८ वैशाख २०८१ शनिबार
अन्य

ऊ बेलाको भोट

औँठाको ‘स्वस्तिक छाप’
भक्तपुर कमलविनायकका खड्गप्रसाद काफ्ले (८४) नेपालको पहिलो संसदीय निर्वाचन (वि.सं. २०१५) मै भोट हाल्न पाउने मतदाता हुन् । 
पहिलो भोट खसाल्दा उनी २५ वर्षका थिए । उमेर परिपक्व भए पनि उनी त्यति राजनीतिक कुरा बुझ्दैनथे । उनलाई सम्झना भएअनुसार, त्यसबेला नेपाली कांग्रेस, किसान संघ, प्रजापरिषद् र नेपाल राष्ट्रवादी गोर्खा परिषद् नाम गरेको पार्टीका कार्यकर्ता भोट माग्न आएका थिए। 

‘मैले २०१५ सालको आमनिर्वाचनमा भोट हालेको थिएँ, उतिबेला भोट माग्न दलहरू घरमै आउँथे, घरको भित्तामा पार्टीको चिह्न बनाइदिन्थे,’ उनले भने, ‘गाउँका टाठाबाठाले भोट हाल्न सिकाउँथे।’

उनका अनुसार त्यसबेला मतदाता भने मन्त्री छान्न र देशको विकास गर्न भन्दै भोट हाल्न जान्थे । त्यसबेला दलका प्रतिनिधि नै आएर यो चिह्नमा भोट हाल्नुस् भनेर सिकाएको उनी सुनाउँछन्। 

त्यसबेला उनलाई चुनावबारे ज्ञानै थिएन । ‘२०१५ सालमा भोट हाल्न पाउँदा निकै खुसी लागेको थियो, अब नेताले केही गर्छन् भन्ने आशा थियो,’ उनले भने, ‘तर, त्यसबेला चुनाव जित्नेले पनि देशमा कुनै परिवर्तन ल्याएजस्तो लागेन ।’
काफ्लेका अनुसार त्यसबेला उम्मेदवार आफैँ भोट माग्न घरघर पुगेका थिएनन् । पार्टीका एक–दुई कार्यकर्ता आएर ‘यो चिह्नमा भोट खसाल्नुस्’ भनेर सिकाउँथे। 

उपत्यकावासी भने त्यसबेला खेतीपातीमै व्यस्त हुन्थे । धेरैलाई मताधिकारबारे जानकारी नै थिएन । जनप्रतिनिधि भनेका को हुन् र तिनले कसरी काम गर्छन् भन्ने धेरैलाई थाहा थिएन। 

नेपालमा २०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो । ललितपुर नगरपालिकाका पहिलो मेयर बुद्धिराज बज्राचार्यले पनि त्यस चुनावमा भोट हाल्ने अवसर पाएका थिए । उनी त्यसबेला र अहिलेको चुनाव धेरै फरक भएको बताउँछन्। 

‘ऊबेला जनसंख्या कम थियो, उम्मेदवार नमस्कार गर्दै प्रत्येकको घरदैलोमा भोट माग्न आउँथे,’ उनले भने, ‘अहिलेको चुनावी प्रक्रिया हेर्दा भद्रगोल लाग्छ, कुनै पनि दलको घोषणापत्र पत्याउने खालको छैन, चुनाव चिह्न पनि चिन्न मुस्किल पर्छ।’ 

बुद्धिराज २०३२ सालमा भएको चुनावमा तत्कालीन नगरपञ्चायत प्रमुखमा विजयी भएका थिए । त्यसपछि २०४९ को निर्वाचनबाट उनी ललितपुर नगरपालिकाका प्रमुख बने भने उनी तेस्रोपटक २०५४ सालको स्थानीय निर्वाचनबाट ललितपुर नगरपालिका प्रमुख चुनिएका थिए। 

२०२७ देखि २०३२ सम्म उनी ललितपुरका वडाध्यक्ष भएका थिए । नेपालमा राणाकालमै २००४ सालमा ‘म्युनिसिपलिटी इलेक्सन’ भएको थियो । त्यसपछि प्रजातन्त्र स्थापनापछि २०१० भदौ १० गते नगरपालिका निर्वाचन भयो । योे निर्वाचनमा भने उनले भोट हाल्न पाएनन्। 

नेपालमा भएका धेरैजसो चुनावमा भोट हाल्न पाउने अर्का व्यक्ति हुन्, संंस्कृतिविद् सत्यमोहन जोशी । उनले राणाकालमै २००४ सालमा भोट हालेका थिए । त्यसपछि २०१० भदौमा भएको नगरपालिका निर्वाचनमा पनि उनले भोट हाले । 
‘पहिलो स्थानीय निर्वाचनमा भोट हाल्न पाउँदा कुनै बन्देजबाट फुकेको महसुस भएको थियो,’ उनले भने, ‘चुनावका दिन भोट हाल्न मानिसहरू तोकिएको स्थानमा लामबद्ध थिए, भोट कसरी खसाल्ने धेरैलाई अलमल थियो।’ 
उनका अनुसार कतिपय मतदाताले कुन पार्टीको कस्तो चिह्न हो भनेर समेत थाहा नपाएको बताए । तर, ऊबेला भोट हाल्न अहिलेजस्तो सास्ती भने बेहोर्नुनपरेको उनको अनुभव छ । पहिलो चुनावमा जोशी ललितपुर सुनाकोठीका मतगणना प्रतिनिधि थिए । त्यसले गर्दा उनले मत गन्ने मौका समेत पाए । ‘पहिलो निर्वाचनमा भोट मात्रै हालिनँ,’ उनले भने, ‘चुनावभर त्यहाँको माहोल पनि बुझ्ने र भोट गन्ने मौका पाएँ।’ 

ललितपुर मानभवनमा घर भएका अर्का संस्कृतिविद् हरिराम जोशीले पनि २०१५ सालको निर्वाचनमा भोट खसालेका थिए । पहिले–पहिलेका मतदातालाई चुनावमा भोट हाल्नुपर्छ भन्ने नै थाहा नभएको उनी बताउँछन् । ‘एकैछिन लाइनमा बसेपछि पालो आउँथ्यो, जान्ने मान्छे आफूूलाई चित्त बुझेको चिह्नमा औँठा छाप लगाउँथे,’ ‘नजान्नेहरू सिकाएअनुसार मतदान गर्थे, मैले पनि त्यसै गरेको थिएँ ।’ जोशीले त्यसबेला भोट हाल्दा अहिले जस्तो स्वस्तिक चिह्न प्रयोग नभएको बताए । उनका अनुसार अहिले स्वस्तिक चिह्न लगाए जसरी त्यसबेला औँठाको छाप लगाइदिने चलन थियो। 
उनका अनुसार उतिबेला भोट हाल्ने व्यक्ति एकातिर हुन्थे भने, गन्ती गर्नेहरू अर्कातिर बस्थे । मतदाताले भोट हाल्दै गर्दा अर्कोतर्फबाट भोट गन्ने काम भइरहेको हुन्थ्यो । त्यसले गर्दा नतिजा पनि चाँडै आउँथ्यो । पहिलो निर्वाचनमा भोट हाल्ने अवसर पाउनुलाई मानिसले नौलो ठानेका थिए । 

महिलालाई थिएन मताधिकार 
राणाकालमा भएको नेपालको पहिलो निर्वाचनमा महिलालाई मताधिकार दिइएको थिएन। 
चुनावी कार्यक्रममा पुरुषले मात्रै भाग लिएका थिए । पछि २०१० सालमा आएर पहिलोपटक महिलालाई मताधिकार दिइएको हो । २००७ सालमा प्रजातन्त्र आएपछि २०१० भदौ १७ मा काठमाडौं नगरपालिकाको निर्वाचन भएको थियो। 
संस्कृतिविद् जोशीका अनुसार त्यसबेला २१ वर्ष उमेर पुगेकाले मात्र गोप्य मतदान गर्न पाएका थिए । ‘घरभित्रै सीमित गरिएका महिलाले यसै बेलादेखि मतदान गर्ने अधिकार पाएका थिए,’ जोशीले भने, ‘त्यसबेला केही महिला प्रतिनिधि पनि निर्वाचित भए।’ 

उनका अनुसार त्यसबेला राजनीतिक कार्यक्रममा महिला सहभागिता अत्यन्तै न्यून हुने गथ्र्यो। 
‘पहिले–पहिले महिलालाई भोट हाल्न दिइँदैनथ्यो,’ पाटन महापालकी ८२ वर्षीया पुनमाया महर्जन भन्छिन्, ‘२०१५ सालपछि मात्रै मैले भोट खसालेकी थिएँ।’

प्रकाशित: १५ मंसिर २०७४ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App