्रियामा धेरै दिन लाग्ने भएकाले आन्तरिकरुपमा यसको समाधान खोज्ने दुई पक्षबीच सहमति भएको झाको भनाई थियो।

 

प्रकाशित: २१ श्रावण २०७३ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App