coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नगरकोटीलाई उपाधि

काठमाडौं–  भुवन नगरकोटीले बिहीबार ६८ पारको रोयल नेपाल गल्फ क्लबमा सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल च्यालेन्जमा उपाधि जितेका छन्। 

चारदिने प्रतियोगिताको अन्तिम दिन बिहीबार भुवनले इभन पार खेल्दै समग्रमा १० अन्डर २ सय ६२ स्कोरका साथ उपाधिमा कब्जा जमाएका हुन् । करियरको तेस्रो व्यावसायिक उपाधि जितेका भुवनभन्दा ६ स्ट्रोकले पछि रहेका धनबहादुर थापा उपविजेतामा सीमित भए । भुवनले यसअघि २०१४ मा सूर्य नेपाल वेस्टर्न ओपन तथा २०१५ मा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए। 

उपाधिसँगै भुवनले नगद ८० हजार रुपैयाँ हात पार्दा उपविजेता धनबहादुरको भागमा ५० हजार रुपैयाँ पर्‍यो । यसै गरी दीपक मगर (६६) समग्रमा २ अन्डर २ सय ७० स्कोरका साथ तेस्रा भए । उनले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाए । अन्तिम दिन इभन पार खेलेका रवि खड्का समग्रमा इभन पार २ सय ७२ स्कोरका साथ चौथो हुँदा भुवनकुमार रोक्का (६९) ३ ओभर २ सय ७५ स्कोरका साथ पाँचौं भए । रविले २७ हजार तथा भुवनले २३ हजार रुपैयाँ पुरस्कार पाए। 

यसै गरी रमेश नगरकोटी (२७६) छैटौं हुँदा यलम्बर सिंह अधिकारी (२७७) सातौं भए । सूर्यप्रसाद शर्मा र रामे मगर समान ६ ओभर २ सय ७८ स्कोरका साथ संयुक्त रूपमा आठौं हुँदा नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ (२७९) शीर्ष १० मा पर्न सफल भए। 

एमेच्योरतर्फ टंकबहादुर कार्की (९ ओभर २  सय ८१) ले उपाधिमा कब्जा जमाउँदा सुवास घिसिङ दोस्रा तथा मिथुन राई तेस्रो भए। 

३० व्यावसायिक तथा १० एमेच्योर गरी ४० खेलाडीको सहभागिता रहेको प्रतियोगिताको कट्मा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । प्रतियोगिताका विजेतालाई सूर्य नेपालका बजार प्रबन्धक बालकिसन गुरुङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका सल्लाहकार घनश्याम थापा र रोयल नेपाल गल्फ क्लबका सचिव एनके राईलगायतले पुरस्कृत गरे। 

प्रकाशित: १५ मंसिर २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App